बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको खोप लगाउने दर फेरि सुस्त

१५ दिनभित्र पूरा होला त सरकारको लक्ष्य ?
बुधबार, १६ चैत २०७८, १५ : ५०
बुधबार, १६ चैत २०७८

कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमण दर घट्दै गएसँगै खोप लगाउनेको सङ्ख्यामा पनि कमी आउन थालेको छ । कोरोना सङ्क्रमणको तेस्रो लहर सुरु हुँदा पहिलो तथा दोस्रो मात्रा खोपमात्र नभई ‘बुस्टर डोज’ लगाउनेको सङ्ख्या पनि बढ्दै गएको थियो । हाल बुस्टर डोज लगाउनेको सङ्ख्या पनि उत्साहजनक नरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । करिब २२ लाख १० हजार ९९० जनाले बुस्टर डोज लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह गरेको छ । खोप अभियान सुरु गरेको १४ महिना पुग्दा १८ वर्ष माथिका ८२.१ प्रतिशत जनसङ्ख्याले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्यकर्मीका अनुसार, कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको ६ महिना पुगेकामध्ये अधिकांश बुस्टर मात्रा लगाउन खोप केन्द्र पुगेका छैनन् । विगत एक साताको तथ्याङ्क हेर्ने हो भने दैनिक सरदर २९ हजार जनाले बुस्टर डोज खोप लगाएको पाइन्छ ।

चैत ७ गते २९ हजार ९३४ जना, ८ गते ४५ हजार १५५ जना, ९ गते ४१ हजार ३४१ जना, १० गते ४० हजार १६९ जनाले बुस्टर डोज लगाएका छन् । यस्तै, ११ गते २२ हजार १९८ जना, १२ गते २६ हजार ९७१ जना, १३ गते ८ हजार २० जना र १४ गते १९ हजार २६१ जनाले बुस्टर डोज लगाएको तथ्याङ्क छ ।

स्वास्थ्यकर्मीका अनुसार पूर्णमात्रा खोप लगाएको ६ महिनापछि शरीरमा एन्टीबडी घट्दै जान्छ । त्यसैले पूर्ण मात्रा खोप लगाएको ६ महिनापछि अनिवार्य रूपमा बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ ।  

सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका पूर्ण जनसङ्ख्यालाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य राखेको छ । यो लक्ष पूरा गर्न अब १५ दिनभित्र एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाइसक्नु पर्छ । सो लक्ष्य हासिल गर्न अबको १५ दिनमा करिब १८ प्रतिशतलाई खोप लगाइसक्नु पर्छ । खोप नलगाएकाहरूलाई खोप लगाउन तथा पूर्णमात्रा खोप लगाएर ६ महिना पुगेकालाई बुस्टर मात्रा लगाउन स्वास्थ्य मन्त्रालयले आग्रह गर्दै आएको छ । यद्यपि, सङ्क्रमण दर घटेसँगै खोप लगाउनेको सङ्ख्यामा कमी आएकाले सरकारलाई उक्त लक्ष्य पूरा गर्न चुनौती बढेको छ ।

कोरोनाविरुद्धको खोप लगाउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, पाटन अस्पतालका   खोप केन्द्रमा दैनिक दुई सयदेखि तीन सय जनासम्म पुग्ने गरेको अस्पतालहरूको भनाइ छ । देशभर दैनिक करिब ५० हजार मात्रा खोप लगाइरहेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।

मन्त्रालयका अनुसार मंगलबार ५० हजार मात्रा खोप लगाइएको छ भने सोमबार एक लाख ६ हजार ८९ मात्रा लगाइएको थियो । यस्तै, आइतबार २४ हजार ६९१ मात्रा, शनिबार ४७ हजार ७०१ मात्रा, शुक्रबार ६४ हजार ३४७ मात्रा खोप लगाइएको थियो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुन अनिवार्य रूपमा कोरोनाविरुद्धको खोप लगाइसक्नु पर्छ । नेपालमा हालसम्म तीन करोड ९८ हजार ७५ हजार २११ मात्रा खोप लगाइएको छ । जसमा एकमात्रा खोप १ करोड ८७ लाख ५ हजार ९ जनाले लगाएका छन् भने पूर्ण मात्रा एक करोड ९० लाख १४ हजार २१२ जनाले लगाएका छन् । अर्थात् ७५.३ प्रतिशतले एक मात्रा र ६५.१ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् । १८ वर्ष माथिका ८२.२ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् भने ९३.३ प्रतिशतले एक मात्रा लगाएका छन् ।

यस्तै, १२ देखि १७ वर्षसम्मका ३४ लाख ५ हजार ४५५ जनालाई सरकारले खोप दिने लक्ष्य राखेको छ । जसमा ९१.० प्रतिशतले  कम्तीमा एक मात्रा खोप लगाएका छन् भने ७१.० प्रतिशतले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालले विभिन्न मुलुकसँग खरिद र सहयोगस्वरुप कोरोनाविरुद्धको खोप प्राप्त गरेको छ । हालसम्म ४ करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ । जसमा कोभिशिल्ड, भेरोसेल, फाइजर, मोडर्ना, जोन्सन एन्ड जोन्सन, एस्ट्राजेनिका र सिनोभ्याक खोप नेपालमा दिइँदै आएको छ । चैत १४ गतेमात्रै नेपालमा पहिलो पटक सिनोभ्याक ४० लाख मात्रा खोप आइपुगेको छ । चीन सरकारको अनुदान सहयोगमा आइतबार र सोमबार गरी ४० लाख मात्रा खोप आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा.सुरेन्द्र चौरसियाले बताए । यो खोप १८ वर्षभन्दा माथिकालाई दुई मात्रा दिइन्छ । यस खोपलाई ७० भन्दा धेरै देशले प्रयोगका लागि मान्यता दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप