बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालभित्र भूराजनीतिक खेलमा संलग्न हुने कुनै पनि प्रयासको चीनले विरोध गर्छ : मन्त्री वाङ यी

आइतबार, १३ चैत २०७८, १३ : ००
आइतबार, १३ चैत २०७८

नेपालको सार्वभौमसत्ता र स्वाधीनतामा खलल पार्ने, आन्तरिक मामिलामा हस्तक्षेप गर्ने र नेपालभित्र भूराजनीतिक खेलमा संलग्न हुने कुनै पनि प्रयासको चीनले विरोध गर्ने चीनले बताएको छ । चीनका विदेशमन्त्री वाङ यीले नेपालका आफ्ना समकक्षी नारायण खड्कासँग शनिबारको भेटघाटमा सो कुरा बताएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको हुन् । 

यी दुई देशको अन्तर्राष्ट्रिय वा घरेलु परिस्थितिमा जस्तोसुकै परिवर्तन आएपनि चीन दुई देशका नेताहरुले तय गरेको दिशामा साझा भविष्यसहितको चीन–नेपाल समुदायलाई प्रवर्द्धन गर्न प्रयासरत रहने वाङले बताए । 

नेपालको राष्ट्रिय अवस्थालाई मध्यनजर गर्दै उसलाई सुहाउने तरिकाले विकास निर्माणमा काममा आफूहरूको सदैव साथ रहने वाङले बताए । चीनले नेपालको राष्ट्रिय परिस्थिति अनुकूल विकास मार्ग खोज्न सहयोग गर्ने वाङले बताए । यसका साथै,  जनताको आधारभूत र दीर्घकालीन हितका लागि नेपालका सबै दल र गुटलाई समावेशी परामर्शमा सहभागी हुन प्रोत्साहित गर्ने पनि उनले बताए । 

यसका साथै, वाङले देशका सबै दलले राजनीतिक स्थायित्व, आर्थिक वृद्धि र जनताको जीविकोपार्जनका लागि उपयुक्त सुशासन मोडललाई संयुक्त रूपमा खोजी गर्नुपर्ने पनि बताए । 

चीनले नेपाललाई स्वतन्त्र घरेलु तथा परराष्ट्र नीतिहरू अवलम्बन गर्न समर्थन  गर्ने वाङले बताए । साथै, उनले देशका आकार जस्तो सुकै भएतापनि चीनले सबै देशहरू समान हुने र सबै देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने कुरा दोहोर्‍याए ।

चीन र दक्षिण एसियाबीचको सहकार्यका लागि नेपाल आशाजनक भूमि बन्नुपर्ने कुरा औँल्याउँदै अन्य मुलुकसँग नेपालको मैत्रीपूर्ण सहअस्तित्व र यसले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलामा ठूलो भूमिका खेलेको देख्दा चीन खुसी भएको वाङले बताए ।

उनले बेल्ट एण्ड रोड इनिसिएटिभमा नेपालको सहभागितालाई अगाडि बढाउन नेपालका लागि चीनको समर्थन बारे पनि बिस्तारपूर्वक बताए । परराष्ट्रमन्त्री वाङले चीन प्रमुख संयुक्त परियोजनाहरू अगाडि बढाउन, दुई देशबीचको भूमि बन्दरगाहको सहज सञ्चालन सुनिश्चित गर्न, विद्युतमा सीमापार सहयोगको खोजी गर्न, आर्थिक र जनतासँग जनताबीच आदानप्रदान च्यानलको बिस्तार गर्न र दुई देशबीच मैत्रीपूर्ण सहयोगको बन्धन बनाउनका लागि बहुआयामिक ट्रान्स हिमालयन कनेक्टिभिटीको निर्माण गर्नका लागि इच्छुक रहेको स्पष्ट पारे । 

नेपाललाई आफ्नो मानव संसाधन, भौगोलिक स्थिति र राष्ट्रिय परिस्थितिको प्रणालीका साथै चीनको विकासले ल्याएका अवसरहरूको सदुपयोग गरी विकास र पुनरुत्थानलाई तीव्रता दिन नेपाललाई सहयोग गर्न चीन तयार भएको पनि उनले बताए ।

यता खड्काले नेपालको सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका साथै बाह्य हस्तक्षेपको विरोधमा चीनले गरेको समर्थनका लागि धन्यवाद दिए । उनले नेपाल एक चीन नीतिप्रति दृढताका साथ प्रतिबद्ध रहेको र चीनको हितको रक्षाका लागि दृढताका साथ दिने पनि बताए ।

यी दुईले चीन र नेपालले महामारीविरुद्धको अभियान र खोपका सन्दर्भमा सहयोग सुदृढ गर्न र चीन–नेपाल अन्तरदेशीय रेलमार्ग परियोजना सम्पन्न गरी काठमाडौँसम्म रेल विस्तार गर्नुपर्नेमा सहमति जनाए ।

वाङले शनिबार नै प्रधानमन्त्री शेर बहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए । देउवाले नेपाल एक चीन नीतिप्रति दृढताका साथ लागिरहने र नेपाली भूमिमा  कुनै पनि शक्तिलाई चीन विरोधी गतिविधिमा संलग्न हुन नदिने कुरामा जोड दिए ।

चीनले आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तलाई अघि बढाउन र अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्ने आधारभूत मान्यताहरूको रक्षाका लागि नेपालसँग काम गर्ने बताउँदै आफूहरूले एकपक्षीयताको प्रतिरोध गर्दै शक्ति राजनीतिको विरोध गर्ने तथा क्षेत्रीय शान्ति र स्थायित्वमा योगदान दिने पनि वाङले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप