सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

मधेशी एकता समाजले कतारमा मनायो नयाँ वर्ष र बकर ईद

आइतबार, १६ वैशाख २०८१, १३ : ५८
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । मधेशी एकता समाजको कतार शाखाले यस वर्षको नयाँ वर्ष, जुडशीतल तथा ईद पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । समाजको कतार शाखाले दोहाको सनैयास्थित एक रेस्टुरेन्टमा कार्यक्रमको आयोजना गरेको हो ।

कतार शाखाका अध्यक्ष शिवकुमार महतोको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेशका अर्थमन्त्री सञ्जयकुमार यादव थिए । कार्यक्रममा कतारस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई विशिष्ट अतिथि थिए भने समाजका संस्थापक डा. रवीन्द्रकुमार यादव, एनआरएनएका पदाधिकारी तथा कतारस्थित विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।

मधेश प्रदेशका अर्थमन्त्री यादवले नेपालको वर्तमान राजनीति र मधेशको पिछडिएको अवस्था एवं विकासका बारेमा आफ्नो धारणा राखेका थिए । नेपाली दूतावास कतारका कार्यवाहक राजदूत कुमार राईले रोजगारीको सिलसिलामा कतारमा रहेका लगभग साढे तीन लाख नेपालीमध्ये प्रदेशको हिसाबले मधेश प्रदेशबाट कतारमा सबैभन्दा धेरै नेपाली रहेको बताए ।  

मधेशबाट कतार आउँदा धेरै ठगिएको आफूले पाएको बताउँदै उनले आगामी दिनमा ठगिनबाट जोगिन सबैलाई आग्रह गरे । आफू मध्य पहाडी भेगको भए पनि मधेशका दाजुभाइ प्रति अत्यन्तै माया र सम्मान रहेको उनले भनेका थिए ।

समाजका संस्थापक डा.यादवले मधेशका सबै जातजाति र समुदायलाई एकताबद्ध गर्नु, मधेशका भाषा र संस्कृतिको संरक्षण गर्नु एवम् देश र मधेशको विकासमा योगदान दिनु मधेशी एकता समाजको मुख्य उद्देश्य रहेको बताए ।

कार्यक्रममा तराई–मधेसका सांस्कृतिक गीत तथा नृत्यहरू प्रस्तुत गरिएका थिए । यस्तै अतिथिदेखि सहभागीहरूलाई तराई–मधेसको सांस्कृतिक खानाका परिकार पस्किएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप