आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

बेतबाँसका सामग्रीले बदलिएको जीवनशैली

बिहीबार, १९ फागुन २०७८, १५ : ०७
बिहीबार, १९ फागुन २०७८

शुक्लाफाँटा नगरपालिका–७ जुडाका वीरसिंह ठुगुन्ना गाउँकै समूहबाट बेतबाँसका सामग्री बनाउने १७ दिनको तालिम लिएर उद्योगी बनेका छन् ।
 
सुनदेवी उपभोक्ता समूहमा आबद्ध भएर ठगुन्नाले एक दशकअघि बेतबाँसका सामग्री बनाउने सीप सिकेका हुन् । सीप सिकेपछि उनले त्यसलाई व्यावसायिक बनाई काम गर्न थालेपछि पैसाका लागि अरु कहाँ हात थाप्नुपरेको छैन । बेतबाँसबाट ठगुन्नाले हेङ्गर, टबुल, कुर्सी, सोफा, ¥याक, टोकरी, मुढालगायत घर सजावटका सामग्री बनाउँदै आएका छन् ।
 
तालिममा सिकेको सीपलाई निर्खादै जाँदा उनी बेतबाँसका सामग्री बनाउने सफल व्यवसायीकारुपमा परिचित भएका छन् । मासिकरुपमा ठगुन्नाले ३० हजारदेखि ७० हजारसम्म कमाई गर्दै आएका छन् ।
 “मागअनुसार बेतबाँसका सामग्री बनाएर बिक्री गर्दै आएका छौँ”, उनले भने, “महिनामा ५० देखि १०० सम्म सामग्री निर्माण गर्दै आएका छौँ । लागत खर्च कटाएर सोचेअनुसार नै आम्दानी हुने गरेको छ ।”
 
विगतका वर्षमा कमाउनकै लागि भारतीय क्षेत्रमा जाने गरेको उल्लेख गर्दै उनले सीप सिकेपछि घरमै बसीबसी आम्दानी हुन थालेपछि भारत जाने दिनको अन्त्य भएको बताए । कच्ची घरमा बस्दै आएका उनले बेतबाँसकै सामग्री निर्माण गरी कमाएर आएको रकमबाट गाँउमै पक्की घर ठड्याएका छन् । छोरालाई उच्च शिक्षा ग्रहणका लागि काठमाडौँ पठाएका छन् । घरको खर्चसँगै छोरोको पढाई खर्च सबै बेतबाँसका सामग्री बेचेर आएको आम्दानीले धानिँदै आएको उनले जानकारी दिए ।
 
“बेतबाँसका सामग्री बनाउनका लागि सीप सिकेपछि व्यवसायलाई अगाडि बढाउनका लागि पैसा थिएन”, उनले भने, “उपभोक्ता समूहबाट  ५० हजार रकम छ प्रतिशत ब्याज तिर्ने गरी कर्जाका रुपमा लिएँ ।” कर्जा लिएको रकमबाट कैलालीका सामुदायिक वनबाट बेत र स्थानीय क्षेत्रबाट बाँस खरिद गरी काम गर्न थालेँ । त्यसबाट आम्दानी बढ्दै गयो । ब्याजसहित कर्जाको रकम पुरै चुक्ता गरेँ ।” वडा कार्यालयले कामको मूल्याङ्कन गरी एक लाख अनुदान रकम दिएपछि कार्य गर्न सहज भएको उनले बताए ।
 
“वडाको एक लाख अनुदानसँगै समूहबाट दुई लाख कर्जा लिएर ठगुन्ना बेतबाँस हस्तकला उद्योग दर्ता गरी कार्य अगाडि बढाएको छु”, उ नले भने, “विगतमा थोरै पुँजीमा थोरै काम हुन्थ्यो । अब बजारमा मागअनुसारका बेतबाँसका सामग्री बनाएर बेच्ने योजना छ ।” अनुदानमा पाएको रकम र समूहबाट लिएको कर्जाको रकम बेतबाँस खरिद गर्ने कार्यसँगै किला, पेन्ट खरिदमा खर्च हुँदै आएको उनले बताए । बेतबाँसबाट बनेका सामग्री ४०० देखि  एक हजारसम्ममा बिक्री हुने गरेका छन् । खर्च कटाएर एक सामग्रीबाट १०० देखि ३०० सम्म नाफा हुने गरेको छ ।
 
हातैले बुनेका बेतबाँसका सामग्री स्थानीय बजारसँगै हाल डडेल्धुरा, बैतडी र बझाङसम्म पु¥याएर बिक्री गरिँदै आएको छ । उद्योगलाई कमाई गर्ने साधन मात्रै नबनाएर बेतबाँसको तालिम केन्द्रका रुपमा विकास गर्ने ठगुन्नाको योजना छ । थोरै दिनको तालिम लिएर ठगुन्नाले गतिलो काम गरेर देखाएकाले वडाबाट अनुदान रकम प्रदान गरी प्रोत्साहित गरिएको वडाध्यक्ष जगतबहादुर सिंहले बताए । 

“स्वरोजगार भएर अरुका लागि प्रेरणाका स्रोत बनेका ठगुन्नालाई आर्थिक सहयोग गरेका छौँ”, उनले भने, “सीप भएर पनि लगानी गर्ने रकम नपाएर बसेका युवालाई सहयोग निरन्तररुपमा उपलब्ध गराउँछौँ ।” ठगुन्नासँग वडाका आधा दर्जन बढी युवालाई स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नका लागि सहयोग गरिएको उनको भनाइ रहेको छ ।
 
“उद्यम गर्नेले मुगलान पस्नु पर्दैन”, अध्यक्ष सिंहले भने, “गाउँमै उद्यम गरेर ठगुन्ना जस्तै स्वरोजगार बन्न सकिन्छ । परिवारसँगै बसेर गतिलो आम्दानी गरी सहज जीवनयापन गर्न सकिन्छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप