सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
सारांश
- आर्थिक वर्ष २०८३/८४ का लागि सात प्रदेशले कुल २ खर्ब ९२ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन्, जुन अघिल्लो वर्षको तुलनामा करिब १.६४ प्रतिशतले बढी हो ।
- सात प्रदेशको कुल बजेट सङ्घीय बजेटको करिब १३.७४ प्रतिशत मात्र रहेको छ, जसले वित्तीय संघीयता कार्यान्वयनमा केन्द्र सरकारको एकाधिकारलाई दर्शाउँछ ।
- प्रदेशहरूले बजेट विनियोजनमा प्रशासनिक खर्च घटाएर विकास निर्माणमा जोड दिएको देखिन्छ, यद्यपि स्रोत व्यवस्थापन भने चुनौती बनेको छ ।
काठमाडौँ । सात प्रदेशले आर्थिक वर्ष २०८३/८४ को लागि २ खर्ब ९२ अर्ब ४६ लाख रुपैयाँ बराबरको बजेट ल्याएका छन् ।
सोमबार प्रदेश सरकारका आर्थिक मामिला हेर्ने मन्त्रालयले सम्बन्धित प्रदेश सभामा प्रस्तुत गरेको विवरण अनुसार सो बराबरको बजेट देखिएको हो ।
चालु आर्थिक वर्षमा प्रदेश सरकारहरूले २ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएका थिए । आगामी वर्षका लागि बजेटको आकार ४ अर्ब ७० करोड रुपैयाँले बढेको छ । यो करिब १.६४ प्रतिशत बराबरको वृद्धि हो ।
जेठ १५ गते संघ सरकारले गत आर्थिक वर्षको भन्दा ८.१६ प्रतिशत र खर्चको संशोधित अनुमानभन्दा झन्डै २५ प्रतिशत बढाएर बजेट सार्वजनिक गर्दा प्रदेश भने यस पटक निकै सङ्कुचित देखिएका छन् । विवरण अनुसार यो वर्ष तीन प्रदेशको बजेट घट्दा चार प्रदेशको बजेट बढेको छ ।
प्रदेश बजेटको तुलनात्मक विवरण (हजारमा रुपैयाँमा)
|
क्र.सं. |
प्रदेश |
आव २०८२/८३ को बजेट |
आव २०८३/८४ को बजेट |
फरक |
|
१ |
बागमती |
६७,४७,७३,२८७ |
६६,९३,३३,३३३ |
- ५४,३९,९५४ |
|
२ |
मधेस |
४६,५८,३३,५९१ |
४१,१३,८६,००० |
- ५,४४,४७,५९१ |
|
३ |
कोशी |
३५,८७,९९,००० |
४०,४४,९८,००० |
४,५६,९९,००० |
|
४ |
लुम्बिनी |
३८,९१,००,००० |
३७,३८,४५,५०० |
- १,५२,५४,५०० |
|
५ |
कर्णाली |
३२,९९,६६,५५५ |
३५,३९,८५,५४८ |
२,४०,१८,९९३ |
|
६ |
गण्डकी |
३१,९७,९९,९९९ |
३२,९९,९९,००० |
१,०१,९९,००१ |
|
७ |
सुदूरपश्चिम |
३३,४७,६०,०४८ |
३७,७०,००,००० |
४,२२,३९,९५२ |
|
कुल |
जम्मा |
२८७,३०,३२,४८० |
२९२,००,४६,३८१ |
४,७०,१३,९०१ |
सात प्रदेशको बजेट संघको १४ प्रतिशत
प्रदेश बजेटको यो चित्रले वित्तीय संघीयता कार्यान्वयनमा केन्द्र सरकारको एकाधिकार अझै कायम रहेको देखाएको छ ।
सङ्घीय सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । तर, देशका सात वटै प्रदेश सरकारहरूको कुल बजेट सङ्घीय बजेटको करिब १३.७४ प्रतिशत मात्र हुन आउँछ ।
संविधानले प्रदेशलाई कृषि, स्वास्थ्य, प्रादेशिक सडक, यातायात, खानेपानी जस्ता जनतासँग प्रत्यक्ष जोडिएका विकास निर्माण र सेवा प्रवाहको महत्त्वपूर्ण जिम्मेवारी दिएको छ । तर, सबैजसो क्षेत्रमा सङ्घीय बजेट हाबी हुँदा संघीयतामा प्रदेशको अवस्था कमजोर देखिन्छ ।
प्रदेश बजेटका दुई धार
समग्रमा अघिल्लो वर्षको तुलनामा सात वटै प्रदेशको कुल बजेट ४ अर्ब ७० करोड रुपैयाँले मात्र बढेको छ । प्रदेशहरूले ल्याएको बजेट विश्लेषण गर्दा दुई फरक प्रवृत्ति देखिएका छन् । पहिलो महत्वाकांक्षी (एम्बिसियस) बन्ने र दोस्रो यथार्थपरक (रियालिस्टिक) बजेट ल्याउने ।
पहिलो समूहमा कोशी, सुदूरपश्चिम, कर्णाली र गण्डकी छन् । आन्तरिक आय कमजोर भए पनि यी प्रदेशहरूले बजेटको आकार विस्तार गरेका छन् ।
कोशी प्रदेश
चालु आर्थिक वर्ष २०८२/८३ मा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको कोशी प्रदेशले आगामी वर्षका लागि बजेटको आकार ४ अर्ब ५६ करोड ९९ लाख रुपैयाँले विस्तार गर्दै ४० अर्ब ४४ करोड ९८ लाख पुर्याएको छ ।
यो बजेट बजेटको आकार र अंक दुवैको हिसाबले सबैभन्दा ठुलो वृद्धि हो । अघिल्लो वर्षको नगद मौज्दात र सङ्घीय अनुदानलाई मुख्य स्रोत मानेर आक्रामक नीति लिएको कोशीले बजेटको आकार झन्डै १२.७३ प्रतिशतले बढाएको हो ।
सुदूरपश्चिम प्रदेश
अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको सुदूरपश्चिमले आगामी वर्षका लागि बजेटको आकार ४ अर्ब २२ करोड ३९ लाख रुपैयाँले विस्तार गर्दै ३७ अर्ब ७० करोड पुर्याएको छ । यो कोशीपछिको सबैभन्दा ठुलो वृद्धि हो । बजेटको सिलिङको कारणले अन्तिम समयमा मात्रै बजेट ल्याएको सुदूरपश्चिमले बजेटको आकार झन्डै १२.६२ प्रतिशतले बढाएको हो ।
कर्णाली प्रदेश
अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा ३२ अर्ब ९९ करोड ६६ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको कर्णाली प्रदेशले आगामी वर्षका लागि बजेटको आकार २ अर्ब ४० करोड १८ लाख रुपैयाँले विस्तार गरेको छ । योसँगै कर्णालीको बजेट ३५ अर्ब ३९ करोड ८५ लाख पुगेको छ ।
आन्तरिक राजस्व १ अर्ब पनि नपुग्ने कमजोर अवस्थामा रहे तापनि पूर्वाधार विकासको तीव्र आवश्यकतालाई मध्यनजर गर्दै कर्णालीले बजेटको आकार झन्डै ७.२७ प्रतिशतले बढाएको देखिन्छ ।
गण्डकी प्रदेश
अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको गण्डकी प्रदेशले आगामी वर्षका लागि बजेटको आकार १ अर्ब १ करोड ९९ लाख रुपैयाँले विस्तार गर्दै ३२ अर्ब ९९ करोड ९९ लाख पुर्याएको छ । सात वटै प्रदेशमध्ये सबैभन्दा सानो आकारको बजेट रहेको गण्डकीले चालु आर्थिक वर्षको तुलनामा सामान्य वृद्धि गर्दै बजेटको आकार झन्डै ३.१८ प्रतिशतले बढाएको हो ।
यस पटक मधेस, बागमती र लुम्बिनी प्रदेश भने यथार्थपरक बन्ने प्रयास गरेका छन् । स्रोत सुनिश्चित नभईकनै पपुलिस्ट कार्यक्रम राखेर बजेटको आकार मात्र ठुलो देखाउँदा कार्यान्वयन असफल हुने अवस्थालाई यी प्रदेशले चिर्न खोजेको देखिन्छ ।
सबैभन्दा धेरै मधेसले ५ अर्ब ४४ करोडले बजेट घटाएको छ । स्रोतको अभाव र विगतको सिकाइलाई आत्मसात् गर्दै मधेसले यथार्थपरक बजेट ल्याउने प्रयास गरेको देखिन्छ । त्यसैगरी लुम्बिनीले १ अर्ब ५२ करोडले बजेट घटाउँदा, देशकै धनी र सबैभन्दा ठुलो अर्थतन्त्र भएको बागमती प्रदेशले समेत ५४ करोड घटाएर ६६ अर्ब ९३ करोडको बजेट ल्याएको छ ।
मधेस प्रदेश
अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको मधेस प्रदेशले आगामी वर्षका लागि बजेटको आकार ५ अर्ब ४४ करोड ४७ लाख रुपैयाँले खुम्च्याउँदै ४१ अर्ब १३ करोड ८६ लाखमा सीमित गरेको छ । यो सात वटै प्रदेशमध्ये गरिएको सबैभन्दा ठुलो कटौती हो । आन्तरिक स्रोत नजुटेको र विगतमा महत्त्वाकाङ्क्षी बजेट ल्याउँदा कार्यान्वयनमा समस्या देखिएको यथार्थलाई आत्मसात् गर्दै मधेसले बजेटको आकार झन्डै ११.६८ प्रतिशतले घटाएको हो ।
लुम्बिनी प्रदेश
अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको लुम्बिनी प्रदेशले आगामी वर्षका लागि बजेटको आकार १ अर्ब ५२ करोड ५४ लाख रुपैयाँले घटाउँदै ३७ अर्ब ३८ करोड ४५ लाखमा सीमित गरेको छ । अर्थतन्त्रमा रहेको शिथिलता र आन्तरिक राजस्वको लक्ष्य पूरा नहुने अवस्थालाई यथार्थपरक ढङ्गले मूल्याङ्कन गर्दै लुम्बिनीले बजेटको आकार झन्डै ३.९२ प्रतिशतले घटाएको हो ।
बागमती प्रदेश
अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको बागमती प्रदेशले आगामी वर्षका लागि बजेटको आकार ५४ करोड ३९ लाख रुपैयाँले घटाउँदै ६६ अर्ब ९३ करोड ३३ लाखमा सीमित गरेको छ । देशकै सबैभन्दा ठुलो अर्थतन्त्र र बजेट भए तापनि चालु खर्चमा निर्मम कटौती गर्दै बागमतीले अघिल्लो वर्षको तुलनामा बजेटको आकार झन्डै ०.८० प्रतिशतले घटाएको हो । बजेट घटे पनि यो सातै प्रदेशमध्ये सबैभन्दा ठुलो बजेट हो ।
प्रशासनिक खर्चमा कैँची, विकास निर्माणमा जोड
सबै प्रदेशले बजेट विनियोजन हेर्दा अधिकांश प्रदेश सरकारहरूले यो आलोचनालाई सम्बोधन गर्ने इमानदार प्रयास गरेको देखिन्छ ।
बागमती प्रदेशले यस पटक चालु खर्चमा निर्मम तरिकाले कैँची चलाउँदै अघिल्लो वर्षको तुलनामा ३ अर्ब ८ करोडले चालु खर्च घटाएको छ । कोशी प्रदेशले पनि चालु खर्चलाई ४ अर्ब ७० करोडले घटाएको छ । चालुतर्फ जोगाएको यो रकमलाई प्रदेशहरूले सिधै विकास निर्माण अर्थात् पुँजीगत खर्चमा खन्याएका छन् । फलस्वरूप, बागमती र कोशीले कुल बजेटको करिब ६५ प्रतिशतसम्म हिस्सा पुँजीगत शीर्षकमा छुट्याएको छ ।
विनियोजन जतिसुकै आकर्षक भए पनि त्यसलाई कार्यान्वयन गर्ने स्रोतको व्यवस्थापन प्रदेशहरूका लागि सधैँ टाउको दुखाइको विषय बन्दै आएको छ ।
बजेट अनुसार प्रदेशहरूले आगामी सङ्घीय अनुदानबापत १०९ अर्ब ९५ करोड ४८ लाख रुपैयाँ, गत वर्ष खर्च नभएको मौज्दातबापत ४५ अर्ब ७७ करोड रुपैयाँ सर्ने अनुमान गर्दा बाँकी १ खर्ब ३६ अर्ब मात्रै राजस्व बाँडफाँट र आन्तरिक स्रोतबाट पूर्ति हुने अवस्था देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
-
ट्रम्पको समर्थन दर ३६ प्रतिशतमा उक्लियो
-
इरानसँग वार्ताको दोस्रो चरण पहिलो भन्दा सजिलो हुन्छः ट्रम्प
-
विवादास्पद इसारामा भीएआर रेफ्रीलाई फिफाद्वारा सफाइ
-
पाकिस्तानका लागि इतिहास रच्दै यी इराकी खेलाडी
-
त्रिविका एक हजार ६ सय प्राध्यापक र कर्मचारी दुई महिनादेखि आन्दाेलनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण