आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘स्थानीय तहमा महिलाले उपप्रमुख होइन, प्रमुख नेतृत्व पाउनुपर्छ’

सोमबार, १४ चैत २०७८, १३ : ५३
सोमबार, १४ चैत २०७८

पहिलो जननिर्वाचित महिला जनप्रतिनिधिमा साधनादेवी प्रधानको नाम आउँछ । उनी वि.सं. २०१० सालमा काठमाडौँमा भएको नगर निर्वाचनमा विजयी भएकी थिइन् । २०५४ सालको स्थानीय निर्वाचनमा महिला जनप्रतिनिधि जम्मा २१ प्रतिशत विजयी भएका थिए । तर सबै तह तप्कामा महिलाको प्रतिनिधित्व कम्तीमा ३३ प्रतिशत हुनैपर्ने आवाज मुखरित हुँदै गयो । स्थानीय पालिकामा प्रमुख या उपप्रमुखमध्ये एकजना महिला हुनैपर्ने, पालिकामा एकजना महिला दलित सदस्य हुनैपर्ने प्रावधान ल्याइएपछि २०७४ सालको स्थानीय निर्वाचनमा महिलाहरूको प्रतिनिधित्व बढेर ४० प्रतिशत पुग्यो ।

यसले नेपालको संविधानले कुनै पनि राजनीतिक दलले पालिका प्रमुख या उप–प्रमुखको उम्मेदवारमा कम्तीमा एक महिला प्रतिनिधि हुनुपर्ने प्रावधान राखेको छ, ४० प्रतिशत महिला प्रतिनिधिको ग्यारेण्टी गरेको छ । तर २०७४ को स्थानीय तहको निर्वाचनमा दलहरूले उम्मेदवार चयन गर्दा पालिका प्रमुखमा पुरुषलाई नै प्राथमिकतामा राखे, महिलाहरू उपप्रमुखको भूमिकामा सीमित गरिए । त्यसैकारण ७५३ पालिकामा १८ वटामा मात्रै महिला पालिका प्रमुखमा निर्वाचित भएका थिए । वडाध्यक्षहरूका हकमा पनि ६ हजार ४७३ वडाध्यक्षमध्ये मात्रै ६२ जना महिला छन् । यसरी समग्रमा वडासदस्य लगायत पदमा महिलाको प्रतिनिधित्व बढे पनि निर्णायक पदमा महिलाको उपस्थिति निकै न्यून छ । 

निर्णायक तहमा कम भएपनि जिम्मेवारी पाएको खण्डमा महिला प्रतिनिधिहरूले पुरुषको तुलनामा राम्रो नेतृत्व गरेको देखिन्छ । महिला राजनीतिकर्मीले पालिका उपप्रमुख र वडा सदस्यका रूपमा काम गरेको अनुभवका आधारमा आगामी ३० वैशाखको निर्वाचनमा पालिका प्रमुखकै पदमा प्रतिस्पर्धा गर्न इच्छा देखाएका छन् ।

आगामी निर्वाचनमा सत्तारुढ दलहरूले गठबन्धन गरेर जाने सङ्केत देखाएका छन् । यस अर्थमा एकभन्दा बढी पार्टीको सहभागितामा सबै राजनीतिक दलहरूमा पुरुष प्रतिनिधिकै हालीमुहाली छ । यसकारण गठबन्धनले झनै महिला प्रतिनिधिको सङ्ख्या घटाउने हो कि भन्ने आशंका पनि छ । यिनै विषयमा केन्द्रित रहेर केही उप–प्रमुखहरूसँग रातोपाटीले गरेको कुराकानीः 

महिलाहरू नेतृत्वदायी भूमिकाका लागि सक्षम

गीता सत्याल– उपप्रमुख, ललितपुर उपमहानगरपालिका

आगामी स्थानीय निर्वाचनमा गठबन्धन भयो भने पनि एउटा पार्टीले पुरुष र अर्को पार्टीले महिला प्रतिनिधि सहभागी गराउनै पर्छ । हिजो महिलालाई राजनीतिमा आउन असाध्यै चुनौती थियो । गएको निर्वाचनमार्फत जति पनि महिला प्रतिनिधि भएर आउनु भएको छ, उहाँहरूको ५ वर्षको अनुभवले अब सबै प्रमुखको दावा गर्न सक्ने भएर आउनु भएको छ । स्थानीय तहमा कसरी काम गर्ने, कसरी सशक्त बनाउने, काम गर्दै जाँदा आएका समस्या कसरी समाधान गर्दै जाने भन्ने कुरा सबै बुझिसक्नु भयो । 

अब महिलाहरू नेतृत्वदायी भूमिकाका लागि सक्षम हुँदै गएका छन् । समाज रूपान्तरणको लागि महिलालाई प्रमुख जिम्मेवारी दिनुपर्छ । म आफ्नो काँग्रेस पार्टीमा यही कुराको लबिङ गर्छु । अब हुने आसन्न निर्वाचनमा मेरो पहिलो दाबी मेयर नै हो । तर पार्टीको निर्णय सर्वोपरि हो, त्यसलाई मैले मान्नुपर्छ । कतिपय अवस्थामा आफैले गरेका काम पनि शतप्रतिशत राम्रो र परिपक्व गरियो भन्ने हुँदैन । अर्को व्यक्तिले गरेको काममा मान्छे जीवनभर सन्तुष्ट हुँदैन ।

पितृसत्ताको सोचबाट अगाडि बढेको नेपाली समाजमा अहिले पनि हरेक पाइलामा महिलाले अनेक खालको विभेद सहेकै छन् । अब कार्यकालको अन्तिम क्षणमा छौँ । यो भएन, त्यो भएन भनेर बस्नु भन्दा पनि आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गरे त्यसमा ललितपुरवासी महानगरपालिकाका जनतालाई खुसी नै बनाएको छु । ललिपुरबासीको अबको आवश्यकतालाई पहिचान गरेर आगामी एजेण्डा बन्छ । 

जिम्मेवारीको हिसाबले पुरुषको तुलनामा महिलाबाट राम्रो काम

जुना बस्नेत –उपप्रमुख, सूर्यविनायक नगरपालिका

म आफ्नो जिम्मेवारीको कुरा कसैसँग सोधेर गर्दिन । मैले जवाफ दिने जनतालाई हो र त्यो काममार्फत् दिने हो । नेकपा एमालेबाट जितेको भएपनि म सूर्यविनायक नगरपालिकाबासी सम्पूर्णको उप–प्रमुख हुँ । महिलालाई अगाडि सारौँ भनेर पार्टी धारणा बनाएमा र टिकट दिएमा म आफू पनि मेयरको लागि योग्य प्रतिनिधि हुँ । उप–प्रमुखको रूपमा रहेर काम गरेकोले राजनीतिमा अझै तिखारिएको छु । यो अनुभवलाई अझै परिष्कृत गर्दै लैजाने अवसर पार्टीले दिनुपर्छ भन्ने मेरो मान्यता हो । २०७४ को निर्वाचनमा महिला प्रतिनिधिको सङ्ख्या कम देखिए पनि जिम्मेवारीको हिसाबले पुरुषको तुलनामा राम्रो काम गरेको देखिन्छ । राजनीतिक सुशासनको लागि पनि महिला प्रतिनिधिलाई अवसर दिनुपर्छ । तर हालका मेयर वासुदेव थापाले दोहोर्‍याउने इच्छा राख्नु भएको छ ।

अघिल्लो कार्यकालमा सम्पूर्ण पदाधिकारीहरूको समन्वयले सूर्यविनायक नगरपालिकामा राम्रो काम भएको छ । वडाध्यक्षहरूले पनि सहयोग गर्नु भयो । कतिपय निकायमा मेयर र उपमेयर झगडा गर्ने, लडाइँ गर्ने पनि गरे । तर उनीहरूलाई जनताले त्यसो गर्न पठाएको होइन । चित्त नबुझेका कुरा प्रष्टसँग राखेर काम गर्नुपर्छ । जनताले दिएको जिम्मेवारीमै रहेर काम गर्ने हो ।  हामी व्यक्तिगत इर्ष्या  राख्न यहाँ आएको होइनौँ । काम गर्दा आफ्नो जिम्मेवारी अनुसार एकले अर्कालाई सहयोग गर्ने हो । कतिपयले आफू पनि काम नगर्ने र अरूलाई पनि गर्न नदिने प्रवृत्ति हुन्छ । 

हाम्रो कार्यकालमा सूर्यविनायक नगरपालिकामा पार्टीले बनाएको घोषणापत्रअनुसार ८० प्रतिशत विकास निर्माणको कार्य गरेका छौँ । भौतिक विकासको पूर्वाधार, अस्पताल निर्माण, सामुदायिक विद्यालयको स्तरोन्नति, क्षमता विकास लगायतका काम गरिएको छ । भौतिक मात्र नभएर मानवीय विकासका लागिसमेत कार्यहरू भएको छ । 

महिलाहरूमा झनै नेतृत्व गर्ने क्षमता र आत्मविश्वास

गुमादेवी आचार्य –उपप्रमुख, बुटवल उपमहानगरपालिका

महिला सहभागिता घट्ने भन्ने हुँदैन । स्थानीय तहमा ४० प्रतिशत महिला सहभागिता संविधानले नै व्यवस्था गरेको छ । यो सङ्ख्या घटाउने कुनै पनि राजनीतिक दल र निकायलाई अधिकार छैन । अब महिलाहरूमा झनै नेतृत्व गर्ने क्षमता र आत्मविश्वास बढ्दै गएको छ । यसले अगामी निर्वाचनमा महिलाको सहभागिता बढाउँछ । प्रमुख र उप–प्रमुखको स्थानीय सरकार सञ्चालन ऐनले आ–आफ्नो जिम्मेवारी छुट्याएको छ । प्रमुखको हस्तक्षेपले काम गर्न नपाइएको भन्ने कुरा कतिपय पालिकामा सुनिएको थियो । तर त्यो व्यक्तिगत आचरणले नै सिर्जना भएको हो भन्ने लाग्छ । प्रमुख भएको भए अझै राम्रो काम गरिन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो । 

बुटवल नगरपालिकाको हकमा नेकपा एमालेले अन्य कुनैपनि दलसँग गठबन्धन गरेर जाने सोचेको छैन । बुटवल उपमहानगरपालिकाले जनताको सार्वभौम अधिकार शिक्षा र स्वास्थ्यको सहज पहुँचलाई मुख्य आधार बनाएको छ । यहाँको पर्यटन व्यवसायलाई कसरी सुदृढीकरण गर्न सकिन्छ त्यो काममा लागेका छौँ । राजनीतिक दलहरू, सामाजिक अभियन्ता र विज्ञहरू बसेर यहाँको समुन्नत विकासको लागि गुरुयोजना बनाएका छौ । यी सबै काम सम्पन्न गर्न हाम्रो पुनः उम्मेदवारी आवश्यक छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप