गलत संस्कारलाई परिवर्तन गरोस् नयाँ वर्षले
एकातिर माघको चिसो, अनि अर्कोतिर कोरोनाको कहर । खुलेआम हिँडडुल गर्न अनि अफिस आउजाउ गर्न पनि डरत्रास थियो । महामारीसँग लड्न भनी नेपाल सरकारले बुस्टर डोजको खोप लगाइदिने भो भन्ने चर्चा पनि बढ्दै गयो । पहिलो चरणमा सार्वजनिक सेवामा पदधारण गरेकाहरूको पालो भएकाले मैले पनि खोप लगाउन पाएकाले अहिलेसम्म कोरोना भेरियन्टले छुन सकेको छैन । खोपले ममा आत्मविश्वास बढ्दै गएको थियो । त्यसैले, बुस्टर डोजको व्यवस्था भएपछि अफिसबाट समय निकालेर अस्पताल पुगें ।
विहानको १० बजेको थियो होला, सबैजना लाइनबद्ध थिए । म पनि लाइनमा बसें, त्यस्तै ५० जनापछि मेरो पालो आउनेवाला थियो । मेरो अगाडि पछाडि नेपाल सरकारकै नुन खाएका, डे«समा सजिएका प्रतिष्ठान, बोर्ड, समिति, परिषदका कर्मचारीहरु लाइनमा थिए । लाइन बसेको करीब दुई घण्टा जति भएको थियो । तर पछि आउनेहरु छेउमा बसेर कुरा गरे जस्तो गरी बीच बीचमा घुसिरहेका थिए । अझ तिनैले ठुलो ठुलो स्वरमा कराउँदै थिए कि ‘हेर हेर, अगाडिबाट बीच बीचमा घुसे । हामी बिहानैदेखि लाइनमा बस्ने, ढिलो आउनेहरु बीचमा पस्न पाइन्छ ?’
करीब मेरै अगाडि पछाडि गरी एक दर्जन भन्दा बढीले पालो मिची लाइन बसे । कति त माथिकै सोर्स होला, लाइन नै नबसी सिधै भित्र गई भ्याक्सिन लगाए । तर, हाम्रा जनताको सेवामा समर्पितहरुको व्यवहार संस्कार, सिकाई, अनुशासन, नैतिकता देखेर म आफै छक्क परें । म सोच्न विवश भएँ, साँच्ची हामी नेपालीको बुद्धि कहिले आउने होला । एक तह पार गरेर छनौट भई नेपाल सरकारको जिम्मेवारी पदमा पुगेकाहरुमा त यस्तो प्रवृत्ति छ भने हामी विचरा भुँइ तहका मानिसबाट के आशा गर्न सक्छौ ? सर्वसाधारणहरुलाई के सिकाइरहेका छौँ ? उनीहरुबाट हामीले के आशा राख्ने ?
कार्यालयमा सेवा लिन आउँदा सुकिलो व्यक्तिलाई देख्ने वित्तिकै सोधी खोजी गरी काम गरिदिई हाल्छौँ । तर एउटा झुत्रोमैलो बर्षौदेखि मीठो, मसिनो खान नपाएको दुब्लो अनुहार, जो कार्य कक्षमा पस्दा नै चप्पल खोली डराएर भुँइमै बस्छ, त्यसको समस्या सम्बोधन गर्नुको साटो यो मान्छे को हो ? बाहिर जानुहोस् भनी हकार्छौ । भोलि आउनुहोस् भनी उसको समस्या नै नसोधी फर्काउने प्रबृत्ति पनि छ । सानो कामका लागि पनि अल्झाइरहने, उल्टै पैसा असुल्ने गरेका तीता समाचार सुन्न पाइन्छ । हाम्रो नैतिकता, इमान्दारिता र सदाचारिता कहाँ हराउँदै गएको छ ?
महिलाको सिटमा पुरुष बसिरहेको हुन्छ । अपाङ्गता, जेष्ठ नागरिकहरुको सिटमा जवान व्यक्ति बसिरहेको हुन्छ । कसैले अशक्त, सहाराविहिनलाई सहानुभूति सम्म देखाउँदैन । बाटोमा दुर्घटना भई लडिरहेको छ भने कोही छिटो गरी अस्पतालसम्म पुर्याउन तयार हुँदैन । पंक्तिकारकै नमीठो सम्झना छ, शनिबारको दिन थियो । तीव्र गतिमा आएको मोटरबाइकले मेरो स्कुटरलाई ठक्कर दिएर भुँइमा लडाएर भाग्यो । नराम्रोसँग पछारिएँ । न त कसैले बाइकलाई समात्ने कोशिस गरे, न त भुँइमा लडेको मलाई सहानुभूति दिंदै कोही उठाउन नै आयो ।
कोही बाटोमा रोइरहेको छ भने देखेको नदेखेझैँ गरी हिँड्दछ । कसैको भोकमा भोजन, आवाजविहिनका लागि आवाज भर्नका लागि तयार हुँदैन । मात्र आफू, आफन्त, नातगोता, नजिकको लागि मात्र स्वार्थमा काम गरिरहेको छ मान्छे । किन आजभोलि मानिसमा इमान्दारिता, नैतिकता, सदाचारिता लोप हुँदै गयो ? भ्रष्टाचार मौलाउँदो छ । धनी र गरीब बीचको खाडल बढ्दो छ । दुर दराजमा सिटामोल नपाएर सोझा, निरीह जनताको मृत्यु भइरहेको छ । राज्यले विविधताको सम्बोधन गर्न किन सकेन ? पंक्तिकारलाई यस्तै प्रश्नले सधैं सताइरहन्छ । यी प्रश्नहरुको उत्तर कोसँग माग्ने ?
सरकारले पनि जनताका आवश्यकता र चाहनालाई बुझ्न सकेन । मात्र शक्ति, आड, बल, धन र पद हुनेहरुको लागि मात्र हो राज्यका सेवा सुविधा, अवसर लिने । गरीब, दुःखी, अल्पसंख्यक, सीमान्तकृत, लोपोन्मुख, पिछडिएको जनताको अभिभावक सरकारले आफनो भूमिका निर्वाह गर्न किन सक्दैन ? यो देश राजनैतिक हस्तक्षेप र लडाइको चपेटा, महँगी, बन्द हडतालमा पर्दै जाँदा यसको असर त्यही सडकपेटी, कान्ला र किनाराका तह र तप्कामा बेसी परेको छ ।
एक छाक हातमुख जोड्न र श्रीमतीको फरिया फेर्न छोरा छोरीको आँखामा हाँसो र बुढा भएका आमा बाबाको औषधीमूलोका लागि खाडीमा रगतसँग पैसा साट्न बाध्य बनाइएको छ । देशका बलिया खम्बा धरोहरहरुलाई भेडा, बाख्रा जस्तै बेचविखन गरी विप्रेषण भित्र्याएर देश उल्टो गतिमा अघि बढिरहेको छ ।
स्थानीय सरकार जनताको घरदैलोसम्म पुगेको छ । अब विगतमा भएका गैरनैतिक चरित्र हटाई कसैलाई पनि भेदभाव नगर्ने, समानताको सिद्धान्त, सेवा प्रवाहमा बैधानिकता, जनताप्रति उत्तरदायी पारदर्शिता, नागरिक सन्तुष्टिलाई ख्याल राखी संरचनाको पिंधमा परेको कमजोर वर्गलाई लाभ दिने खालको क्रियाकलाप हुनु जरुरी छ । जहाँ जनताले सरकारको अनुभूति गर्न सकोस् ।
विगतमा जे जस्ता गल्ती कमीकमजोरी गरे ता पनि आगामी दिनमा नैतिकता, सदाचारिता, इमान्दारिता दया, माया, ममता, करुणा र मानवतालाई कसैले पनि नभुलौं । विकासको गतिलाई मानवतामा जोड दिने काम गरौं, ताकि भौतिक विकासमा मात्र होइन । सबैले आआफ्नो क्षेत्रको जिम्मेवारीलाई हार्दिकताका साथ पालना गरौं । यसैमा सबैको भलो हुनुका साथै लोकहित जनहितका लागि राज्यले अग्रगमनका लागि गति लिन सक्दछ । यो नयाँ बर्ष २०७९ ले देशमा समृद्धि, जनताको आँखामा सुनौलो बिहानी, मुहारमा खुशी ल्याओस् ।
लेखक राष्ट्रिय मानव अधिकार आयोगकी अधिकृत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुल्चोक क्याम्पसमा नमुना राष्ट्र सङ्घ हुँदै
-
अमाद डियालोको गोलमा म्यानचेस्टर युनाइटेडको पहिलो जित
-
एमाले सचिवालय बैठक भोलि, यस्ता छन् छलफलका एजेन्डा
-
संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ हुँदै
-
खाद्य कम्पनीले साढे दुई अर्बको धान खरिद गर्दै, किसानले पाउलान् तोकिएको मूल्य ?
-
रास्वपाले बोलायो केन्द्रीय समिति बैठक