प्रेरक प्रसङ्ग : दुःख सुख आफ्नै हातमा छ

person explore access_timeजेठ ११, २०७९ chat_bubble_outline0

प्रायः हामी अरूबाट मान, सम्मान चाहन्छौँ । सबैले आदर गरून्, मीठो बोलून्, नरम व्यवहार गरून् भन्ने चाहना सबैको हुन्छ तर अरूलाई पनि त्यस्तै गर्नुपर्छ भन्ने बिर्सन्छौँ र नानाभाँतीका दुःख पाइरहेका हुन्छौँ । वास्तवमा संसार पैँचोबाहेक केही होइन, जहाँ जे दिइएको हुन्छ त्यही नै फिर्ता भइरहेको हुन्छ । जे रोपिएको छ त्यही फल्ने प्रकृतिकै नियम हो । घृणा र तिरस्कार रोपेर स्नेह र सद्भाव खोज्नु बलुवामा तेल खोज्नु जस्तै हो । स्नेह र सद्भाव रोपेका भए त्यही पाउँथ्यौँ । घृणा र तिरस्कार रोप्यौँ त्यही पायौँ । 


कुरा त्यतिबेलाको हो जतिबेला भारतमा ब्रिटिस शासन थियो । एक पटक भारीय विद्वान् ईश्वरचन्द्र विद्यासागर काम विशेषले प्रेसिडेन्सी कलेजका अङ्ग्रेज प्रोफेसर केरलाई भेट्न गएका थिए । विद्यासागरको लवाइखवाइ साधारण थियो । प्रायः सामान्य धोतीकुर्तामा हिँड्थे । त्यसमाथि संस्कृत विद्यालयका प्राचार्य अङ्ग्रेज प्रोफेसरले किन भाउ दिन्थे र । उनी पुग्दा केर कुर्सीमा बसेर अखबार पढ्दै थिए तर खुट्टा भने टेबुलमाथि थियो । विद्यासागरलाई देखेर पनि उनले न बस भने न आफ्नो बसाइ बदले । उल्टै नदेखेजस्तो गरी अखबार पढिरहे । उनको व्यवहार विद्यासागरलाई मन परेन । भित्रभित्रै आफू निकै अपमानित भएको महसुस गरे तर मुखले भने केही भनेनन् । त्यतातिर ध्यानै नदिए जस्तो गरी बसे ।



केही दिनपछि त्यस्तै काम परेर केर विद्यासागरलाई भेट्न गएका रहेछन् । उनलाई देख्ने बित्तिकै विद्यासागरले पनि त्यस्तै गरे । हत्तपत्त चप्पलसहितको खुट्टा टेबुलमा राखेर अखबार पढेजस्तो गर्न लागे । न देखेजस्तो गरे न बसाइ नै बदले । यहाँसम्म कि बस्नसम्म पनि भनेनन् । उनको व्यवहार केरले सहन सकेनन् र तत्कालै शिक्षा परिषद्का सचिव डा. मुआट समक्ष गएर रिसाउँदै भने–



‘सर ! विद्यासागरलाई कारबाही गरी तत्कालै पदबाट हटाउन आग्रह गर्छु ।’

उनको कुरा सुनेर मुआटले आश्चर्य मान्दै भने–

‘किन, के भयो र ? पहिले कारण त बताउनुस् ।’

‘के मात्रै गरेनन् भन्नुस् न ।’

‘त्यही त भन्या, के गरे ?’

‘गर्नुसम्म गरे सर ! गर्नुसम्म गरे । अभद्र व्यवहार गरे, अपमान गरे । यो अपमान मेरो मात्र होइन सबै अङ्ग्रेजहरूप्रतिको हो ।’

‘कसरी ?’

त्यसपछि केरले विद्यासागरले आफूमाथि गरेको व्यवहारको बेलिबिस्तार लगाए । उनको कुरा सुनेर मुआटलाई पनि राम्रो लागेन । उनले तत्कालै विद्यासागरलाई बोलाएर सोधे–

‘तपाईंले केरमाथि अभद्र व्यवहार गर्नुभयो भन्ने सुनियो, भन्नुस् किन त्यस्तो गर्नुभयो ? तत्कालै चित्त बुझ्दो जबाफ दिनुहुनेछ भन्ने आशा गरेको छु । होइन भने कडा कारबाही गर्न बाध्य हुनेछु ।’

सचिवको कुरा सुनेपछि विद्यासागरले मुसुक्क हाँस्दै भने–

‘सचिवज्यू ! मेरो आशय उहाँप्रति अभद्र व्यवहार गर्ने पनि थिएन र उहाँको चित्त दुखाउनु थिएन । न उहाँप्रति कुनै वैरभाव नै छ ।’

‘अघिल्तिर टेबुलमाथि खुट्टा राखेर अभद्रता प्रस्तुत गर्नुभएको त हो नि ।’

‘त्यो त हो ।’

‘किन त्यस्तो गर्नुभयो ? यस्तो काम अभद्र हो भन्ने थाहा थिएन ?’

‘थाहा त थियो तर... ।’

‘के तर ?’

‘यही कि हामी भारतीयहरू युरोपियनहरूसित शिष्टाचार सिक्छौँ ।’

‘यस्तो पनि शिष्टाचार हुन्छ ? कसले सिकायो यस्तो शिष्टाचार ?’

‘उहाँबाटै सिकेको हुँ । उहाँजस्ता कलेजका प्रिन्सिपलले गरेको व्यवहार पक्कै सही हुनुपर्छ भन्ने लागेर त्यसो गरेको हुँ ।’

‘होइन के भन्दै हुनुहुन्छ ? उहाँले कहिले सिकाउनुभयो यस्तो शिष्टाचार ?’

‘केही दिनअघि उहाँको कार्यकक्षमा गएको थिएँ । त्यतिबेला उहाँ टुबुलमा खुट्टा राखेर अखबार पढ्दै हुनुहुन्थ्यो । मलाई देखेर पनि नदेखेजस्तो गर्नुभयो । त्यसपछि मलार्ई पनि युरोपीय शिष्टाचार यस्तै होला जस्तो लाग्यो र त्यस्तै गरेको हुँ ।’

उनको कुरा सुनेर सचिव महोदयले रातोपिरो हुँदै घोसेमुन्टो लगाए । त्यस दिनदेखि विद्यासागरसित आँखा जुधाउने हिम्मत न उनले गर्न सके न केरले नै ।

यो एउटा उदाहरण हो । वास्तममा संसार त्यस्तो ऐना हो, जहाँ आफू जस्तो छ त्यस्तै देखिन्छ ।

संसार आफैँमा केही पनि होइन । न राम्रो छ न नराम्रो नै । ऊ त यस्तो सहृदयी हो, जोजस्तो छ त्यस्तै बनिदिन्छ । सज्जनका निम्ति त्यही संसार सज्जन बनेर सुख दिन्छ दुर्जनका निम्ति त्यही संसार दुर्जन बनेर दुःख दिन्छ ।

विश्वरूपको दर्शन अर्जुनले पनि पाएका थिए दुर्योधनले पनि पाएका थिए तर अर्जुन सज्जन थिए कृष्णको विश्वरूपको दर्शनले जीवन बदल्ने काम ग¥यो । दुर्योधन दुर्जन थिए सोही विश्वरूपको दर्शन जीवन नाशक सूत्र बन्न पुग्यो । विश्वरूप त एउटै थियो तर पात्र अनुसार फल भने फरक बन्न आयो । 

यो त दृष्टान्त मात्र हो खोज्दै गए संसार हरेक कुरामा यही नियमले काम गरेको हुन्छ । दुराचारी भएकाले रावणका लागि तिनै रामको भेट काल बन्न पुग्यो । सदाचारी भएकाले उनकै भाइ विभीषणका निम्ति राजा बन्ने कारक बन्यो । दुराचारी भएकाले कंशका निम्ति आफ्नै भाञ्जा कृष्ण काल बनेर प्रस्तुत भए, सदाचारी भएकाले उनकै बाबु उग्रसेनका निम्ति भाग्य विधाता बनेर देखा परे । दुराचारी भएकै कारण नरसिंह भगवान् हिरण्यकशिपुका निम्ति काल बन्न पुगे । सदाचारी भएकाले उनकै छोरा प्रह्लादलाई काखमा राखेर चाट् लागे । 

त्यसैले संसारमा दुःख सुख आफ्नै हातमा छ । दुःख पाउने भए केही गर्नै पर्दैन मात्र अरूलाई दुःख दिए पुग्छ । जेजे गर्नुपर्ने त्यसैले गरिदिन्छ । होइन सुख पाउने भए अरूलाई दुःख दिनु हुँदैन, चाहेको त्यसैले पूरा गरिदिन्छ । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।