शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आँखामा सपना केशरी, लजाउँदै नहेर त्यसरी...

मोडलिङ मेरो रहर होइन : रेश्मा पुन
बुधबार, २८ वैशाख २०७९, ११ : ५२
बुधबार, २८ वैशाख २०७९


आँखामा सपना केशरी, लजाउँदै नहेर त्यसरी 
फूलैको बाटोमा फुले नि, आस लाउँछ म तिम्रो हुँला नि’

माथिका शब्द फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’को ‘केशरी’ बोलको हो । यो गीत साङ्गीतिक क्षेत्रमा यतिबेला चर्चामा छ । जेठ १३ गतेबाट प्रदर्शनमा आउने फिल्मको यो गीतले टिकटकदेखि सबैतिर प्राथमिकता पाइरहेको छ । यही गीतको फिमेल भर्सन गाएर चर्चित हुन सफल भएकी छिन्– गायिका रेश्मा पुन । 

ओरिजिनल भर्सन नै करिब ७० लाखले हेरेको यो गीतको फिमेल भर्सन २५ लाखभन्दा बढीले हेरेका छन् । गीतमा राम अविरल विष्टको शब्द र गायक एसडी योगीको सङ्गीत छ । केशरी गीत पुरुष भर्सनमा योगीले गाएका हुन् । गीतको महिला र पुरुष भर्सन दुवै लोकप्रिय छन् । टिकटकमा भने महिलाकै स्वरले बढी प्राथमिकता पाएको छ । 

रेश्मा करिब ६ वर्षअगाडि साङ्गीतिक क्षेत्रमा प्रवेश गरेकी हुन् । छोटो समयमै  साङ्गीतिक क्षेत्रमा राम्रो पहिचान बनाउन सफल उनी फिल्म, आधुनिकलगायत सबै प्रकारको गीत गाउने क्षमता राख्छिन् । सल्यानमा जन्मिए पनि नेपालगञ्ज, कोहलपुरमा हुर्किएकी उनको सानैदेखि रुचि गायनमा थियो । सानोमा उनी सेमिक्लासिकल, आधुनिक गाउँदै हुर्किएकी हुन् । २०६७ मा नेपालगञ्जकै स्थानीय रेडियो सञ्चार एफएमबाट आयोजना भएको गायन प्रतियोगिताबाट उनको प्रतिभाले फक्रिने अवसर पायो । ७, ८ जिल्लाका विभिन्न व्यक्ति सहभागी गायन प्रतियोगिताको विजेता बन्दै उनले ५० हजार नगदसमेत जितेकी थिइन् । ‘गायनबाट जब पुरस्कार हात प¥यो त्यसपछि अब गायन नै रोज्नुपर्छ भन्ने लाग्यो,’ उनले भनिन्  ।

गायनकै लागि काठमाडौँ
गायन नै लागि भनेर रेश्मा २०७२, ०७३ मा काठमाडाैं आएकी हुन् । काठमाडाैं आएपछि उनले सुरुमा एक गीत रेकर्ड गरिन् । जसको अवसर उनलाई यसै फिल्डका केशव बडुले दिएका थिए । त्यसपछि उनी काठमाडौँमै बसिन् । विभिन्न साङ्गीतिक कार्यक्रम, कलेक्सन एल्बमका गीत गाउँदै आफ्नो एल्बमको तयारीसमेत गरिन् । उनको पहिलो एल्बम ‘रेश्मा’ पुन २०७४ मा आयो । जसमा न्ह्यू बज्राचार्यको सङ्गीत तथा भरत लामाको शब्द समेटिएको थियो । एल्बममा ४ गीत थिए । तीमध्ये ‘म पहाडको मायाले गुराँस फुलेको’ बोलको गीत हिट भयो । ‘यो गीतबाट मैले चौतर्फी तारिफ पाएँ,’ रेश्माले खुसी सेयर गरिन् ‘गायनलाई अझ अगाडि बढाउने सोचले चन्डीप्रसाद काफ्लेसँग सङ्गीत सिक्न थालेँ ।’

करिब तीन वर्ष नियमित सङ्गीतको कोर्स गरेकी रेश्माले अहिलेसम्म ४० भन्दा बढी कलेक्सन एल्बममा गीत आएकी छन् । फिल्मको भने ‘रुन्द्र प्रिया’, ‘डायरी’, ‘लब स्टेसन’ लगायत आधा दर्जन भएको सुनाउँछिन् । तुलसी पराजुलीसँग पूर्वेली केही लोकगीत र केही पश्चिमेली गीतसमेत गाएकी उनले एक महिनाअगाडि मात्र एक ‘शिरको फूल’ बोलको कौडा गीत ल्याएकी छन् । जसमा सङ्गीत कर्णराज कार्की र शब्द लेखुँ सहयात्रीका छन् । गीतको भिडियो पनि बनेको छ । अभिनेता पुष्प खड्कासँग उनी आफैँले भिडियो रोमान्स गरेकी छन् । अहिले आफ्नो ६, ७ गीत आउने तरखर रहेको उनले जानकारी दिइन् ।

नाम र दाम दुवै
सानैदेखि गायनमा रुचि भएकी उनी स्कुल, कलेज र गाउँघरको कार्यक्रममा समेत गाउँथिन् । त्यस समय गाउन उनको रोजाइ चलेको गीत हुन्थ्यो । गायन सुरुको दिन निकै सङ्घर्ष गर्नुपरेको छ उनले । आफ्नो परिवारबाट साङ्गीतिक क्षेत्रमा कोही नभएकाले पनि सङ्घर्षका दिन कठिन भएको उनको बुझाइ छ । 

आफ्नो जीवन नै साङ्गीतिक क्षेत्रमा बिताएका दिग्गजहरूले बेलाबेलामा साङ्गीतिक क्षेत्रका असन्तुष्टि बाहिर ल्याउँदै आएका छन् । उनी भने यो क्षेत्रबाट आफू सन्तुष्ट रहेको बताउँछिन् । साङ्गीतिक क्षेत्रमा दुःख धेरै भएको महसुस गरेकी उनलाई यो क्षेत्रमा लाग्न परिवारको सपोर्ट छ । उनी थप्छिन् ‘परिवारको सपोर्टले पनि साङ्गीतिक क्षेत्रका दुःख सजिलै काट्न सकें ।’

पछिल्लो समय स्टेज कार्यक्रमले गर्दा सङ्गीतमा लाग्नेलाई सहज परिस्थिति बनेको छ । यो उनले पनि महसुस गरेको विषय हो । गायनमा नाम, दाम छैन भन्ने नि छन् ? उनी त्यसको खण्डन गर्छिन् । भन्छिन्, ‘यो क्षेत्रमा नाम, दाम र दुःख सबै सबै छ ।’

साङ्गीतिक क्षेत्रमा फरक फरक समयमा फरक गीतले चर्चा पाउने गरेको छ । त्यो उनले राम्ररी नियालेकी छन् । त्यसैले पनि उनी फरक फरक गीतसङ्गीतमा काम गरिरहेकी हुन्छिन् । ‘कुन समय कुन गीत हिट हुन्छ भन्नै सकिन्न । गीतको शब्द, सङ्गीतमा भने हरेक समय ध्यान दिनुपर्छ’ उनले थपिन्, ‘मिहिनेत भने सधैँ गर्नुपर्छ ।’

हल्का मोडलिङ
साङ्गीतिक क्षेत्रका नवप्रवेशीलाई अग्रजले नराम्रो व्यवहार गर्ने हल्ला बाहिर चल्दै आएको छ । बेलाबेलामा यस्ता विषयका समाचारसमेत मिडियामा छाउँछन् । उनले भने अहिलेसम्म अग्रजबाट नराम्रो व्यवहार भोग्नुपरेको छैन रे । बरु समकक्षी र आफूभन्दा केही अगाडि मात्र प्रवेश गरेका सङ्घर्षरतबाट प्रताडित हुनुपर्ने सुनाउँछिन् । 

केही वर्ष अझै साङ्गीतिक क्षेत्रलाई निरन्तरता दिने सोचकी उनको व्यवसाय गर्ने इच्छा पनि छ । तर किन ? ‘गायनमा मात्र भर परेर भविष्य बन्ने अवस्था अहिले छैन,’ उनले भनिन् । पछिल्लो समय गायिका आफ्नो गीतको भिडियोमा आफैँ मोडलिङ गर्न थालेका छन् । तिनको अलवा आफूलाई पनि चिनाउन गायक गायिका यसो गर्न थालेका हुन् । उनले पनि केही भिडियोमा आफैँले अभिनय गरेकी छन् । उनको मोडलिङको उद्देश्य पनि गायनले मात्र होइन, फेसबाटै आफूलाई सबैले चिनोस् भन्ने हो । ‘मोडलिङमै रमाउने मेरो रहर होइन,’ उनले भनिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप