शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा चुनावी भिडन्त रोचक बन्दै : काँग्रेसलाई गठबन्धनको आश, इतिहास रच्ने दाउमा एमाले

सबै दलबाट भोट पाउने आशामा राप्रपा
शुक्रबार, २३ वैशाख २०७९, १८ : ४२
शुक्रबार, २३ वैशाख २०७९

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा चुनावी माहोल तातेको छ । आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक सबै हिसाबको केन्द्र रहेको वीरेन्द्रनगर नगरपालिकामा कसले बाजी मार्ला भन्नेबारे लेखाजोखा हुन थालेको छ । राजनीतिक दलहरु नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टीले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । अन्य दलभन्दा एमाले आक्रामक तरिकाले घरदैलोमा व्यस्त देखिन्छ । एमालेका प्रदेश इञ्चार्ज यामलाल कँडेल स्वयं मेयरका उम्मेदवार मोहनमाया ढकालसँगै घरदैलो कार्यक्रममा सरिक देखिन्छन् । एमालेका जिल्लास्तरका सबैजसो नेता प्रचार अभियानमा प्रत्यक्ष रुपमा सहभागी हुँदै आएका छन् ।

एमालेबाट मेयरमा निवर्तमान उपमेयर मोहनमाया ढकालले उम्मेदवारी दिएकी छन् । काँग्रेसले भने उपेन्द्र खड्कालाई मेयरमा उम्मेदवार बनाएको छ । एमालेको कडा प्रतिस्पर्धीका रुपमा रहेको नेपाली काँग्रेसभित्र आन्तरिक कलह छ । यसको फाइदा एमालेलाई पुग्ने आकलन गरिएको छ ।

काँग्रेसलाई गठबन्धनको आश, आफ्नैबाट निराश 

०७४ को स्थानीय तहको निर्वाचनमा मेयर जितेको नेपाली काँग्रेसले यो पटक कडा चुनौती सामना गर्दैछ । काँग्रेसका केन्द्रीय उपसभापति पूर्णबहादुर खड्काको गृह जिल्लामा यो पटक काँग्रेसभित्रको आन्तरिक कलह सतहमा छ । जसका कारण काँग्रेसभित्रकै संस्थापन इतर पक्षले आफ्नै पार्टीका उम्मेदवारलाई खुलेर साथ दिन सकेको छैन ।

काँग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्का काँग्रेस एक्लै लडे पनि जित्ने दाबी गर्छन् । यद्यपि पार्टीको केन्द्रीय सर्कुलरलाई मानेर अगाडि बढ्न खोजेको उनको टिप्पणी छ । वैशाख १६ अर्थात् उम्मेदवारी फिर्ता लिने अन्तिम समयमा माओवादी केन्द्रसँग तालमेल गर्ने निर्णय गरेको हो । मेयर÷उपमेयरमा काँग्रेस–माओवादीको गठबन्धन बने पनि धेरैजसो वडामा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग तालमेल गरिरहेको छ । जसले गर्दा माओवादीका सबै भोट पाउन काँग्रेसलाई मुस्किल छ ।

उपमेयरमा उम्मेदवारी दिएकी माओवादी केन्द्रकी शान्ति ढकालले पनि काँग्रेसका सबै भोट पाउने विश्वास गरेकी छैनन् । मेयर÷उपमेयरमा काँग्रेससँग तालमेल भए पनि घरदैलोमा जाँदा सोचेको भन्दा फरक पाएको उनको भनाइ छ ।

०७४ को स्थानीय चुनावमा हृदयराम थानी पक्षका नेता कमलराज रेग्मीले चुनावको लिड गरेका थिए । उनैको नेतृत्वमा रहँदा काँग्रेसले आफ्नो वर्चश्व जमाएको थियो । तर यो पटक उपाध्यक्ष खड्का पक्षले पार्टीको नेतृत्वदायी भूमिकामा इतर पक्षलाई नसमेटेको र एकलौटी गर्न खोजेको आरोप लागेको छ । यतिमात्र होइन, आसन्न निर्वाचनमा कुनै पनि स्थानमा काँग्रेसका इतर पक्षका उम्मेदवार छैनन् ।

मेयरका उम्मेदवार खड्का भने काँग्रेसले जित्ने थुप्रै आधार रहेको बताउँछन् । उनी भन्छन्, ‘पहिलो कुरा त काँग्रेस बोलेर हैन काम गरेर देखाउने गर्छ । अर्को कुरा, हामीले १६ वटा संकल्पका साथ चुनावी घोषणापत्र ल्याएका छौं । त्यो बाचा पूरा गर्न हामी प्रतिबद्ध छौं ।’

उनले चुनाव जित्ने पहिलो आधार भनेको एमालेका धेरै कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको सुनाए । अर्कोतिर पार्टीमा असन्तुष्टि बढेको भन्ने कुरामा पनि सत्यता नरहेको भन्दै उनले आफूले चुनाव जित्ने दाबी गरे ।

काँग्रेसको अन्तरविरोधले एमालेको भोट बढ्ला ? 

एमालेबाट मेयरका उम्मेदवार मोहनमाया ढकालले मतदाता सचेत भएकाले यो पटक एमालेको जित हुने विश्वास गर्छिन् । ‘दुई दलीय गठबन्धन नै बहुरङ्गी खालको छ,’ उनले भनिन्, ‘माथि दुईवटा टाउकोको मात्र गठबन्धन भएर हुँदैन, वडाहरुमा त्यसको मोडालिटी फरक छ । हामी कसैको अन्तरविरोधका कारण भोट बढ्छ भन्नुभन्दा पनि आफ्नै बलमा मत पाउँछौं ।’

ढकालले नेकपा एकीकृत समाजवादीका कारण एमालेलाई कुनै असर नपर्ने दाबीसमेत गरिन् । समाजवादीले धना कुमारी शाही (जिसी)लाई मेयर र उपमेयरमा वीरबहादुर रावतलाई उठाएको छ । ढकाल भन्छिन्, ‘पार्टीगत भन्दा पनि यो पटक राजधानीको मेयरमा महिला आएकोमा जनता खुसी छन् । त्यसैले सबैतिरको भोट आउँछ भन्नेमा म ढुक्क छु ।’

राप्रपा पनि आशावादी

राप्रपाबाट मेयरका उम्मेदवार मुकुन्दश्याम गिरी पनि बलिया उम्मेदवारमा पर्छन् । उनी वीरेन्द्रनगरका पुराना नेता हुन् भने साविकको लाइटिकोइलीका प्रधानपञ्चसमेत हुन् । २०६१ सालमै वीरेन्द्रनगरको मेयर बनेका उनको वीरेन्द्रनगरमा ठुलो योगदान छ । हाल घरदैलोमै व्यस्त गिरीले भने, ‘मैले विगतमा केही काम सुरुवात गरेको थिएँ । अहिले त्यसलाई पूर्णता दिनका लागि म उम्मेदवार भएको छु, नेतृत्वमा पुगेका पार्टीले जनताको आशा अनुसार काम गरेनन् भन्ने जनताको मानसिकता छ । त्यसैले जनताले हामीप्रति केही आशा बुनेका छन् ।’

आफूले कसैप्रति दोषारोपण गरेर नभइ सबै पार्टीका नेता, कार्यकर्तासँग मित्रवत् व्यवहार गरेर सबैको समर्थन बटुल्ने प्रयास गरेको उनको भनाइ छ । उनले भने, ‘सबैले पार्टीगत रुपमा आ–आफ्नो दलको झण्डा बोकेर हिँड्नुपर्ने अवस्था आए पनि भोटचाहिँ मलाई दिनुहुन्छ भन्ने मैले अपेक्षा गरेको छु ।’

राप्रपाले ०७४ मा ईश्वरकुमार श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । उनले जम्मा ५५७ मतमात्र ल्याएका थिए ।

गणितमा एमाले नै बलियो

०७४ मा मेयरमा काँग्रेसका देवकुमार सुवेदीले १४ हजार ४०५ र एमालेका बालाराम शर्माले १३ हजार ८९९ मत प्राप्त गरेका थिए । माओवादीले मेयरमा पाँच हजार २३७ मत ल्याएको थियो । हाल मेयरकी उम्मेदवार ढकालले त्यतिबेला उपमेयरमा १६ हजार ६८ मत ल्याएकी थिइन् भने एमालेले नौ वडामा जितेको थियो ।

धेरै वडामा काँग्रेस–एमालेबीच नै प्रतिस्पर्धा रहेको यहाँ माओवादी तेस्रो स्थानमा थियो । वीरेन्द्रनगर नगरपालिकामा १६ वटा वडा छन् । माओवादीले एउटा, काँग्रेसले ६ वटा  वडामा जितेको थियो । ०७४ मा काँग्रेस–एमालेको मतभार जोड्दा पनि एमालेको बढी नै देखिन्छ । अहिले एमाले विभाजित बनेको छ । एमालेका केही मत समाजवादीले काट्न सक्ने आकलन नेताहरुले गरिरहेका छन् । यद्यपि काँग्रेसको अन्तरविरोधका कारण काँग्रेसका धेरैजसो मत विभाजित हुने काँग्रेसभित्रकै नेताहरुको विश्लेषण छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप