निबन्ध

म पनि छोरीकी आमा...

person explore access_timeजेठ २१, २०७९ chat_bubble_outline0

म एक नारी, म एक छोरी, म एक आमा, म अर्धाङ्गनी, म बुहारी अनि मेरो अनेकौँ अनेक परिचय र पहिचान । नारी भएर जन्म लिन पाउनु अनि नारीको रूपमा अनेकौँ उपमाको पगरी शीरमा सजाउन पाउनु पक्कै पनि चानचुने कुरा होइन, यो विशेष नै हो । एउटा नारीले सन्तानलाई जन्म दिन पाउनु अनि त्यसपछि प्राप्त हुने आमाको उपमाले दिने स्वर्णिम आनन्द सायदै अन्य कुनै अनुभव, अनुभूति अनि सुखमा पाइन्छ होला । म पनि एक नारी भएको हिसाबले यो सबै अनुभूति गर्ने अवसरहरू पाइरहेको छु । अझै पनि धेरै कुराहरूको आभास गर्न बाँकी नै होला, अझै धेरै नयाँ चुनौतीहरू पनि मेरो सामु आउनै बाँकी नै होला । 


आमा हुनु आफैमा स्वर्णिम अनुभूति हो । त्यसमा पनि छोरीलाई सन्तानको रूपमा पाउनु भाग्यको कुरा जस्तो लाग्थ्यो मलाई, अझै पनि लाग्छ । धेरै वर्षको लामोको पर्खाईपछि जब मलाई गर्भवती छु भन्ने आभास भयो, तब मेरो मनमा खुसीको सीमा नै रहेन । पुरै शरीर उल्लासमय भएर रमाउन थाल्यो, झुम्न थाल्यो । म आफै तरंगित भएँ, रोमाञ्चित भएँ । 



जब बिस्तारै समय व्यतीत हुँदै गयो, एउटा नवजात प्राण मेरो शरीरभित्र चल्न थाल्यो । प्राण भर्दै, घरी बुर्कुसी मार्न थाल्यो, घरी मलाई मायालु पदचापले हिर्काउन लाग्यो । अनि मलाई बिस्तारै खुसीसँगै आउने दिनहरूको कल्पना अनि छटपटीले पिरोल्न लाग्यो । अझै पनि पिरोलिरहन्छ मन, अझै पनि थकथकाईरहन्छ मस्तिष्कहरू । पहिलो सन्तान छोरा छोरी जे भएपनि म मात्र होइन, सबैजना उत्साहित थियौँ, अझै पनि छौँ उत्तिकै सन्तुष्ट, उत्तिकै सौहार्द । 



तर जब म प्रसवको लागि अस्पतालको शैय्यामा थिएँ, मलाई अजीब किसिमको ख्यालहरूले मन ब्याकुल बनाउन लाग्यो । खै कस्तो बेचैनीले मन हतास बनाउन लाग्यो । मेरो सन्तान छोरी भएर जन्मियो भने ? ओहो यो अकल्पनीय संसारको मानवरूपी दानवहरूसँग कसरी संघर्ष गरेर जीवन धान्न कसरी पो सक्लिन् ? संघर्ष गरी जीवन बचाई युवती भईरहँदा कसरी बच्ली गिद्धे नजरहरूबाट ? समाज परिवार आफन्तहरूको इज्जत प्रतिष्ठा भन्दै आफैलाई आहुति दिई हजारौँ चोटहरू शरीर मन र मस्तिष्कमा थापेर कसरी बाँच्न सक्ली ? दाइजो, धन सम्पत्तिको नाममा दिईने असह्य पीडाहरू कसरी सहन सक्ली ? 

फेरि अर्को मनले सोच्छु, मेरो सन्तान छोरा (पुरूष) भएर जन्मियो भने मैले उसलाई यो कुसंस्कार विरूद्ध खडा गर्न सकुँला त ? एउटा नारीलाई हेरिरहँदा मलाई सम्झ, भगवान रूपी आमालाई सम्झ भनी संस्कार दिन सकुँला त ? नारी मात्र उत्तेजनाको पात्र होइन, दुई गोडा बिचको वासना मात्र होइन भनी सिकाउन सकुँला त ? केही सेकेण्डको रिस र आवेग पोख्ने भाँडो मात्र होइन नारी भनी शिक्षा दिन सकुँला त ? समाज बदल्ने कदम आफैबाट सुरूवात गर्नुपर्छ भनी सम्झाउन सकुँला त ? 

यस्ता अनेकौँ छालहरूसँग जुध्दाजुध्दै शल्यक्रिया गर्ने मेरो पालो आइसकेको रहेछ । जब अपरेशन कक्षमा मीठो रोदन गुन्जियो, सर्वप्रथम मैले अनायासै मेरो प्राण, मेरो मुटुको टुक्रा के जन्मियो भनेर हेरें सायद जिज्ञासामा अर्धचेतमा समेत । 

यो सबै सशंकित विचार, यो बिना कारणको तनाव मेरो मानसपटलमा त्यसै आएको अथवा अनायसै उब्जिएको भने पक्कै होइन । प्रत्येक दिन समाचारपत्रको पानाहरू पल्टाउँदै गर्दा प्रत्येक पानामा महिला हिंसा त कहिले बलात्कारको समाचार पढ्नु पर्दा मलाई तिनै नारी तिनै बालिकाको चित्कार मन मस्तिष्कमा छरपस्ट भइरहेझैँ लाग्छ । मलाई नै हात खुट्टा बजारी बजारी सहयोग अनि दयाको भिख मागिरहेझैँ लाग्छ । म निरीह टाढाबाट टुलुटुलु हेरिरहेझैँ लाग्छ । ग्लानी क्षोभ र खै केही भावशून्य हत्केलाहरू मस्तिष्कहरू लडाई गरिरहेझैँ लाग्छ । 

मेरै देशमा प्रतिदिन ६ भन्दा बढी महिला एवम् बालिका बलात्कृत भएको घटना सार्वजनिक भइरहन्छ । कहिले आफ्नो सहकर्मी साथीहरूबाट यौन हिंसाको सिकार भएको त कहिले आफ्नो बुवा दाजु एवम् हजुरबुवाबाट एउटी अबोध बालिका बलात्कृत भएको घटनाले मेरो मस्तिष्क अवाक हुन्छ । एकदम सानी बालिकादेखि ७०÷८० वर्षकी हजुरआमासम्म बलात्कृत भएका क्रूर घटना सार्वजनिक भएका छन् । महिलाहरू मात्र भोग्य वस्तु मात्रै हो भन्ने कस्तो नरपिसाच होला मानव मस्तिष्क ?

आजकल झन मलाई र मजस्तै लाखौँ आमाहरूको मनमा अन्धकार मडारिरहेको होला, आफ्ना छोरीहरूको चिन्ताले, आफ्ना छोराहरूको पनि चिन्ताले । घरको गेटमा चाबी नलगाई छोरीलाई एक्लै कोठामा छोड्दा समेत अनेक किसिमका भयानक दृश्यहरू चिन्तनमा आउन थाल्छ । स्कूलबाट घर नआउँदासम्म पनि मनमनै अनेकौँ चिन्ताहरूले मन सन्त्रस्त बनिरहन्छ । दिनभरको व्यस्त जीवनमा अभ्यस्त हुनैपर्ने, घर गएपछि छोरीलाई राम्ररी ननियाली मन सन्तोष हुनै मान्दैन आजकल । बलिष्ठ र कुरूप नङ्ग्रासहितको हातहरूको आकृतिले छोरीलाई घेरिरहेझैँ लाग्ने भयानक कल्पनाका दृश्यहरू मानसपटलमा घुमिरहन्छ । डर त्रास देखाई केही गर्छ कि, गर्यो कि ? भनी हरबखत चिन्ताले मन मस्तिष्क खाइरहन्छ । छोरीको सुनिश्चित भविष्यको चिन्ताले मन अशान्त भइरहन्छ । 

के छ तथ्याङ्कमा ?

सन् २०२१ को तथ्याङ्कअनुसार नेपालमा विगत १० वर्षमा १७ हजार ७ सय ९० महिला तथा बालिका बलात्कारको घटना सार्वजनिक भएका छन्, यो तथ्याङ्क प्रत्येक वर्ष २० प्रतिशतका दरले वृद्धि भइरहेको छ । प्रहरीको तथ्याङ्कअनुसार विगत पाँच वर्षमा नेपालमा ८ हजार भन्दा बढी बलात्कार र ३ हजार एक सय भन्दा बढी बलात्कारको प्रयासका घटना भएका छन् । त्यस्तै, झन्डै ६० हजार घरेलु हिंसाका घटना दर्ता भएको तथ्याङ्क सार्वजनिक गरेको थियो २०२१ मा । 

सशस्त्र द्वन्द्वकालमा भएको महिलाहरूको गैरन्यायिक हत्या र पछिल्लो समय निर्मला पन्तदेखि भागरथी भट्टसम्मका घटनामा दोषीलाई के सजाय हुँदैछ भन्नुभन्दा पनि दोषी नै पक्राउ परेका छैनन् । पक्राउ भएपनि हजार रूपैँया धरौटीमा छोडिनु कस्तो बिडम्बना हो ? महिलाहरू निरन्तर रूपमा पीडित हुने, यौन हिंसा र बलात्कारपछि महिलाहरूको हत्या गरिने र अपराध गर्ने व्यक्तिहरू कानुनसँग पनि नडराउने परिस्थिति कहिलेसम्म रहिरहने हो ?  

नेपाल सरकारले लैङ्गिक समानता कायम गर्न केही नेपाल ऐन संशोधन गर्ने ऐन २०६३, नागरिकता ऐन, २०६३ पारित गरेको, वैदेशिक रोजगारी ऐन, २०६४, मानव बेचबिखन तथा ओसार पसार (नियन्त्रण) ऐन, २०६४ लगायतका कानूनहरु पारित गरेको छ । नेपालको सन्दर्भमा जबरजस्ती करणीसम्बन्धी कानुनी व्यवस्थालाई हेर्दा मुलुकी अपराध संहिता, २०७४ ले १२ प्रकारका अपराध गर्नेलाई जन्मकैदको सजाय व्यवस्था गरेको छ । 

संहिताको दफा ४१ अनुसार क्रुर यातना दिई वा निर्ममतापूर्वक ज्यान मारेको, वायुयान अपहरण गरी वा वायुयान विस्फोट गरी ज्यान मारेको, अपहरण गरी वा शरीर बन्धक लिर्ई ज्यान मारेको, सार्वजनिक रूपमा प्रयोग हुने पेय पदार्थ वा खाद्य पदार्थमा विष हाली ज्यान मारेको, कुनै जात, जाति वा सम्प्रदायको अस्तित्व नै लोप गर्ने जाति हत्या गरेको वा गर्ने उद्देश्यले कसुर गरेको र जबरजस्ती करणी गरी ज्यान मारेको कसुरमा कसुरदार जीवित रहेसम्म जन्मकैद हुने व्यवस्था गरेको छ । यो नेपालको सन्दर्भमा सबैभन्दा अधिकतम सजाय हो । 

मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १० वर्षभन्दा कम उमेरकी बालिकालाई जबरजस्ती करणी गरे १६ वर्षदेखि २० वर्षसम्म कैद, १० वर्ष वा सोभन्दा बढी र १४ वर्षभन्दा कम उमेरकी बालिका भए १४ वर्षदेखि १६ वर्षसम्म कैद, १४ वर्ष वा सोभन्दा बढी र १६ वर्षभन्दा कम उमेरकी बालिका भए १२ वर्षदेखि १४ वर्षसम्म कैद, १६ वर्ष वा सोभन्दा बढी र १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद र १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिला भए ७ वर्षदेखि १० वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ । 

संहिताकै दफा ४४ ले पछिल्लो पटक कुनै फौजदारी कसुर गरेको ५ वर्ष नवित्दै सोही कसुर दोह्र्याएमा त्यस्तो पटके कसुरदारलाई निजले पछिल्लो पटक गरेको कसुरमा हुने सजायको दोब्बर बढाई सजायको व्यवस्था गरेको छ । यसको अर्थ जबरजस्ती करणीको सजाय भुक्तान गरी आएको ५ वर्ष नवित्दै निज कसुरदारले उक्त कसुर गरेमा उल्लेखित सजायको दोब्बर सजाय हुने गर्दछ । कानुनी रूपमा मुलुकी अपराध संहिताले बलात्कार गरी हत्या गर्नेलाई बाँचुञ्जेल काराबासको व्यवस्था गरेको छ ।

यति कठोर कानून प्रणाली एवम् सजायको व्यवस्था निर्माण गरिँदा समेत अपराधीलाई अनुसन्धान गर्ने व्यक्ति र न्यायसँग कत्ति पनि डर नभएको परिस्थिति दोहोरिँदै आइरहेको छ । यसको कारण के हो त ? नेपालमा न्यायप्रशासनको कमजोर स्थिति र फितलो अनुसन्धानको पद्धति नै हो जस्तो लाग्छ । नेपालमा न्यायप्रशासनको कार्यान्वयन कत्तिको भरपर्दो र विश्वसनीय छ भन्ने कुरा निर्मला पन्त प्रकरणले छर्लङ्ग गरेको छ । 

अध्ययन गर्दै जाने हो भने अनुसन्धान अधिकृत र अभियोजनकर्ता मिलेर नक्कली अभियुक्त खडा गरी मुद्दा चलाइएका कैयौं दृष्टान्तहरू भेटिन सक्दछन् । प्रमाणभन्दा पनि आन्दोलनको रापताप र पक्षको पहुँच हेरेर फैसला गर्नुपर्ने परिस्थिति निर्माण हुँदै गएको छ, जुन फौजदारी न्याय निरूपणका लागि एकदमै दुःखदायी कुरा हो । 

आक्रोश र आवेगले मात्र पनि पीडितले न्याय र वास्तविक पीडकले सजाय पाउने सम्भावना नहुने हुनाले सशक्त अनुसन्धान र अभियोजनमा ध्यान दिनु जरुरी छ ।  बलात्कार गर्नेलाई हदैसम्मको कारबाही गर्ने विषयमा कुनै कसर बाँकी राखिनु हुन्न । अनुसन्धान र अभियोजन प्रणाली कत्तिको विकसित र परिष्कृत छ भन्ने विषयमा सोचिनुपर्छ । १० वर्षमुनिका बालिका र ७० वर्षीय वृद्धहरूको बलात्कारको विषयमा त्यस्तो अपराध गर्नेलाई मुलुकी फौजदारी संहिता संशोधन गरेर बाँचुञ्जेल काराबासको व्यवस्था गरिनु पर्दछ ।

लेखक अधिवक्ता हुन्

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।