मिटरब्याजीलाई जेल पुर्याउने माओवादी नेतालाई जनताको उपहार : बने हरिवनको मेयर
सर्लाहीका दुर्नाम साहुकार श्याम परदेशी (श्यामकृष्ण साह कलवार) विरुद्ध उभिएका नेकपा माओवादी केन्द्रका नेता कमल (रमेश) बुढाथोकीलाई नगरवासीले मेयरका रुपमा चुनेका छन् । सर्लाहीका २९९ जनालाई १२० प्रतिशतसम्म ब्याजमा ऋण लगाएर शोषण गरेका परदेशीविरुद्ध आन्दोलनमा उत्रिएका नेता बुढाथोकी सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।
परदेशी हाल जेलमै छन् । उनलाई जेल पु-याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता बुढाथोकी हरिवन नगरपालिका मेयरमा निर्वाचित भएका हुन् । ‘मिटरब्याजी श्याम परदेशीविरुद्ध सर्लाहीदेखि काठमाडौंसम्म आन्दोलनमा उत्रिएँ । मलाई मुद्दा छोड, करोडौं रुपैयाँ दिन्छौं भनेर अफर पनि गरे । पैसामा गरिव जनताको आन्दोलन बेचिनँ,’ बुढाथोकीले भने, ‘बरु खाई नखाई अधिकार प्राप्तिको आन्दोलनमा लागेँ ।’ देशमा मूल्यको राजनीति रहेछ भन्ने महसुस भएको पनि उनले बताए ।
श्याम परदेशीले चर्को ब्याजमा पैसा लगाएर शोषण गरेको भन्दै प्रहरीले २०७६ असोज १० गते उनलाई पक्राउ गरेको थियो । बुढाथोकी लामो समय तत्कालीन एकता केन्द्रमा रहेर राजनीतिमा सक्रिय भए । माओवादीसँग २०६५ सालमा एकता गरेपछि हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य छन् ।

यसअघि एमालेका गणेशप्रसाद प्रसाईसँग झिनो मत अन्तरले उनी पराजित भएका थिए । अहिले उनै प्रसाईसँग प्रतिस्पर्धा गरेर उनी मेयरमा विजयी भएका छन् । रोचक त के छ भने माओवादीले हरिवनमा नगरपालिकामा वडा सदस्यसमेत जितेको छैन । उपाध्यक्ष सहित ११ वटै वडामा माओवादी केन्द्र शून्य छ । तर, मेयरमा भने बुढाथोकीकै लोकप्रियताले माओवादी केन्द्रले जितेको छ ।
कतिपय मतदाताले यसअघिको निर्वाचनमा मेयरमा मत नहालेको भन्दै उनीसँग माफीसमेत मागेका थिए । उल्टै चुनाव प्रचार प्रसारका बेला बुढाथोकीलाई घोडामा चढाएर विजयको शुभकामना दिए । बुढाथोकी ७ हजार २ मत ल्याएर मेयरमा विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी गणेशप्रसाद प्रसाईले ६ हजार ८४९ मत ल्याए । नेपाली काँग्रेसका मेयरका उम्मेदवार रामप्रसाद मैनालीले २ हजार ९३६ मत र एकीकृत समाजवादीका सुरेन्द्र लामाले ३ हजार ८३६ मत ल्याएका छन् ।
उपमेयरमा भने एमालेकी हरिमाया घलान ६ हजार ८५५ मत ल्याएर विजयी भएकी छन् । माओवादीकी पद्मा मोक्तानले ५ हजार ३२१ मत, काँग्रेसकी सोनीकुमारी बम्जोनले ४ हजार ९९१ मत, एकीकृत समाजवादीकी सीतादेवी थापाले २ हजार ९५६ मत ल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण