शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावले हेलिकप्टर व्यवसायी दङ्ग, दैनिक ४ दर्जन चार्टर्ड फ्लाइट !

आइतबार, २५ वैशाख २०७९, १६ : ३१
आइतबार, २५ वैशाख २०७९

यतिखेर निजी हेलिकप्टर कम्पनीहरूलाई चार्टर उडानको बिजनेस लिन भ्याइनभ्याई छ । चुनाव लागेसँगै ह्वात्तै बढेको बिजनेसले व्यवसायीहरू मक्ख छन् । चुनाव प्रचारप्रसारका लागि राजनीतिक पार्टी र तीनका नेता तथा कार्यकर्ताहरूले हेलिकप्टर चार्टरको डिमान्ड बढाउन थालेसँगै निजी हवाई (हेली) कम्पनीहरूको बिजनेस ह्वातै बढ्न गएको हो । 

यसैको परिणाम पछिल्लो समय दैनिक ४ दर्जन हाराहारीमा चार्टर हेली उडान हुने गरेको नेपाल वायुसेवा सञ्चालक सङ्घ (एओएन) को भनाइ छ । ११ वटा कम्पनीका २४ देखि २८ वटा हेलिकप्टरले दैनिक सदर ४० देखि ५० वटासम्म चार्टर्ड फ्लाइट गरिरहेको सङ्घका प्रवक्ता योगराज कँडेलले रातोपाटीलाई जानकारी दिए ।

राजधानी केन्द्रीतसँगै क्षेत्रिय स्तरमा सञ्चालित ११ वटा निजी कम्पनीहरूमा एयर डाइनेस्टीको ४ वटा हेलिकप्टरले अहिले चार्टर उडान गरिरहेको छ । यस्तै प्रभु हेलिकप्टरले पनि ४ वटै फ्लाइटबाट नियमित चार्टर उडान भरिरहेको छ । यस्तै, सिम्रिक एयरले ५ वटा मध्ये ३ वटा हेलिकप्टर सञ्चालन गरिरहेको छ भने, कैलाश हेलिकप्टरले ३ वटा, श्री एयरलाइन्सले २ वटा, अल्टिच्युड एयरले २ वटा, एभरेष्टले २ वटा र फिस्टेलले २ वटा हेलिकप्टर सञ्चालन गरिरहेको छ । 

यसैमा थप मनाङ हेलिकप्टरले २ वटा र मुस्ताङ हेलिकप्टरले एउटा हेलिकप्टर मार्फत चार्टर उडान गरिरहेकोमा माउन्टेन एयरले समेत एउटा हेलिकप्टर सञ्चालन गरिरहेको छ । यी हेलिकप्टरहरूबाट प्रतिकम्पनी दैनिक दुई–तीन वटा देखि ९–१० वटासम्म चार्टर फ्लाइट भइरहेको एयर डाइनेस्टीका बजार प्रबन्धक बाल कृष्ण पण्डितले रातोपाटीसँग बताए ।

बिजनेसको खाँचो छैन, भ्याइनभ्याई छ : पण्डित 

‘एयर डाइनेस्टीले अहिले सरदर दैनिक ९–१० वटा चार्टर फ्लाइट गरिरहेको छ । जम्मा ४ वटा हेलिकप्टरले अहिलेको डिमाण्ड धान्नै मुस्किल परिरहेको छ । बिजनेसको कुनै खाँचो छैन’ प्रबन्धक पण्डितले रातोपाटीसँग भने, ‘कोभिड कालमा बिग्रिएको बिजनेस फर्किनेमा आशावादी छौँ ।’

यस्तै, चार्टर फ्लाइटको चाप यतिखेर सिम्रिक एयरलाई पनि परिरहेको छ । चुनावी प्रचारप्रसार राजनीतिक पार्टीहरूको सभा–सम्मेलन तथा आमसभाहरूमा चार्टर्ड फ्लाइट गरेर भ्याइनभ्याई छ । ३ वटा हेलिकप्टरबाट दैनिक ७–८ वटा फ्लाइट भइरहेको कम्पनीले बताएको छ । 

यस्तै, कैलाश हेलिकप्टर, अल्च्युच्युट एयर, एभरेष्ट, मनाङ, मुस्ताङ लगायत दर्जन हाराहारीका हेलिकप्टरहरूले पनि चुनावको मौकामा राम्रै बिजनेस पाइरहेको बताएका छन् । तर, यता प्रभु हेलिकप्टरले भने चाहेर पनि चुनावको मौका छोप्न नपाएको कम्पनीका डीजीएम नोबेल कुमार लबटले रातोपाटीसँग बताए । 

‘राजनीतिक पार्टी तथा चुनाव केन्द्रीत कार्यक्रमहरूका लागि चार्टर उडानको डिमान्डहरू नआएका होइनन् । तर हामी आफ्नै कारणले चाहेर पनि बिजनेस लिन सकिरहेका छैनौँ । ४ वटा हेलिकप्टर मध्ये एउटा ठूलो माथि लुक्लामा नै अड्किएको छ । बाँकी ३ वटामा पनि एउटा काठमाडौँ र दुईवटा गण्डकी (पोखरा) मा केन्द्रित छ । यी हेलिकप्टरहरू पोलिटिकल उडानभन्दा पनि रेस्क्यु उडानमा लागिरहेका छन् । त्यसैले यसपालि प्रभूले खासै चुनाव केन्द्रित चार्टर उडान लिन सकिरहेका छैन’ लबटले रातोपाटीसँग भने ।

एउटै कम्पनीको कमाई दैनिक ५ लाखमाथि

स्थानीय निर्वाचन २०७९ ले हेलिकप्टरको डिमाण्ड बढाएसँगै यता हवाई कम्पनीहरूको कमाई समेत बढेको छ । एउटै कम्पनीका ८–१० वटा चार्टर उडान हुँदा दैनिक १८ देखि २० लाख रुपैयाँसम्म कमाइ हुने देखिन्छ । एउटा चार्टर फ्लाइटले एक घण्टा उडान गर्दा एक हजार ४०० अमेरिकी डलरदेखि एक हजार ५०० डलरसम्म लिन पाउने व्यवस्था छ । तर, आपसी सहमतिमा एउटा फ्लाइटको ४० देखि ५० हजार रुपैयाँ मात्र लिने गरिएको एयर डाइनेस्टीका एमडी पण्डित बताउँछन् । यो हिसाबले पनि १० वटा उडान भर्ने कम्पनीले सदर दैनिक ५ लाख रुपैयाँ कमाउने गरेका छन् । 

अझ नियम अनुसार घण्टाको १५ सय डलरमा चार्टर उडान हुने हो भने एउटै हेलिकप्टरले दैनिक १ लाख ८३ हजार रुपैयाँसम्म कमाउने थिए । यस्तै, १० वटा फ्लाइटको १८ लाख ३० हजार रुपैयाँ ।

रोकेन आचार संहिताले

निर्वाचन आचार संहिता २०७९ को बुँदा नम्बर ५० ले निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवार भएको सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा बढीमा दुईवटा दुई पाङ्ग्रे वा तीनपाङ्ग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सवारी साधन र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग बाहेक अन्य सवारी साधन र घोडा प्रयोग गर्न नहुने बताएको छ । यसमा स्पष्ट रूपमा हवाई साधनको प्रयोग गर्न नपाइने नभनिएको भएपनि आचारसंहिताले यस्तो प्रयोग वर्जित गरिएको निर्वाचन आयोगको भनाइ छ । तर, यहाँ सम्बन्धित उम्मेदवारमार्फत नभएर अन्य नेता तथा कार्यकर्ता मार्फत धमाधम हवाई चार्टर भइरहेको छ । ‘सम्बन्धित उम्मेदवारले पो नपाउने भनिएको हो त, अरूले त पाइहाल्छ नि,’ एक राजनीतिक पार्टीका नेताले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप