शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

वाम गठबन्धनले सुतेका उठे, उठेका हिँडे : हिमाल शर्मा

बुधबार, १३ मङ्सिर २०७४, १२ : ३५
बुधबार, १३ मङ्सिर २०७४

दोस्रो चरणको निर्वाचनका लागि प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरू प्रचार प्रसारमा खटिरहेका छन् । भेटघाट, भेला, सभा र घरदैलो निरन्तर छ । उम्मेदवारको प्रचार प्रसारलाई व्यवस्थित बनाउनका लागि प्रचारप्रसार संयोजक बनाइएको हुन्छ । तर, उम्मेदवारको सबै चाजोपाजो मिलाउने प्रचार संयोजक भने पर्दा पछाडि हुन्छ । 

हिमाल शर्मा काठमाडौँ क्षेत्र नम्बर ६ का लागि उम्मेदवारको आकाङ्क्षी थिए । तर अन्तिम समयमा टिकट वितरणमा पाखा पारियो ।  माओवादी केन्द्रका युवा नेता हिमाल शर्मा सोही स्थानका वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीका चुनावी कमान्डर अथात् प्रचार संयोजक बनेका छन् । वाम गठबन्धनका उम्मेदवार झक्कुप्रसाद सुवेदीको जित निकाल्न प्रयासरत ‘पर्दा पछाडिको हिरो’ शर्मा सोमबार तारेकश्वर वडा नम्बर ८ मा भेटिए । चुनावी प्रचारका क्रममा घरदैलोमा व्यस्त रहेका शर्मासँग चुनावी माहोलका विषयमा रातोपाटीका लागि लिलु डुम्रेले गरेको कुराकानी ः

अहिले काठमाडौँ क्षेत्र नम्बर ६ मा १६ वटा एकाइहरू छन् । ती सबै वडाहरूमा हामीले सभाहरू गर्यौं । अहिलेसम्म हामीले ३९ स्थानमा जनसभा गर्यौँ । पछिल्लो अवस्थामा हामीहरू घरदैलो गरिरहेका छौँ । प्रत्येक घरमा उम्मेदवारलाई पुर्याएका छौँ । मतदाताले उम्मेदवारलाई भेट्न चहानुहुन्छ भने मैले भेटाएको छु । 

प्रचार प्रसारका अन्य कामहरूमा कुनै बाँकी राखेका छैनौँ । अर्को महत्वपूर्ण कुरा हामीले केही पकेट निर्माण गरेका छौँ । झण्डै एक ६५ पकेटमा हामीले भेला तथा प्रचार मिलाएका छौँ । अहिलेसम्मको अवस्था हेर्दा हाम्रो काम कारवाही अत्यन्तै उत्साहजनक अघि बढिरहेको छ । वाम गठबन्धनले गर्दा निष्क्रिय कार्यकर्ता सक्रिय भएका छन् । क्षेत्र नम्बर ६ मा दुवै दलको तालमेल भित्रैदेखि मिलेको छ । नेतृत्वको केन्द्रीकरण छ । जुनजुन एकाइमा हामीले संयोजकहरू तोकेका छौँ । ती स्थानहरूमा केन्द्रीकरण गरेका छौँ । त्यसकारण हामीलाई सरल, सहज भएको छ । 

हामी वाम गठन्धनले हौसिएको होइन । हामी निरुत्साहित छैनौँ भन्ने हो । निरुत्साहित नहुने भनेको हौसिनु भनेको पनि त होइन नि । हामी संयम छौँ अहिले । स्थानीय तहको मतको हुबहु मत आउँछ भनेर आँकलन गर्ने होइन । स्थानीय चुनावभन्दा राम्रो गर्छौं भनी सक्रिय हुने हो । विपक्षीहरूले स्थानीय निर्वाचनको आँकलन सोचेको होलान् । त्यो मतले अहिले पुग्दैन । अहिले त मतदाताको मनोविज्ञानमा परिवर्तन आएको छ । गठबन्धनको माहोलले धेरैलाई उत्साहित बनाएको छ । सुतेर बसेकालाई उठाएको छ । उठेकालाई हिँडाएको छ । त्यसकारण स्थानीय निर्वाचनमा एमाले र माओवादी केन्द्रले ल्याएको मतभन्दा वाम गठन्धनको पक्षमा धेरै मत आउनेवाला छ । 

०७० सालको चुनावमा म पनि एक उम्मेदवार थिएँ । हिमाल शर्मा, योगेश भट्टराई, केशव स्थापित र गाई चिन्ह लिएर उठ्ने सञ्जय श्रेष्ठ सबै उम्मेदवारहरू अहिले एउटै गठबन्धनमा छौँ । हाम्रो गठबन्धन कसिलो र बलियो बनेको छ । 

भीमसेनदास प्रधानको बलियो मत आधार छ भन्नु तथ्यहीन कुरा हो । उहाँको बलियो आधार नै छैन । ०७० को निर्वाचनको मत विश्लेषण गर्दा  उहाँ कमजोर नै हो । स्थानीय तहको मत हेर्दा पनि वाम गठबन्धन बलियो छ । हाल, परिचालनको हिसाबले हेर्दा पनि प्रभावकारी परिचालन वाम गठबन्धनको छ । उहाँहरूले एउटा भ्रम सिर्जना गर्नुभएको छ । त्यो के भने हामी स्थानीय हौँ भन्ने भ्रम सिर्जना गर्नुभएको छ । झक्कुप्रसाद सुवेदी ‘टुरिस्ट’ उम्मेदवार हो भन्दै अफवाह फैलाउनुभएको छ । एजेन्डा नभइसकेपछि मतदाताहरूलाई इमोसनल ब्ल्याकमेल गरिएको छ । त्यसलाई हाम्रा कार्यकर्ताले चिरेका छन् । त्यसलाई खारेज गरिसके । मतदाताले ‘कसैको घरले हुनेवाला केही छैन’ भनिसके । आफ्नै बाबुको घरले त केही हुन्न भने झक्कुप्रसादको घरले के हुन्छ ? मतदाताले भनिसके । मतदाताले यहाँ नेतृत्व दिन सक्ने, नसक्ने उम्मेदवार खोजिरहनुभएको छ । मतदाताले उम्मेदवारले सहकार्य गरिरहोस् भन्ने इच्छा राख्नुभएको छ । विकास निर्माणमा झक्कु लाग्छ कि लाग्दैन भन्ने मतदाताले खोजिरहनुभएको छ । क्षेत्रमा घर हुनु गौण विषय हो, मतदाताले उम्मेदवारको यहाँ घर खोजेको छैन ।

०७० मा यहाँ मेरो उम्मेदवारी थियो । म निरन्तर यही क्षेत्रमा छु । क्षेत्र नम्बर ६ को आकाङ्क्षी म पनि थिएँ । मानवीय स्वभाव हो– उम्मेदवारको इच्छा हुनु । तर त्यो विगत हो । मेरो नेता झक्कुप्रसाद सुवेदी हो । मैले उहाँलाई जिताउनुपर्छ । यहाँको वाम गठबन्धनका उम्मेदवारलाई जिताए भने मात्रै मेरो भविष्य हुन्छ । विजयी प्राप्त गर्यौँ भने पो राजनीतिक भविष्य रहन्छ । मैले टिकट प्राप्त गर्नु, नगर्नु प्रधान कुरा होइन । हाम्रा उम्मेदवारलाई जिताउने मूल विषय हो । मतदातामा अझ उत्साह थपिएको छ ।

पछिल्लो समयमा चुनावमा विकृति बढेको देखिएको छ । हामीले चाहे पनि चुनावी विसङ्गति हटाउन सकेको छैनौँ । प्रतिस्पर्धामा जानु नै परेको छ । निर्वाचन आयोगले कडाइ गरेका कारण केही सुधार त भएको छ । जोसँग पैसा छ । उसले मात्रै गर्नसक्छ भन्ने परेको छ । यसको अन्त्य गर्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली हो । जनताद्वारा निर्वाचित कार्यकारी प्रमुख र सदनमा पूर्णसमानुपातिक निर्वाचन पद्धति भयो भने व्यक्ति प्रधान भन्ने हुँदैन । नीति प्रधान हुन्छ । त्यसो भयो भने निर्वाचनको विसङ्गति पूर्ण अन्त्य हुन्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप