मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त

मङ्गलबार, ०२ असार २०८३, १५ : ११
मङ्गलबार, ०२ असार २०८३

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्धको अन्त्यलाई सबैभन्दा महत्त्वपूर्ण सर्तका रूपमा अघि सारेका छन् ।  उनका अनुसार पश्चिम एसियाका विभिन्न मोर्चामा जारी सङ्घर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न सकिँदैन।

“हाम्रो बुझाइमा यो सम्झौतामा दुई पक्ष छन्–एकातर्फ अमेरिका र इजरायल, अर्कोतर्फ इरान र हिजबुल्लाह”, सरकारी टेलिभिजनमा विदेशी कूटनीतिज्ञहरूसँगको ब्रिफिङमा अराघचीले थप स्पष्ट पार्दै भने, “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको लेबनानसहित सबै मोर्चामा युद्धको तत्काल र स्थायी अन्त्य हो । लेबनानमा युद्ध अन्त्य हुनु नै पूर्ण युद्ध अन्त्यको अभिन्न अङ्ग हो।”

यो टिप्पणी तेहरान र वासिङ्टनबीच फेब्रुअरी २८ मा पश्चिम एसिया युद्ध अन्त्य गर्ने उद्देश्यसहित समझदारी ज्ञापनपत्र घोषणा भएपछि आएको हो । उक्त युद्ध इरानमा भएको अमेरिका–इजरायली आक्रमणपछि फैलिएको थियो ।

इरानको सर्वोच्च नेताको हत्यापछि इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि रकेट आक्रमण गरेसँगै लेबनान मार्चको सुरुवातमा युद्धमा तानिएको थियो । त्यसपछि इजरायलले लेबनानमा सैन्य कारबाही र स्थल आक्रमण तीव्र बनाएको थियो ।

अराघचीका अनुसार इजरायली सेना कब्जा गरिएका क्षेत्रबाट पूर्ण रूपमा फिर्ता नभएसम्म युद्ध अन्त्य भएको मान्न सकिँदैन । उनले भने, “कब्जा गरिएका भूभागबाट इजरायली सेना फिर्ता नभएसम्म यो युद्ध समाप्त भएको मानिने छैन ।”

उनले इजरायलको निरन्तर सैन्य गतिविधिलाई सम्झौताको उल्लङ्घनका रूपमा व्याख्या गर्दै भने, “लेबनानमा जियोनिस्ट शासनद्वारा हुने कुनै पनि सैन्य आक्रमण वा लेबनानी भूभागमा निरन्तर कब्जा समझदारी ज्ञापनपत्रको उल्लङ्घन हुनेछ ।”

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेना आवश्यक परेसम्म लेबनान, सिरिया र गाजामा रहने बताउँदै आएका छन् । सोमबार सम्झौताको घोषणा भएलगत्तै हिजबुल्लाहले दक्षिणी लेबनानमा अगाडि बढ्न खोजिरहेका इजरायली सेनामाथि आक्रमण गरेको दाबी गरेको छ।

इरान र अमेरिकाबिच शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक सम्झौता हुने अपेक्षा गरिएको छ। विदेशमन्त्री अराघचीका अनुसार हस्ताक्षरपछि इरानको आणविक कार्यक्रम र प्रतिबन्ध फुकुवासम्बन्धी विस्तृत वार्ता सुरु हुनेछ ।

उनले भने, “सम्भवतः शुक्रबार निश्चित स्थानमा इरान र अमेरिकाबिच अन्तिम सम्झौताका लागि वार्ताको नयाँ चरण सुरु हुनेछ ।”

अराघचीका अनुसार अन्तिम सम्झौतामा आणविक गतिविधि नियन्त्रण र इरानमाथि लगाइएका प्रतिबन्ध हटाउने विषय निर्णायक रहनेछ । यसलाई पश्चिम एसियाको दीर्घकालीन शान्तिका लागि महत्त्वपूर्ण चरणका रूपमा हेरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप