ललितपुर मेयर महिला टी–२० क्रिकेट : एपीएफ क्लबको लगातार चौथो जित
काठमाडौँ । ललितपुर मेयर महिला टी–२० क्रिकेट च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले आफ्नो विजय यात्रा जारी राखेको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार खेलिएको खेलमा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हरायो ।
जारी प्रतियोगितामा एपीएफ क्लबको यो लगातार चौथो जित हो । चार खेलबाट नौ अंक बटुलेको एपीएफ क्लब यसअघि नै प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । एपीएफ क्लबसँग पराजित भएपछि सुदूरपश्चिम प्रदेशले भने फाइनलमा पुग्न प्राविधिक रुपमा थप प्रतिक्षा गर्नुपर्ने भएको छ ।
सुदूरपश्चिम प्रदेशले तीन खेलबाट चार अंक जोडेको छ । सुदूरपश्चिम प्रदेशले लिग चरणको आफ्नो अन्तिम खेल शुक्रबार बागमती प्रदेशसँग खेल्नेछ । ललितपुर मेयर–११ भने तीन खेलबाट दुई अंक जोड्दै तेस्रो स्थानमा छ ।
ललितपुर मेयरले बिहीबार नै कोशी प्रदेशसँग आफ्नो अन्तिम खेल खेल्दैछ । तीन खेलबाट दुई अंक जोडेको बागमती प्रदेश तालिकाको चौथो स्थानमा छ । बागमती प्रदेशले लिग चरणको अन्तिम खेल शुक्रबार सुदूरपश्चिमसँग खेल्नेछ । कोशी प्रदेशले भने तीनवटै खेलमा पराजित भएको छ ।
बिहीबारको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनायो । जवाफी ब्याटिङमा ओर्लिएको एपीएफ क्लबले भने १९.४ ओभरमा सात विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो ।
एपीएफ क्लबको जितमा ममता चौधरीले अविजित ३२ र रोमा थापाले २३ रन बनाए । सरिता मगरले पनि १९ रन जोडिन् । ओमनर राजमती ऐरीले ११ रन बनाइन् । एपीएफ क्लबले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो ।
सुदूरपश्चिम प्रदेशका बलर लक्ष्मी साउदले दुई तथा जानकी थापा, कविता जोशी, रितु कनौजिया, स्नेहा मिश्र र बिन्दू रावलले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशका लागि कप्तान बिन्दू रावलले ३६ रन बनाएकी थिइन् ।
सुदूरपश्चिम प्रदेशका लागि कविता जोशीले अविजित २९ रन जोडिन् । ओपनर रुबी पोद्दारले पनि २९ रन बनाइन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा ११ रन पायो । एपीएफ क्लबका बलर रेखा रावल र ईन्दू बर्माले एक–एक विकेट हात पारे । ममता चौधरी प्लेयर अफ दी म्याच घोषित भइन् ।