बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

धरान उपमहानगरपालिकामा गठबन्धनबीच भागबण्डा मिलेन, छुट्टाछुट्टै रिपोर्ट पठाउने तयारी

०७४ सालमा कुन दलको कस्तो अवस्था थियो ?
सोमबार, ०५ वैशाख २०७९, १२ : ००
सोमबार, ०५ वैशाख २०७९

गठबन्धन गरेर एमालेलाई पराजित गर्ने उद्देश्य बोकेका चार दलबीच नै धरान उपमहानगरमा भागबण्डाका विषयमा सहमति हुन सकेको छैन । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि धरानमा गठबन्धन दलहरू नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच सहमति हुन नसकेको हो ।

२०७४ सालको निर्वाचनमा २० वटा वडामध्ये १४ वडा जितेको नेकपा एमालेले भने माथिल्लो समितिमा उम्मेदवारको नामावली सिफारिस गरेर चुनावी अभियानमा जुटिसकेको छ । यसअघि ५ वडा जितेको काँग्रेसले धरानमा प्रमुखसहित १५ वडा आफूसँगै राख्ने गरी वार्ता गरिरहेको छ । उपप्रमुखसहित अन्य गठबन्धनका दलहरू ५ वटा वडामा मिलेर आउनुपर्ने उसको तर्क छ । ‘हामीले संगठनात्मक पकडको आधारमा भागबण्डा गरौँ भनेका छौँ,’ धरान काँग्रेसका सभापति श्याम पोखरेलले भने, ‘हामी निष्कर्षमा पुग्न सकेका छैनौँ ।’

पोखरेलले धरानमा काँग्रेस हार्ने भएर गठबन्धन गर्न खोजेकोभन्दा पनि माथिको निर्देशन पालना गर्न मात्रै खोजेको बताए । ‘हामीले उपनिर्वाचनको परिणाम हेर्ने हो भने कसैसँग नमिल्दा पनि हुने हो तर, पार्टीको नियम, निर्देशन मानौँ भन्ने मात्रै हो । हामी हार्छौँ भनेर मिल्न खोजेको होइन । मिल्ने अवस्थामै आएदेखि ६ वटासम्म वडा छोड्न सक्छौँ । तर, त्यो भन्दा तल झर्न सक्दैनौँ,’ उनले भने ।

गठबन्धनमा लिम्बुवान र राप्रपा पनि आउन खोजिरहेको उनले बताए । ‘हामीले १५ वडा र मेयर नछोड्ने हो । अन्य दललाई ५ वडा र उपमेयरमा मिलेर आउनुहोस् भनेका छौँ,’ समस्या कहाँ भयो त भन्ने प्रश्नमा उनी भन्छन्, ‘१५ बाट १४ हुन सक्छौँ, १३ हुन सक्दैनौँ ।’

धरानमा एउटा वटा जितेको माओवादीले ५ वटा वडामा दाबी गरेको छ । जसपाले पनि २ वटा वडा माग गरिरहेको छ । नेकपा एकीकृत समाजवादीले एउटा वडामा चित्त बुझाउने सम्भावना रहेको स्रोतको दाबी छ ।

जसपाले यसअघि २०७४ सालको निर्वाचनमा तीनवटा वडामा मात्रै उम्मेदवारी दिएको थियो । काँग्रेस सभापति पोखरेलले धरानमा माओवादी बाहेकका दलहरूसँग मिलेर पनि गठबन्धन हुनसक्ने बताए ।

यता धरानका माओवादी नेता अइन्द्र विक्रम बेघाले अहिलेसम्म तालमेलको टुङ्गो नलागेको बताए । ‘अहिलेसम्म तालमेल भएन । छलफल जारी छ टुङ्गिसकेको छैन । एक÷दुई वटा वडा मिलिरहेको छैन,’ उनले भने, ‘६०, ४० मा मिलाउने भनेको तर, मिलेन । हाम्रो जे कुरा हो त्यो विषयमा केन्द्रमा पठाउने तयारी गरेका छौँ ।’

धरानमा ०७४ साल निर्वाचनको परिणाम यस्तो थियो

धरान उपमहानगरपालिका पूर्वको महत्त्वपूर्ण र ठूलो पालिकामध्ये एक हो । धरान उपमहानगरपालिकामा ०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट प्रमुखका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । प्रमुखमा जितेका सुब्बाले त्यसबेला २० हजार ९७५ मत ल्याएका थिए ।

उनका निकटतम प्रतिस्पर्धी बनेका काँग्रेसका तिलक राईले १६ हजार १०२ र तेस्रो स्थानमा माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार १८० मत ल्याएका थिए ।

प्रमुख सुब्बाको निधन भएपछि खाली भएको उपनिर्वाचनमा भने काँग्रेसका तिलक राईले परिणाम उल्ट्याउँदै एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार प्रकाश राईलाई झण्डै ३ हजार मतले पराजित गर्न सफल बने । त्यसबेलाको उपनिर्वाचनमा तिलक राईले २६ हजार ७०९ मत ल्याउँदा तत्कालीन नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९१४ मत पाएका थिए ।

वडागत परिणामलाई हेर्दा पनि धरानको २० वटा वडामध्ये एमाले एक्लैले १४ वटा जितेको थियो । काँग्रेसले ५ वटा र माओवादी केन्द्रले एउटा जित्न सफल भएको थियो । वडाध्यक्षहरूको मत जोड्दा नेकपा एमाले २१ हजार ५५ सहित पहिलो, काँग्रेस १६ हजार ३८७ मतसहित दोस्रो र माओवादी केन्द्र ९ हजार ५२२ मतसहित तेस्रो स्थानमा छ । अन्य दलहरूको मत भने चार अङ्क पुग्न सकेको छैन ।

हेर्नुहोस् वडाको तथ्याङ्क

एमालेबाट सिफारिसमा को को परे ?

नेकपा एमालेले भने उम्मेदवारको नामावली यसअघि नै सिफारिस गरिसकेको छ । सिफारिस हुनेहरूमध्ये पहिलो नम्बरमा हालका उपमेयर मञ्जु भण्डारीको नाम उल्लेख छ ।

धरानमा एमाले अध्यक्ष हर्कजङ्ग एभेङका अनुसार १ जना केन्द्रीय सदस्य, ७ जना प्रदेश समिति सदस्य, ३ जना जिल्ला सदस्य तथा १ जना पूर्व जिल्ला समिति सदस्यको नाम सिफारिस गरेको हो । जसमा भण्डारी, पूर्व मेयर मनोजकुमार मेन्याङ्बो, प्रदेश सदस्यहरू विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोर कुमार कार्की, जिल्ला सदस्यहरू मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र पूर्व जिल्ला समिति सदस्य तीर्थ मास्के छन् ।

एमाले धरान नगर समितिले उपमेयरका लागि पनि ६ जनाको नाम सिफारिस गरेको छ । जसमा प्रदेश समिति सदस्य सुशीला पहाडी, लहरु जिमी, जिल्ला सदस्यहरू पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लिला राई छन् ।

एमाले स्रोतका अनुसार सिफारिस नाममध्ये प्रमुखमा भण्डारीले टिकट पाउने सम्भावना बढी छ भने उपमेयरमा पदम इस्वो लिम्बूले पाउने सम्भावना छ ।

लिम्बू एमालेमा १० बुँदे पक्षधर हुन् । सो समूहलाई समेट्नकै लागि अन्य सबै उपमेयरमा महिलाको नाम सिफारिस गर्दा लिम्बू भने पुरुष रहेका छन् । ‘प्रमुखमा भण्डारी एक जनामात्रै महिला सिफारिस भएको कारण अन्तिममा भण्डारी र लिम्बूले टिकट पाउने पक्काजस्तै छ,’ एमाले स्रोतले भन्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप