आइतबार, ०२ असार २०८१
ताजा लोकप्रिय
कृषि

मर्मत नभएर अधिकांश कृषि मेसिन प्रयोगविहीन, जनशक्ति उत्पादनमा जोड दिइँदै (भिडियो)

आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । रामेछाप जिल्लको सुनापति गाउँपालिका–२ की सुरिसा तामाङको नर्सरी फार्म छ । उनी नर्सरीमा ड्याङ बनाउन, जोत्न मिनी ट्रिलर प्रयोग गर्छिन् । तर ती मेसिन बिग्रिएपछि बनाउन झन्झट हुने बताउँछिन् । ‘मिनी ट्रिलर बिग्रिँदा आफूले दुःख पाएको छु, साथीहरूले पनि दुःख पाएका छन्,’ उनले भनिन्, ‘मिनी ट्रिलरको क्लज, ब्रेक, गेयर बिग्रिन्छ, कहिलेकाहीँ पेट्रोल चुहिएको हुन्छ, त्यो बनाउन मन्थली बजारबाट मान्छे बोलाउनु पर्छ ।’

सुरिसा तामाङ

सुरिसा मिनी ट्रिलर आफैँले बनाउन सक्ने भएकी छन् । ‘गाउँमा प्राय मिनी ट्रिलर प्रयोग गर्छन्,’ उनले भनिन्, ‘ आफै सक्षम भए मन्थलीबाट गाउँमा मान्छे किन बोलाउने ? अरूको पनि मिनी ट्रिलर मर्मत गर्न सहयोग गर्छु ।’

लक्ष्मण बहादुर सुनार

अर्घाखाँचीका लक्ष्मण बहादुर सुनार पनि जिल्लामा कृषि मेसिनहरू (मिनी ट्रिलर र पावर ट्रिलर) मर्मत नभएर थन्किएको सुनाउँछन् । त्यस्ता मेसिनहरू आफूले मर्मत गर्ने गरेको उनको भनाइ छ । ‘मेरो इलेक्ट्रोनिक पसल छ, त्यसमै मिनी ट्रिलर र पावर ट्रिलर मर्मत वर्कसप थप्छु,’ उनले भने, ‘किसानलाई मिनी ट्रिलर र पावर ट्रिलर मर्मत गर्न सिकाउने छु, मर्मत पनि गरिदिने छु ।’

1 तालिममा सहभगि

पछिल्लो समय किसानलाई सरकारले मिनी ट्रिलर र पावर ट्रिलर अनुदानमा दिएको छ । तर मर्मत हुन नसक्दा त्यस्ता मेसिन प्रयोगविहीन भएका छन् । यस्ता खाले मेसिन मर्मतमा सघाउने सुनार बताउँछन् । ‘कतिपय ट्याक्टर नियमित मर्मत सम्भार नगर्ने, मोबिलको ख्याल नगर्ने, फिल्टरीङ नगर्ने, ओभरलोड चल्ने, ओभर हिटिङका कारण बिग्रिएको छ, त्यस्ता यन्त्र मर्मत गर्छु,’ उनले भने ।

सुनारले मिनी ट्रिलर र पावर ट्रिलर जिरो लेबलबाट इन्जन मर्मत गर्न सिकेको सुनाए ।

रमेश श्रेष्ठ

रमेश श्रेष्ठ मिनी ट्रिलर र पावर ट्रिलर मर्मत सम्भार गर्ने कार्य गर्छन् । नेपालमा मिनी ट्रिलर र पावर ट्रिलरको प्रयोग धेरै हुने गरेको उनले बताए । तर बजारमा मर्मतका लागि सामग्रीहरू पाउन मुस्किल हुने उनको भनाइ छ । ‘मर्मत गर्नका लागि बजार हेरेरमात्रै सामान पाइने हुन्छ,’ उनले भने, ‘कुनै ठाउँमा ठुलो बजार छ भने सजिलै सामान पाइन्छ तर बजारभन्दा टाढाका किसानले मेसिनका पार्टपूर्जा नपाउने गुनासो गर्छन् ।’

नेपालमा पछिल्लो समय कृषि–यान्त्रिकीकरण बढ्दै गएको छ । कम जनशक्तिबाट धेरै र सहज तरिकाले कृषिको कार्य गर्न सकिने भएकाले कृषि यन्त्रको प्रयोग बढेको हो । यस क्रममा ट्याक्टर, थ्रेसर, फलामे हलो, पावर ट्रिलर, स्यालो ट्युबवेललगायत कृषि औजार तथा साधनको प्रयोग बढेको छ ।

राष्ट्रिय कृषिगणना २०७८ अनुसार देशभर कुल ४१ लाख ३० हजार ७ सय ८९ कृषक छन् । यी कृषकले २२ लाख १८ हजार ४०९ हेक्टर क्षेत्रफलमा कृषि यन्त्र प्रयोग गरेको उल्लेख छ ।  यसमध्ये १ लाख १७ हजार ९९१ पावर ट्रिलर तथा मिनी ट्रिलर प्रयोग गरेको पाइएको छ । यी यन्त्रमध्ये अधिकांश मर्मत हुन नसकेर प्रयोगविहीन रहेकाले यसको मर्मतका लागि नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घ र कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रले संयुक्त रुपमा व्यावसायिक तालिम दिएका छन् । वैशाख ४ गतेदेखि जारी तालिममा २ महिलासहित २२ जना सहभागी छन् ।

सुनिता नेमाफुकी

यो तालिमबाट पावर ट्रिलर र मिनी ट्रिलर मर्मत गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने सङ्घकी उपाध्यक्ष सुनिता नेमाफुकीले बताइन् । ‘नेपाल सरकार लगायत विभिन्न निकायबाट पावर ट्रिलर र मिनी ट्रिलर गाउँगाउँमा पुगेको छ । तर यो मर्मतका लागि जनशक्ति अभाव भयो भन्ने गुनासो आयो,’ उनले भनिन्, ‘सो कुरालाई सम्बोधन गर्न र गाउँगाउँमा पुगेका यन्त्रहरूलाई अधिकतम प्रयोग गर्नका लागि जनशक्ति चाहिन्छ भन्ने महसुस गरेकाले जनशक्ति उत्पादनको तालिम सञ्चालन गरेका हौँ ।’

सिप सँगसँगै व्यवसायी पनि बनाउने उद्देश्य रहेको निमाफोकीको भनाइ छ । तालिम प्राप्त जनशक्तिलाई मेसिन मर्मतका लागि ‘टुल किट’ पनि उपलब्ध गराउने सुनाइन् ।

चैत्य नारायण डंगोल

कृषियन्त्रको प्रयोग बढे पनि मर्मत हुन नसक्दा अधिकांश यन्त्र प्रयोगविहीन भएको विज्ञहरूको भनाइ छ । सङ्घ, प्रदेश र स्थानीय तहबाट विभिन्न कृषि मेसिन वितरण गरिएको कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रका वरिष्ठ कृषि इन्जिनियर चैत्य नारायण डंगोलले बताए ।

‘कृषि मेसिनहरू विभिन्न निकायमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमार्फत हामीले विभिन्न जिल्लामा बाँडेका छौँ,’ डंगोलले भने, ‘हाम्रोमा मेन समस्या भनेको के छ, भने त्यसको मर्मतको लागि हामीसँग पर्याप्त जनशक्ति छैन, सानातिना समस्याले मेसिन यत्तिकै रहने र किसानले फेरि नयाँ मेसिन किन्ने गरेका छन् ।’

देशभर कृषि मेसिनको प्रयोग बढे पनि ती मेसिन मर्मत गर्न सक्ने जनशक्ति न्यून छ । त्यसको लागि कृषि मेसिनरी व्यवसायी सङ्घ र कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्रले स्थानीय निकायसँग समन्वय गरी जनशक्ति उत्पादनमा बढवा दिने दाबी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया