सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

राजदूत बेरीले भने- एमसीसीको व्याख्यात्मक घोषणामा हामीले भनेका विषय समेटिए

बुधबार, १८ फागुन २०७८, १८ : १६
बुधबार, १८ फागुन २०७८

गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा आज उनीहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सदनबाट अनुमोदन विषयमा केन्द्रित रही छलफल भएको थियो ।

भेटमा गृहमन्त्री खाँणले एमसीसी कार्यान्वयन गरी अघि बढाउने सन्दर्भमा राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगप्रति आभार व्यक्त गरे । गृहमन्त्री खाँणले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदन गराउन सत्तामा हुँदा मात्र नभई प्रतिपक्षमा हुँदासमेत दृढ र स्पष्ट विचार राख्दै आएको जानकारी गराएका थिए ।

“प्रधानमन्त्री देउवा एमसीसी पास गराउन दृढ हुनुहुन्थ्यो । उहाँ प्रतिपक्षमा रहँदा पनि एमसीसी पास गर्न स्पष्ट विचार राख्दै आउनुभएको हो”, गृहमन्त्री खाँणले भने, “सबै राजनीतिक दललाई साथमा लिएर अगाडि बढ्न र एमसीसीको विषयले वर्तमान सरकारलाई असर नगरोस् भन्नेमा प्रधानमन्त्री चिन्तित रहनुभएकाले सफलता प्राप्त भयो । सबै नेपाली जनता र नेपाल सरकार खुसी छौँ ।” गृहमन्त्री खाँणले नेपाल र अमेरिकाबीच रहँदै आएको सम्बन्ध अझै गाढा र सद्भावपूर्ण रहोस् भन्नेमा नेपाल सरकार रहेको विषय बताएको मन्त्री खाँणका प्रेस संयोजक मधुसुधन भट्टराईले जानकारी दिए । 
 
राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको स्पष्ट भूमिकाले एमसीसी अनुमोदन भएको जनाउँदै प्रतिनिधिसभाको व्याख्यात्मक घोषणामा आफूले पहिल्यैदेखि भन्दै आएका विषय समेटिएको बताए । उनले भने, “एमसीसीबारे सरकार र प्रतिनिधिसभाको व्याख्यात्मक घोषणाबारे हामी पहिल्यैदेखि जानकार थियौँ । व्याख्यात्मक घोषणामा हामीले भन्दै आएका विषय समेटिएका छन् ।” शरणार्थीलाई कोभिड–१९ विरुद्धको खोप दिने सरकारको निर्णय प्रशंसनीय भएको बताउँदै नेपालको विकास, समृद्धि र शान्तिमा अमेरिका सधैँ साथमा रहने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप