शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नगरप्रमुखका उम्मेदवार : कस्तो छ जीवनसाथीको होस्टेमा हैँसे ?

आइतबार, २५ वैशाख २०७९, १३ : ३७
आइतबार, २५ वैशाख २०७९

श्रीमान् श्रीमती एकै रथका दुई पाँग्रा हुन् । हरेक क्षेत्रमा पति पत्नीलाई एकअर्काको सहयोग उत्तिकै आवश्यक हुन्छ । नेपाली काँग्रेस काठमाडौं महानगरकी मेयर उम्मेदवार सिर्जना सिंहका पति प्रकाशमान सिंह आफ्नो पत्नीको जितको लागि घरदैलो कार्यक्रममा सँगसँगै  हिँडेका छन् । चुनाव प्रचारप्रसारमा उनी सक्रिय भएर खटेका छन् । पति राजनीतिज्ञ नै भएका कारण सिर्जनालाई अरुको तुलनामा पतिको सहयोग सहज भएको हुन सक्छ । तर सबैको जोडीको हकमा यो संभव हुन्न । 

गठबन्धनबाट भरतपुर महानगरकी प्रमुख उम्मेदवार रेणु दाहालको श्रीमान् अर्जुन पाठकले समाजमा पितृसत्तात्मक सोच हाबी रहेकाले श्रीमती आफूभन्दा अगाडि बढेको देख्न नसक्ने समाजको संकीर्ण सोच रहेको बताउँछन् । रातोपाटीसँग कुराकानी गर्ने क्रममा उनले भने, ‘मेरो श्रीमती म भन्दा अगाडि बढ्दा वा रहदाँ मैले सधै गर्व नै गरेको छु, आगामी दिनमा पनि गर्नेछु । म राजनीतिक रुपमा सचेत मानिस हुँ । विवेकशील श्रीमान्ले आजको समयमा यस्तो सोचेर हिँड्नु हुँदैन भन्ने मलाइ लाग्छ ।’ 

एक अर्काको जिम्मेवारी बुझ्न जरुरी

‘सबैभन्दा ठुलो कुरा हामीले एक अर्काको जिम्मेवारीलाई राम्ररी बुझेका छौ । एकअर्काको कामलाई बुझेका छौ । त्यसैले पनि समस्या केही छैन । उनको सकरात्मक सोचको म प्रंशसक हुँ । अन्तर्मनदेखि भरतपुर महानगरको विकासमा उनी समर्पित छिन् । मैले रेणुको क्षमता विकास बुझेको छु,’ पाठकले भने । उनको कार्यक्षमतामाथि प्रश्न गर्ने ठाँउ नभएको उनको जिकिर छ ।

पठकका अनुसार उनको परिवार राजनीतिमा जोडिएको कारणले ८ कक्षा पढ्दैदेखि उनी अखिल नेपाल भारत विद्यार्थी संघबाट १४÷१५ वर्ष उमेरदेखि नै विद्यार्थी राजनीतिमा लागे । रेणु दाहालसँगको वैवाहिक सम्बन्ध पनि दुवैको परिवार राजनीतिमै भएको कारणले भयो । एउटै व्याकग्राउण्डको भएकाले अन्यको तुलनामा राजनीतिमा सहज भएको उनको भनाइ छ । भन्छन्, ‘श्रीमान् श्रीमती दुवैले एक अर्काको इच्छालाई बुझेर सहयोग गर्नुपर्छ । जसको क्षमता छ, उसलाई अगाडि बढाउनुपर्छ ।’ 

पाठक फुर्सद भएसम्म श्रीमतीको घरदैलो कार्यक्रममा सरिक भइरहेका छन् । ‘तर पार्टीमा मेरो पनि आफ्नै जिम्मेवारी छ । प्रदेश कमिटी सदस्यमा छु । निर्वाचनको लागि प्रदेश कमिटी सदस्यलाई पनि भुगोलमा जोडेको छ । त्यसैले आफ्नो जिम्मेवारीलाई प्राथमिकतामा राखेर काम गरेको छु,’ उनले अगाडि भने, ‘प्रचारप्रसारमा साथीभाइ र कार्यकर्ताहरुको व्यवस्थापन, व्यक्तिगत भेटघाट पार्टीका साथीहरुका समस्याहरु कहाँ कहाँ के के छन् सबै बुझ्नलाई हिँडिरहेको छु ।’ 

कुन कुरा महत्वपूर्ण छ भन्ने पनि हेक्का राख्नुपर्छ राजनीति गर्नेले । सामाजिक जीवन बाँच्छु भनेर लागिसकेपछि नागरिकका समस्या महत्वपूर्ण हुन्छ । सामाजिक जिम्मेवारी सँगसँगै हामी श्रीमान् श्रीमतीबीच  एकअर्कालाई समय दिने कुरामा म्यानेज गरेका छौं । आफ्नो महानगर तथा देशलाई नमुना बनाउनुपर्छ भनेर उनले काम गरिरहेकी छन् । ‘सबैको लागि उदाहरणीय मेयर हुन् । उनीसँग असन्तुष्टहरु एकपटक चितवन आएर बुझ्दा पनि हुन्छ ।’ यसपटक पनि रेणुले जितेमा यहाँको अझै विकास हुने कुरामा दुइमत नभएको पाठकको भनाइ थियो । 

श्रीमतीको काममा गर्व 

त्यसैगरी, विवेकशील साझा पार्टी काठमाडौंबाट मेयरकी उम्मेदवार समीक्षा बाँस्कोटाका श्रीमान् डा. अनुप मंगल समालले ‘श्रीमती राती १० बजे घर आउँदा पनि केही भन्दिन, मेरो हृदय विशाल छ’ भन्नुको कुनै अर्थ नरहेको बताउँछन् । उनी प्रश्न गर्दै भन्छन्, ‘श्रीमतीले राम्रो काम गर्छु भन्दा हामीले विशाल हृदय बनाइदिनु पर्ने ?’ साथ, सहयोग र उसलाई प्रेरणा जगाउनु असल श्रीमान्को कर्तव्य हो । उसको क्षमतालाई बुझ्ने हो । उनी कामले बाहिर हुन सक्छिन्, यसमा श्रीमान्को फराकिलो हृदयको यति धेरै व्याख्या गर्न आवश्यक छैन । अनुप थप्छन्, ‘उनको मिसन सानो छैन । उनले गरेको काम म गर्न सक्दिन । त्यसै म त गर्व गर्छु । परिवार, साथीभाइ र आफन्तको सहयोगले उनले गर्न सक्छिन् भनेर राजनीतिमा लाग्न प्रेरणा गरेका हौ ।’ 

डा. अनुप कन्सल्टेन्ट जनरलिष्ट हुन् । हाल उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत छन् । श्रीमतीको चुनावी अभियानलाई सघाउन उनी केही दिन अगाडि विदा लिएर काठमाडौं आएका छन् । चुनाव सकिएलगत्तै आफू जुम्ला फर्किहाल्ने बताए । समीक्षा र डा. अनुपको २०६९ सालमा अन्तरजातीय प्रेमविवाह भएको थियो । उनीहरुको ९ वर्षको छोरा छन् । 

घरदैलोमै हिँडेर सहयोग गर्नु आवश्यक छ । तर सबैभन्दा ठुलो सहयोग मानसिक सहयोग हो । अनुपको भनाइ छ । उनी भन्छन्, ‘भौतिक रुपमा सँगै नभएपनि म तपाईंसँग सधैं सँगै छु, साथमा छु भनेर सहयोग गर्नु सबैभन्दा ठुलो सपोर्ट हो ।’ सासू ससुराले पनि उहाँलाई छोरी मान्नु भएको छ । आफूसँग भएको क्षमता उजागार गर्नुपर्छ भनेर हौसला दिनुहुन्छ । जन्मघरबाट पनि उनलाई राम्रो सहयोग भएको उनले बताए । राजनीतिमा आउने मान्छे इमान्दार, बौद्धिक, सक्षम र सबल हुन आवश्यक छ । उनीसँग राज्य सञ्चालनको भिजन छ । त्यसले मेरो एक परिवार वा समीक्षा मात्र बन्ने होइन, समग्र राष्ट्र बनाउनको लागि समीक्षाजस्तो उम्मेदवारले जित्नुपर्ने अनुपको जिकिर छ । 

अनुप समीक्षालाई पढेलेखेको बौद्धिक र भिजन भएको, समाजको हरेक पाटोको ज्ञान राख्ने, समाज रुपान्तरणको लागि काम गर्ने व्यक्तिको रुपमा चित्रित गर्छन् । ‘म चिकित्सक हुँ, मैले मेरो क्षेत्रको र मेरो रुचि के मा छ, त्यसको ज्ञान राख्छु तर उहाँमा समाजको असाध्यै स–सानो कुरा केलाउन सक्ने गुण र क्षमता छ । गहिराइमा बुझ्ने र अर्को प्रष्ट वक्ता हो ।’ 

अनुप अगाडि भन्छन्,‘उहाँले सौखले राजनीति गरेको होइन । उहाँ आफ्नो पेशामा अब्बल मान्छे हो । नेपाली राजनीतिमा देखिएको फोहोरलाई कसैले त सफा गर्नैपर्छ भनेर लाग्नु भएको हो । समाज रुपान्तर नगरी नहुने अवस्थाको लागि उहाँको उम्मेदवारी हो ।’ देशभित्र एक दुइ जना मान्छे मात्र सबल भएर हुँदैन । सबै  जनता सबल, सक्षम र खुसी हुनुपर्छ । त्यसको लागि देशको राजनीतिमा शुद्धीकरण आवश्यक छ भन्दै  दिनरात नभनेर खटिएको अनुपले बताए । जनताप्रति श्रीमतीको समर्पणको भावना देखेर निकै खुसी लाग्ने डा. अनुप बताउँछन् । 

मेरो छैन केही हजुरलाई गुनासो

उता नेपाल मजदुर किसान पार्टीबाट भक्तपुर नगर मेयरका उम्मेदवार सुनिल प्रजापतिकी श्रीमती राजेश्वरी प्रजापतिले राजनीति गर्ने श्रीमानको समस्या नजिकबाट नियालेको बताउँछिन् । ‘श्रीमतीलाई समय खै ? छोराछोरी हेरेको खै ? घरव्यवहार कहाँ पुग्यो ? यति अबेला कहाँबाट आएको हो ?’ जस्ता प्रश्न गर्ने हो भने श्रीमान्ले राजनीति गर्न नसक्ने उनको धारणा छ । भन्छिन्,‘अरु छिमेकी, नातागोताको श्रीमान्ले परिवारलाई समय दिएको देख्दा कहिलेकाँही मेरो पनि मन दुख्छ । गाह्रो हुँदाहुँदै पनि मलाई सन्तोष भने लाग्छ । घरव्यवहार हेर्नै भ्याउनुहुन्न तर राती अबेर घर आइपुगेर पनि हामीलाई हालखबर सोध्नुुहुन्छ, मलाई त्यही खुसी लाग्छ ।’ उनले बताइन् । सबै कुरा मनमनै आफैले बुझेर परिवारले सहज वातावरण बनाइदिन आवश्यक रहेको उनको जिकिर छ । 

राजेश्वरीले जम्मा कक्षा ७ सम्म अध्ययन गरेकी छन् भने उनको श्रीमान् सुनिलले स्नातक उतीर्ण गरेका छन् । पहिलेदेखि चिनजान भएपनि उनीहरुको मागी विवाह भएको हो । उनीहरुको बिहे भएको २० वर्ष भयो, उनका ३ सन्तान रहेका छन् । राजेश्वरी पूर्ण रुपमा गृहिणी हुन् । उनी भन्छिन्,‘म उहाँको कामलाई सधैं बुझ्ने प्रयास गर्छु । राजनीतिज्ञ श्रीमान् हुँदा असाध्यै खुसी पनि लाग्छ । किनभने उहाँ आफ्नो घरपरिवार मात्र नभएर समग्र भक्तपुरवासीको अभिभावक बन्ने लक्ष्य लिएर हिँड्नु भएको छ । उहाँको जिम्मेवारी नै ठुलो भएका कारणले केही गुनासो छैन ।’ उनको भनाइ थियो ।  

‘पुरै कार्यक्रममा श्रीमान् सँगसँगै हिँडेको छैन । तर आफ्नो वडामा मैले प्रचार गरिरहेको छु, मेरो श्रीमान्लाई मात्र नभएर यहाँको वडाध्यक्ष्य, सदस्यलाई मत माग्नु मेरो दायित्व हो,’ राजेश्वरी भन्छिन्,‘जनतालाई खुसी बनाउने नै उहाँको लक्ष्य हो । नगरवासीको सेवा, सुविधा बढाउँदै लैजानु यहाँको विकास गर्नु नै नगरवासीलाई खुसी बनाउनु उहाँको उद्धेश्य हो । उहाँले जित्नुभयो भने नगरवासीले दुःख मनाउनुपर्ने वा गुनासो गर्ने ठाउँ रहन्न यति म नगरवासीलाई विश्वस्त पार्न सक्छु ।’ माइतीघरतिर काकाहरु राजनीतिमा भएपनि आफू राजनीतिमा खासै लागिनन् । अहिले भने नगर कमिटीको महिला संघमा आबद्ध भएको उनले जानकारी दिइन् । 

जीवनसाथीको साथ र सहयोग राजनीतिमा कति आवश्यक छ भनेर रातोपाटीले नेकपा एमालेबाट काठमाडौंका मेयर उम्मेदवार केशव स्थापितको जीवनसाथीसँग शुक्रबार कुराकानी गर्न खोज्दा स्थापितले ‘मेरी श्रीमतीलाई मिडियामा बोल्न आउँदैन’ भनेर कुरा गराउन इन्कार गरे । त्यस्तै, ललितपुर महानगरबाट काँग्रेस मेयर उम्मेदवार चिरीबाबु महर्जनले पनि आफ्नो श्रीमती मिश्री महर्जनले प्रेससँग बोल्नै नजान्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप