शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कुनै पनि हालतमा निर्वाचन सर्दैन : आयुक्त भण्डारी

शनिबार, ०३ वैशाख २०७९, १५ : ०२
शनिबार, ०३ वैशाख २०७९

निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले संविधानको सफल कार्यान्वयनका लागि तोकिएकै समयमा निर्वाचन गराउनुपर्ने भएकाले आगामी वैशाख ३० मा हुने निर्वाचन नसर्ने बताएका छन् । शनिबार हेटौंडामा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा बोल्दै आयुक्त भण्डारीले निर्वाचन सर्छ भनेर जिम्मेवार व्यक्तिले बोल्दै गर्दा विगतमा आफैंले लेखेर ल्याएको संविधानमा पनि एकपटक फर्केर हेर्नुपर्ने बताए । उनले आगामी बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन नसर्ने बताए ।

उनले निर्वाचन सर्छ भनेर आम जनतामा भ्रम छर्ने काम गर्नु भनेको जनतामा जान डराउनु सरह रहेकाले यस बारेमा पनि सचेत हुन आग्रह गरे । निर्वाचन नहुने, निर्वाचन सर्न सक्छ भन्ने भ्रामक समाचारलाई वेवास्ता गर्न समेत उनले आग्रह गरे । उनले लोकतन्त्रको सुन्दर पक्ष भनेकै निर्वाचन रहेकोले कुनै पनि अवस्थामा निर्वाचन हुने कुरा प्रष्ट पारे ।

तोकिएको समयमा निर्वाचन नभए स्थानीय तहसँग सम्बन्धित ऐन कार्यान्वयनमा बाधा उत्पन्न हुने भन्दै निर्वाचन सम्पन्न गर्न सञ्चार जगतको भूमिका महत्वपूर्ण रहने बताए । ‘म तपाई समक्ष के निवेदन गर्छु भने आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन सर्दैन । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यदि त्यसलाई सार्ने चेष्टा भयो भने संविधान मिचिन्छ । स्थानीय तह सञ्चालन ऐन कार्यान्वयनमा बाधा आउँछ । संविधान र ऐन मिचिएपछि के–के होला आफ्नो ठाउँमा छ । त्यो बहस पछि होला । तर, निर्वाचन सर्छ भनेर जनतामा भ्रम फैलाउनु चुनाबमा जान डराउनु हो । यस तर्फ सबै जिम्मेवार बन्नुपर्छ’ उनले भने ।

उनले निर्वाचन आयोगले गत २५ गतेदेखि निर्वाचन आचार संहिता लागू गरिसकेकाले यसको सफल कार्यान्वयन गर्न सबैले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्ने बताए । आचारसंहिताले आयोगसहित राजनीतिक दल, तिनै तहका सरकार, पत्रकार, कर्मचारीलगायतका क्षेत्रलाई बाँध्ने भएकाले यसको उलंघन नगर्न पनि अनुरोध गरे ।

‘निर्वाचन आयोगले चैत २५ गतेबाटै आचारसंहिता कार्यान्वयनमा ल्याइसकेको छ, आचारसंहिता उल्लंघन भए कारबाही हुनेछ’ आयुक्त भण्डारीले भने । उनले कार्यक्रममा बोल्दै निर्वाचन आयोगले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको व्यवस्थापन चुस्तदुरुस्त रुपमा गरिरहेको भन्दै निर्वाचनमा खटिएका मुख्य निर्वाचन अधिकृतसहित सम्पूर्ण कर्मचारीहरुलाई अभिमुखीकरण समेत गरिएको जानकारी दिए ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप