शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

​अर्काेको घर जल्दा हाँस्ने प्रवृत्ति देखियो : शिव परियार

राजेन्द्र थापा भन्छन्, ‘गीतमा होइन, भिडियोमा विवाद हो’
मङ्गलबार, ०८ चैत २०७८, १५ : १०
मङ्गलबार, ०८ चैत २०७८

गायक प्रकाश सपुतले आफ्नो नयाँ गीत पीरको भिडियो सच्याएका छन् । विवादमा आएपछि उनले भिडियो सम्पादन गरी पुनः ल्याएका हुन् । माओवादी जनमुक्ति सेना देहव्यापारमा लागेको दृश्यबारे सम्बन्धित पक्षले आपत्ति र विरोध जनाएका थिए । गीतले एक सातामै करोड भ्यूज कटाएपछि सपुतले अहिले गीतको भिडियो सम्पादन गरेर अपलोड गरेका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा यसरी गीत विवादपछि सच्चिएर ल्याइएको या पहिलो भने होइन । यस अगाडि पनि गायक पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’, प्रकाश सपुतकै ‘गलबन्दी च्यातियो तिम्ले तानेर..’, दुर्गेश थापाको ‘ह्याप्पी तिहार, चिसो बियर’, ‘पैसा’, नेपाली र्यापर समिर घिसिङ ‘भिटेन’को ‘पारा’ र ‘हामी यस्तै त हो नि ब्रो’ लगायत गीत शब्द, बिषय, चोरी लगायत बिभिन्न कारणले विवादमा परेपछि सच्चिएको छ । 

गीत विवादमा किन पर्छ ? । विवादपछि किन सच्चिन्छ ? भन्ने बिषयमा हामीले केही स्रष्टालाई प्रश्न राखेका थियौँ । यस बिषयमा उनीहरुले राखेको धारणा जस्ताको तस्तै ।

विवादका कारण धेरै

शिव परियार, गायक

कहिलेकाहीँ लय चोरिदा, कुनै ब्यक्ति, समूह, सम्प्रदाय, संस्थामाथि आक्षेप लाग्ने, उसको नैसर्गिक अधिकार हनन हुने र मनमा चोट पुर्याउने, भावना माथि खेलबाड गर्ने प्रसंग पर्यो भने गीत विवादमा पर्छ । अर्काे कुरो गीतमा भल्गारिटी प्रस्तुत गर्दा  र समाजले निर्दिष्ट गरेको भन्दा एक स्टेप माथि चढेर चर्चा र दामको लागि काम गर्दा पनि गीत विवादमा पर्छ ।

पछिल्लो समय प्रकाश सपुतको गीत विवादलाई भने मैले समिक्षात्मक रुपमा हेरेको छु । सपुतको गीत अत्यन्तै सकारात्मक र जायज विषय हो । गीतमा जे कुरो उठाइएको छ, त्यो तीतो सत्य हो । माओवादी द्वन्द्व अगाडि पनि यस्ता बिषय हामीले समाजमा फाट्ट फुट्ट देख्थ्यौ । त्यसको मुख्य समस्या भनेको गरिबी नै हो । जव गरिबीले जनता आक्रान्त हुन्छन्, त्यसपछि उनीहरुले विभिन्न बैकल्पिक उपाय रोजेको अवस्था देखियो ।

सपुतले बनाएको भिडियोमा विशेष गरी सकारात्मक परिवर्तनका लागि जनयुद्धमा सामेल भएका जति पनि योद्धा थिए, उनीहरुको बलमा एउटा निश्चित वर्ग मात्र सत्तामा पुग्यो । र, उनीहरुले मात्र सत्ताको स्वाद चाख्ने र विलासी जीवन बिताएको देखियो । घाइतेहरू अझै पनि छातीमा पीडा लिएर बाँचिरहेका छन् । त्यो एउटा सन्देश दिन खोजेको कुरो मलाई एकदमै राम्रो लाग्यो । यो विषय हामीले समाचारमा पढ्न पाएकै विषय हो ।

तर, वेश्यावृत्तिको कथा त्यो परिवेशमा प्रस्तुत गरिनु र ५, ७ महिना अगाडि तयार भएको गीत अहिले चुनावको मुखमा ल्याइनु अलिकति पूर्वाग्रह पनि हो कि भन्ने लागेको छ । यो गीत ६ महिना अगाडि  र  चुनाव पछाडि पनि आउन सक्थ्यो । त्यसरी आएको भए सायद केही हुँदैन थियो ।

हिजोका दिनमा पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ भन्ने गीत ल्याउँदा त्यसलाई हामी कहाँ छाड्छौ भन्ने एमालेले यो गीतको स्वागत गरेको जस्तो देखियो । यसले के देखायो भने अर्काेको घर जल्दा हाँस्ने र ताली पड्काउने तर आफ्नो घर जल्दा दुःखी हुने प्रवृत्ति देखियो । आफ्नो विरोध, आलोचना खेप्नै नसक्ने प्रवृत्ति राजनीतिक पार्टीमा खतरनाक अवस्थाको संकेत हो ।

मेरो विचारमा माओवादी जनयुद्धले मात्र त्यो अवस्था सिर्जना गरेको छैन । समग्र राजनीतिक पार्टीको अकर्मण्यता, अदूरदर्शिता र ब्यक्तिगत स्वार्थका लागि गरेका कामले हामी युवा वर्ग खाडीमा जानुपर्ने र चेलीले नराम्रो पेसा समाउनुपर्ने अवस्था बनेको छ । यसको दोषी सबै छन् । 

माओवादी नेताहरुले निकै आक्रमक तरिकाले सपुतको गीतको प्रतिवादी गरे । मुख्य नेतृत्व पक्षले डिप्लोमेटिक रुपमा केही भएको छैन भनेको देखियो । चुनावी मुखमा किन आयो भन्ने चाँही हुन्छ । माओवादीभित्र कमी कमजोरी छ भन्ने कसलाई थाहा छैन र ?  

गीतमा होइन, भिडियोमा विवाद हो

राजेन्द्र थापा, गीतकार

गायक प्रकाश सपुतको गीतमा कहाँ विवाद छ र ? विवाद उनले बनाएको सर्ट फिल्मको हो । उनले एउटा छोटो फिल्म बनाएर त्यसमा गीत हाले । त्यो गीतको भिडियो भनेर सबै भ्रममा परे ।

एउटा फिल्ममा जसरी कथा सुरु हुन्छ, पात्रको विकास हुन्छ, पात्रहरुबीच सम्वाद हुन्छ । त्यो भिडियोमा पनि त्यही छ । प्रकाशले छोटो फिल्म बनाएर ब्याकग्राउण्डमा गीत राखेका हुन् । हामी नेपाली कसैले पनि त्यो नबुझेको कारण गीत विवाद भनिरहेका छौँ । उनको गीतमा केही विवाद छैन । गीतले त्यस्तो कसैका लागि केही भनेको छैन । 

त्यो भिडियो भनियो तर त्यो भिडियो हैन । गीत र भिडियोको कनेक्सन छैन । फिल्म बिकाउन उनले गीत राखेका हुन् । फिल्म किन बनाए, लक्ष्य के हो, त्यो उनको बिषय हो । त्यसमा बहस गरौँ, गीतमा होइन । यो मामिलामा सबैलाई झुक्किए, कसैले थाहा पाएन ।

यस अगाडि विवादमा परेको पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’को त गीतमै विवादका शब्द थियो । गीतमा राखिएको सन्देश राजनीतिक पार्टीहरूलाई मन परेन । त्यो गीत तत्कालीन सरकारमा रहेका व्यक्तिले आफूलाई इंगित गरेको भनेर विवादमा ल्याएका थिए ।

प्रकाश सपुतको गीत नभएर भिडियोमा विवाद भएको हो । संसारमा फिल्ममा सेन्सर हुन्छ, गीतमा सेन्सर हुँदैन । यो भिडियो पनि सरकारले फिल्मको रुपमा सेन्सर गर्न सक्थ्यो । यो गीतको म्युजिक भिडियो भनेर कसैले भन्न सक्दैन । यो पहिले सेन्सर गरेर ल्याइनुपर्थ्यो । फिल्म सेन्सरका विषयमा कानुन पनि छ । 

फिल्म सेन्सरमा देखाउन नहुने सरकारले काट्छ, बोल्न नहुने म्यूट गर्छ । यो बिषयमा माओवादीले बिना सेन्सर आयो भनेर मुद्दा हाल्न मिल्थ्यो । माओवादीलाई गीतले छोएको होइन, फिल्मले छोएको हो । यो गीत त्यो सर्ट फिल्ममा नराखेको भए के माओवादीले विवाद निम्त्याउँथ्यो र ? 

यो गीतलाई चर्चित भन्न मिल्दैन । गीत हालेको भिडियोमा विवाद भएपछि पक्ष र विपक्षले के रहेछ भनेर हेर्दा भिडियोले धेरै भ्युज पाएको हो । 

स्रष्टा कसैको आँखामा बिझाउन चाँहदैन

शिव हमाल, गायक तथा गीतकार

गीत सच्याउनु राम्रो कुरा हो । एउटा स्रष्टाले आफूले तयार पारेको गीत राम्रो भएनछ भनेर सच्याउनु राम्रो हो । एउटा गीत तयार हुँदा धेरै मिहिनेत पर्छ । पहिलो त गीत बन्नु नै चुनौतीको कुरो हो । त्यसपछि कथामा उतार्नु कठिन कार्य हो । 

गीत एकातिर रुचाइँदै गर्दा सच्चिनु पनि राम्रो हो । स्रष्टाको मन एकदमै कमलो हुन्छ । उ कसैको पनि आँखामा बिझाउन चाँहदैन । कुनै पक्षले गीतको विषयमा आवाज उठाउदै गर्दा धेरै प्रेसर खेप्न नसकेर सष्टाले गीत सच्याउने गर्दछ । स्रष्टाले राजनीति गर्दै हिँड्ने होइन । यदि राजनीति गर्दै हिँडेको भए प्रेसर थाम्न सक्थ्यो । 

एउटा कुरो के हो भने स्रष्टाले आफ्नो सिर्जनालाई अन्याय गर्छ । तर समाजप्रति अन्याय गर्दैन । त्यही कारणले पनि बिगतदेखि अहिलेसम्म पनि गीत सच्चिने गरेको हो । मेरो बुझाइमा कुनै पनि स्रष्टा विवादित हुन चाँहदैन । जनमानसको मन दुःखाउने चाहना हुँदैन । बरु आफ्नो मन दुःखोस् भन्छ । त्यसकारण पनि गीत सच्चिन्छ । 

कहिलेकाहीँ स्रष्टा अलिकति विचलित हुँदा, आवेगमा आउँदा, भावुक हुँदा समाजलाई के असर पर्छ भन्ने कुरो विचार गर्न नसक्दा गीत सच्याउनुपर्ने अवस्था आउँछ । स्रष्टाले मेरा सिर्जनाले कहाँ, के र कस्तो असर पर्छ भनेर विचार पुर्याउनु जरुरी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप