धरानमा हर्क साम्पाङले जितेपछि खानेपानी पाउने आशा
खानेपानी समस्या समाधान गर्ने मुख्य एजेण्डा लिएर चुनावमा होमिएका हर्कराज राई (हर्क साम्पाङ)ले चुनाव जितेपछि भने अब खानेपानी पाउने आशामा धरानका मतदाता देखिएका छन् । राजनीतिक दलका नेताहरुले पटकपटक खानेपानीकै मुद्दा लिएर चुनाव जिते । तर, यसको स्थायी समाधान गर्न सकेनन् । खानेपानीको स्रोत व्यवस्थापन तथा उपलब्ध स्रोतको सही परिचालन हुन नसकेको साम्पाङको भनाइ थियो । उक्त व्यवस्थापन आफूले चुनाव जितेर गर्ने उनको प्रतिबद्धता पनि थियो । तर, के अब खानेपानी समस्या समाधान गर्न उनी सक्छन् त ? यही प्रश्नका बीच धरानका जनताले उनलाई आशाको नजरले हेरिरहेका छन् ।
धरानको २० वटै वडामा खानेपानीको समस्या छ । लिफ्टीङ नहुने तथा पानी आए पनि मोटर लगाएर तान्नुपर्ने समस्या छ । आधा घण्टा पनि पानी नआउने र जारको पानी किनेर खानु पर्ने बाध्यता छ । पहुँच हुनेको धारामा पानी लगातार आउने जस्ता समस्या पनि धरानमा थियो । ‘अब केही हदसम्म समस्याको समाधान हुन्छ होला जस्तो लाग्छ । काम गर्ने वातावरण कस्तो हुन्छ त्यसमा भर पर्छ’, धरानको वडा नम्बर १० का अशेष खड्काले भने, ‘जनताको लाजले पनि हर्क साम्पाङले काम गर्छन् जस्तो लाग्छ । अरुजस्तो चुप लागेर बस्दैनन् होला जस्तो लाग्छ ।’
यसअघिका स्थानीय सरकारले पाइप त घरघरमा पुर्याएका थिए । तर, पानी भने पुगेन । ‘हामीलाई घरघरमा पाइप र धाराको टुटी पुर्याएर मात्रै त हुँदैन थियो नि,’ खड्का भन्छन्, ‘त्यहाँ पानी आउनु पर्यो होइन र ? त्यही काँग्रेस, त्यही एमाले, त्यही माओवादीभन्दा केही फरक हुन्छ होला जस्तो लागेको छ ।’
धरान १७ का अयुव राई पनि राजनीतिक पार्टीका नेताहरुले विभेदपूर्ण ढंगले पानी वितरण गरेको र निरीह जनतालाई मारमा पारेका कारण जनताले यस पटक नेतृत्व परिवर्तन गरेको बताउँछन् । ‘धरानमा जनतालाई पुग्ने पानी यहीँ प्रसस्त छ । राजनीतिक पार्टीका नेताहरुले निकटकालाई पानी दिने, केही ठाउँमा धेरै दिने केही ठाउँमा नदिने खालको अवस्था भयो,’ अयुवले भने, ‘इमान्दारीता भएन । ट्यांकरमा कालोबजारी गरेर पानी बेच्ने काम पनि भयो ।’ अब त्यस्तो नहुनेमा उनी पनि आशावादी छन् ।
धरान १७ का नवलबहादुर राई ७७ वर्षका भए । उनले ०७४ सालमा तारा सुब्बालाई मत हाले । ०७६ मा तिलक राईलाई पनि मत हाले । तर, खानेपानी समस्या कहिल्यै समाधान भएन । त्यसपछि विकल्पमा लागेको उनले बताए । भूतपूर्व भारतीय आर्मीसमेत रहेका उनी अब हर्क साम्पाङले पनि राम्रो काम नगरे जनताले नछोड्ने बताउँछन् ।
‘विकास निर्माणको लागि सबै पार्टीका नेतालाई हर्कले बोलाउनु पर्यो । हर्कले बोलाएको ठाउँमा आएन भने फेरि अर्को तरिकाले खबरदारी गर्नुपर्छ,’ उनले भने, ‘हर्क सही ठाउँमा पुगेको छ । सही तरिकाले नै काम गर्नुपर्छ । काम नगरे हर्कलाई पनि अर्को पटक दिँदैनन् नि । पानी र बाटो बनाइ दिनुपर्यो हामीलाई ।’
धरान ११ का राजेश खिम्दुङ पनि अब खानेपानी लगायतका केही समस्या हल हुनेमा ढुक्क छन् । हर्क साम्पाङलाई चुनाव जिताउने अभियानमा हिँडेका उनी आफूहरुसँग भिजन भएको दाबी गर्छन् । तर, कार्यान्वयन गर्दा हर्क साम्पाङले पनि अक्कल लगाउनु पर्ने उनको सुझाव छ । ‘हामीसँग भिजन पनि छ । हर्क साम्पाङले अब कसरी समाधान गर्न सक्छु भन्ने विषयमा चाहिं अक्कल लगाएर काम गर्नुपर्यो । असम्भव भन्ने चिज केही छैन,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा