शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वैदिक कथा : किन मारिए शम्बरहरू ?

बुधबार, १४ वैशाख २०७९, १३ : १६
बुधबार, १४ वैशाख २०७९

वेदमा एउटा कथा छ । प्राचिनकालमा नर्य, यदु, तुर्वीति र तुर्वस नामका राजा थिए । उनीहरूका पार्थिव शरीर र राज्य अलग अलग भए पनि मन, वचन र विचार एउटै थियो । एउटै विचार लिएर हिँड्थे एउटै नीतिले राज्य सञ्चालन गर्थे । उनीहरू धार्मिक थिए, धर्मपूर्वक शासन गर्थे, जसले गर्दा उनीहरूका राज्यमा हत्या, हिंसा, आतङ्क केही थिएन । जनता शान्त, शिष्ट र सभ्य थिए भने समाज स्वस्थ र सद्भावले युक्त थियो । जनस्तरमा मेलमिलाप र सहकार्य थियो राज्यमा उन्नति र प्रगति । प्राकृतिक नियम के छ भने अगुवा जस्ता हुन्छन् अनुयायी त्यस्तै बन्छन् । यहाँ पनि यस्तै भएको थियो । नेताहरू असल थिए जनताहरू पनि त्यसैबाट प्रभावित थिए । उनीहरूका घरका झ्याल, ढोका खुलै रहन्थे । ताल्चा साँचो भनेको त कस्तो हुन्छ देखेकै थिएनन् ।  

बिस्तारै यी चार राजाका ख्याति फैलिँदै गयो । जहाँ पनि उनीहरूकै प्रशंसा हुन्थ्यो, जयजयाकार सुनिन्थ्यो । राजा हुनु त त्यस्तो भनिन्थ्यो उनीहरूकै उदाहरण दिने गरिन्थ्यो । जता पनि उनीहरूकै प्रशंसा हुने आफ्नो भने कतै पनि नामै नसुनिने भएपछि छिमेकी देशका राजा शम्बरको बेचैनी बढ्न थाल्यो । आफ्ना राज्यमा निरन्तर अभाव र अशान्ति मच्चिने तर छिमेकी राज्यहरूका अवस्था भने त्यसको ठीक विपरीत देखिने गरेको शम्बरजस्तो कुटिल राजाले किन पचाउन सक्थे र । निकै दिनको बेचैनीपछि शम्बरले आफ्ना अनुयायी पिप्रु, कुडमल, शुष्णु आदि केही राजाको सहयोगमा आक्रमण गरी उनीहरूका राज्यमा अशान्ति फैलाउन लागे ।
शम्बर सैनिकको अत्याचार बढ्दै गएपछि चार राजाले शम्बर सहितका गोलमेच वैठक बसाए । वैठकमा द्विपक्षीय र बहुपक्षीय मामिलामा व्यापक छलफल भयो तर शम्बरले अनावश्यक निहुँ झिकी वार्ता भाँड्न खोजेकाले चार राजाले कुटनीतिक चातुर्य देखाउँदै अहस्तक्षेपको प्रस्ताव पेश गरे, जसमा दुवै पक्षले एकअर्को राज्यमा हस्तक्षेप नगर्ने, सबै आ–आफ्नै राज्य सीमामा रहेर जनहितमा काम गर्ने र सैन्य शक्ति घटाएर त्यसमा हुने खर्च विकास निर्माणमा लगाउनुपर्ने जस्ता शर्त राखिएका थिए । 

उनीहरूका शर्त सिधै नकार्न नसकिने खालको थिएन । त्यसैले कुटिल बादशाह शम्बर तत्काल बोल्न सकेनन् र प्रस्ताव स्वीकार गरेको अभिनय गरे । उनले देखाउनका लागि मात्र प्रस्तावमा सहमति जनाएका थिए तर आशय भने उपयुक्त मौका छोपी पुनः आक्रमण गर्ने नै थियो । यद्यपि उनका केही अनुयायीले बैठक कक्षमै आपत्ती नजाएका होइनन् । आँखाको भाषामा यो के गर्दै हुनुहुन्छ ? भन्न पनि भ्याएका थिए तर शम्बरले आँखाकै भाषामा केही शङ्केत गरे, जसले गर्दा उनीहरूले पनि तत्कालै सहमति जनाएको जस्तो गरे ।   

चार राजाको शैन्यशक्ति पहिले नै कम थियो । कारण उनीहरू सैनिक बलभन्दा नैतिक बलमा विश्वास गर्थे र सोही अनुसार राज्य सञ्चालन गर्दै आएका थिए । त्यसमाथि सम्झौता अनुसार भएको सैन्यशक्ति पनि घटाएर नाम मात्रमा सीमित गरेका थिए तर शम्बर पक्षकाले भने त्यस्तो गरेनन् । प्रत्यक्ष देखिने गरी सैन्यशक्ति घटाएको जस्तो देखाए पनि भित्रभित्रै थप मजबूत बनाउँदै लगेर ९९ वटा त किल्ला नै खडा गरेका थिए, जहाँ दर्जनौँ राज्यलाई ध्वस्त पार्न सक्ने शक्ति सञ्चित थियो । 

सम्झौता भएको केही वर्षपछि नै शम्बरहरू चार राजामाथि पुनः आक्रमण गर्न आइपुगे । विचरा चार राजा शम्बरको जालमा यसरी फसे कि उम्कनै सकेनन् । उनीहरू भएका सैन्यशक्ति पनि घटाएर यसै पनि कमजोर बन्न पुगेका थिए । त्यसमाथि शम्बरहरूले यसरी अचानक आक्रमण गर्लान् भन्ने सोचेकै थिएनन् । शत्रुहरूले आफ्ना किल्लाहरू एकपछि अर्को गर्दै ध्वस्त गर्न थालेपछि उनीहरूले स्वर्गका राजा इन्द्रसँग गुहार मागे ।  

चार राजाका आर्तपुकारलाई देवराज इन्द्रले अनदेखि गर्न सकेनन् र देवसेनासहित आएर शम्बरहरूसित युद्ध गर्न लागे । पापको फल पाप नै हुन्छ । जे रोपिएको छ त्यही फल्ने प्राकृतिक नियमलाई कसले लत्याउन सकेको छ र । बिस्तारै देवसेनासित शम्बर सेना पराजित हुन थाले र केही दिनमै शम्बरसहित उनका सहयोगी सोही युद्धमा समाप्त हुन पुगे ।  

युद्ध जितेपछि फर्कने बेला देवराज इन्द्रले चार राजालाई सम्बोधन गर्दै भने–
‘अब तपाईँहरू शत्रु सकिएर अजातशत्रु हुनुभएको छ । उनीहरूका राज्यसमेत तपार्ईँहरूकै अधिनमा आएको छ । अरू पनि कुनै सहयोग गर्नुपर्नेछ भने भन्न सक्नुहुन्छ ।’
‘तपार्ईँको यो गुनलाई कहिल्यै बिर्सन सक्ने छैनौँ ।’ देवराज इन्द्रको आग्रहपछि चार राजाले विनम्रता पूर्वक भने–

‘अहिलेलाई यही नै काफी छ । प¥यो भने पुनः दुःख दिनेछौँ । त्यतिबेला पनि यसैगरी सहयोग पाउनेछौँ भन्ने आशा गर्छौँ ।’
त्यसपछि देवराज इन्द्र ‘तथास्तु’ भन्दै स्वर्गतिर लागे । चार राजा धर्मपूर्वक राज्यगरी आ–आफ्ना जनतालाई सन्तुष्ट राख्नतिर लागे । यिनै पुन्यको प्रभावले उनीहरूले बाँचुन्जेल मात्र सुख, शान्ति र आनन्द पाएनन् मरेपछि स्वर्गमा

गएर बस्न लागे तर शम्बर र उनका अनुयायीहरूले भने अधर्मको नीति लिएकाले यस जीवनलाई मात्र बरबाद गरेनन् मरेपछि पनि सोही पापका कारण नरकमा समेत बास पाएनन् । 
ऋग्वेदका विभिन्न सूक्तका मन्त्रहरूमा सूत्रात्मकरूपले आएको यस कथालाई पौराणिक ग्रन्थहरूमा विस्तृत रूपमा चर्चा गरिएको छ ।                            

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप