बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

मन्त्री उमा रेग्मीको गुनासो : राष्ट्रपतिलाई भेट्न गाह्रो पर्‍यो

बिहीबार, १० चैत २०७८, ११ : ११
बिहीबार, १० चैत २०७८

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले माथिल्लो पदमा महिला पुग्दैमा देशमा महिलाका समस्या समाधान नहुने बताएकी छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले माथिल्लो पदमा पुगेका महिलामा महिलाका लागि केही गरौ भन्ने भावना हुनुपर्ने उल्लेख गरिन् । 

उनले आफु महिला मन्त्री भएर राष्ट्रपति रहेकी महिलालाई भेट्न नपाएको गुनासो गरिन् । राष्ट्रिय महिला दिवसका अवसरमा उनले विशिष्ट अतिथिका रूपमा राष्ट्रपति विद्या भण्डारीलाई निमन्त्रणा गर्दा कार्यक्रममा नआएको उल्लेख गरिन् । 
उनले राष्ट्रपतिले पूर्वाग्रह राखेर कार्यक्रममा नआएको बताउँदै भनिन्, ‘म महिलाहरूको नेतृत्व गर्ने महिला मन्त्री भएर पनि महिला नै राष्ट्रपति रहेको व्यक्तिलाई भेट्न सकिन । जो महिला पदमा पुगेको छ उसले आग्रह पूर्वाग्रह राखेर हुन्छ ? मैले अन्तरपार्टी सञ्जालको नेतृत्व गरेको १९ वर्ष भयो । महिलाको दिमागमा पनि महिलाका लागि केही गरौं भन्ने भावना हुनुपर्छ । एक दुई जना महिला माथि पुग्दैमा डोको महिलाको समस्या समाधान हुँदैन ।’ 
उनले माथिल्लो ओहोदामा पुगेका महिलाले महिलामैत्री दृष्टिकोण राखेर काम गर्नुपर्नेमा जोड दिइन् । 

उनले भनिन्, ‘महिला हिंसा बढिरहेको सबैलाई थाहा छ । पुरुष प्रहरी छ भने महिलाले न्याय पाउन गाह्रो छ । पितृसत्ताका कारण महिला हिंसा बढिरहेको छ । अदालतबाटै न्याय नपाएको अवस्था छ । कानुनमा र वा प्रावधान राखेर महिलाले न्याय नपाएको अवस्था छ । कर्मचारी महिला वा पुरुष होस् तात्विक अन्तर छैन्, कर्मचारीले खतरा मोलेर काम गर्न नचाहने अवस्था रहेको छ ।’ 

उनले महिला आयोगभित्र एउटा समिति बनाएर महिला सम्बन्धि विभेदकारी कानुनबारे अध्ययन गरेर दवाव अगाडि बढाउनपर्ने उल्लेख गरिन् । धेरै महिला तथा बालबालिका पीडित हुन थालेको र  मन्त्रालयमा बजेट कम रहेको गुनासो गरिन् ।

७५ प्रतिशतभन्दा बढी जनसङ्ख्यासँग सरोकार राख्ने मन्त्रालयमा बजेट कम रहेको र अहिले आफु आएपछि १ अर्ब पुर्याउन सफल भएको उल्लेख गरिन ।  सिडियोले फोन गरेर महिलालाई न्याय दिलाउन सम्पर्क पोइन्ट नभएको भन्ने गुनासो आउने गरेकोले मन्त्रालयमा एउटा सम्पर्क पोइन्ट बनाउने उनको भनाई छ ।  

४ जना कर्मचारी मात्र भएपनि सम्पर्क केन्द्र बनाउने त्यसका लागि नीति कार्यक्रममा बजेट व्यवस्था गर्न आफुले पहल गरिरहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप