बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तीन छोरी हुर्काउने यात्रा कस्तो र कति लामो हुन सक्छ ? एक लेखिकाको अनुभव

आइतबार, २२ जेठ २०७९, १५ : ४९
आइतबार, २२ जेठ २०७९

नताशा बधवार

म आफ्ना आमाबुवाकी एक्ली छोरी हुँ । म दुई दाजुभाइसँग हुर्कें र बाल्यकालमा मलाई एक बहिनीको असाध्यै चाहना हुन्थ्यो । तर हुर्किएपछि त मलाई चिट्ठा नै पर्यो, म तीन छोरीकी आमा बनेँ । यो मेरो लागि जादुयी यात्रा जस्तै हो ।

मेरो वरपरका मानिसहरूजस्तै मेरो बच्चाहरूलाई हुर्काउनेबारे सुरुमा धेरै गलत धारणाहरू थिए । समय बित्दै गयो, ती सबै आत्मविश्वास र ज्ञान, जुन मैले प्रकृतिबाट उपहारको रूपमा पाएको जस्तो लाग्थ्यो, बिस्तारै हराउँदै गए । अहिले म पहिलेभन्दा हल्का महसुस गर्छु र सायद पहिले भन्दा धेरै समझदार भएकी छु ।

तर यतिबेला मैले जे पाठ सिकेको छु, ती कुनै ठोस नतिजासम्म पुग्दैनन्, ती एक–अर्कासँग भिड्छन् पनि र सधैँ प्रभावकारी पनि हुँदैनन् । यो सबै बालबालिका जस्तै हुन्, जोसँग म आफैँले हरेक चिज सिकेकी छु, निजी अनुभवमार्फत् ।

जब म कुनै अन्यौलमा हुन्छु, म आफैलाई केही समयको लागि शान्त रहन भन्छु । जस्तो कि एक चर्चित गीत पनि छ– अभी तो पार्टी सुरु हुई है ।

विवाहपछि तीन सन्तान हुनेछन्, हाम्रो त्यस्तो कुनै योजना थिएन । तपाईं भन्न सक्नुहुन्छ कि यो हाम्रो भाग्यमा नै  थियो । हामी कस्तो खालका मानिस हौँ भन्ने तपाईंहरुलाई लाग्छ भने म कुनै आपत्तिबिना हामीबारे भन्छौँ । व्यवहारिक त हामी कुनै पनि हालतमा छैनौँ । म पहिले नै भन्न चाहन्छु कि हामीले कुनै पनि कुरा सोचेर बुझेर गर्दैनौँ । आफ्नो निर्णय पनि यसरी लिन्छौँ कि समग्रमा तपाईंहरुले हामीलाई मूर्ख नै हो भन्न सक्नुहुन्छ । 

सुरुवाती वर्षमा, जब हाम्रा छोरीहरु असाध्यै ‘क्युट’ थिए तर असाध्यै चकचक गर्दथे, त्यतिबेला हाम्रा धेरैजसो साथी हामीबाट टाढै भए । हाम्रा घरमा ज्येष्ठ सदस्य र आफन्त, जस्तै हाम्रा काकी, फुपू, हजुरआमाले हाम्रो जीवनको खालीपन हटाउन एक तरिकाले हामीलाई ग्रहण गरे र हाम्रो जीवनमा विशेष चासो लिन थाले ।

त्यतिबेला हामीलाई यो कुनै विशेष फाइदाको सम्झौता हो जस्तो लागेको थिएन । तर समय बित्दै जाँदा मैले के सिकेको छु भने जब तपाईं पानीको छालविरुद्ध हात–खुट्टा चलाउनुहुन्छ भने तपाईं डुब्न थाल्नुहुन्छ । यो यात्रामा हामीले धेरै कुरा बिर्सनुपर्ने हुन्छ ।

आफ्नो हात र खुट्टा खोलामा फ्याँक्नुहुन्छ, तपाईं डुब्न थाल्नुहुन्छ। यो यात्रामा हामीले धेरै कुरा बिर्सनु पर्छ ।

त्यसै गरी, तपाईं अप्रत्याशित उपहारहरूको लागि पनि तयार हुनुपर्छ । जीवनमा भइरहेको परिवर्तनअनुसार आफूलाई समायोजन गर्नुहोस् । तपाईंअघि धेरैले जीवनको यो फिल्म हेरिसकेका छन्, तपाईं उनीहरुलाई बाटो देखाउने मौका त दिनुहोस् ।

यो त निश्चित छ, बच्चाहरु निकै छिटो हुर्कन्छन् । पछाडि फर्केर हेर्दा वर्ष दिनजस्तै लाग्छ, तर कहिलेकाहिँ यस्तो पनि लाग्छ कि दिन कहिले समाप्त हुँदैनन् ।

साथीहरूले तपाईंलाई खोजेरै छोड्छन् । तिनीहरूमध्ये कोही कहिल्यै परिवर्तन हुँदैनन् । त्यसैले मैले बुझिसकेकी छु कि वर्षौंसम्म घरमा बस्दा पनि मेरा केही प्यारा साथीहरु त्यही क्याफेमा त्यही चकलेट ड्रिङ्क सुर्काउँदै, त्यस्तै कुरा गरिरहेको पाउनेछौँ । मैले १६ वर्षसम्म पनि उनीहरुलाई भेटिनँ भने पनि उनीहरुले मेरो स्वागत त्यसरी गर्नेछन् जस्तो कि म १६ दिन मात्रै हराएकी छु ।

प्रारम्भिक वर्षहरूमा, जब हामी दुई प्यारा छोरीहरुका जवान आमाबुवा थियौँ, त्यतिबेला म एक टेलिभिजन च्यानलमा काम गर्थें, जुन मलाई साँच्चै मन पर्दथ्यो । मेरा छोरीहरु र मेरो जागिरले पनि मलाई असाध्यै मन पराउँथ्यो । तरपनि केही कुरा नपुगेको जस्तो लाग्थ्यो । कुनै कुरा आफ्नो सही स्थानमा छैन कि जस्तो लाग्थ्यो । ममाथि शंकाको बादल मडारिन थालेको थियो । आफ्नो जीवनमा सबै राम्रो कुराको तालमेल कसरी मिलाउने भनेर सोच्न सकिरहेको थिइनँ ।

मैले यसअघि आफ्नो जीवनमा कहिले पनि खालीपन महसुस गरेकी थिइनँ तर यो एक्लोपन नै पूर्ण वास्तविकता भने थिएन । हाम्रो जीवनमा धेरै कोलाहल थियो । पार्टीको कोलाहल, कार्यस्थलको कोलाहल, ट्राफिक कोलाहल । र, छोरीहरूसँग हुने बित्तिकै, मेरो टाउकोमा बजिरहेको ध्वनि परिवर्तन हुन्थ्यो ।

सुपरमम बन्ने सहरी मायावी जालले मलाई यसरी जकडेको थियो कि, म आफूलाई तातो हावाको बेलुनमा कैद भएको जस्तो महसुस गर्थेँ । सबै कुरा राम्रै देखिन्थ्यो तर मेरो मनको कुरा कसैले सुन्न सकेन जस्तो लाग्न थालेको थियो । यो एक शानदार अनुभव हुनुपर्ने थियो तर वास्तवमा खराब महसुस भइरहेको थियो ।

अभिभावकत्व मेरो निष्ठाको परीक्षा साबित भयो । के म आफैंप्रति वफादार हुन चाहन्थेँ ? मसँग यसको खासै धेरै अभ्यास थिएन । साथीहरू, प्रचलन, टिभी कार्यक्रमहरू र ग्याजेटहरूप्रति वफादार हुन त सधैं सजिलो थियो । हरेक मामिलामा धैर्यता कसरी अपनाउने भनेर मलाई थाहा थियो । मलाई अरूको नजरमा राम्रो बन्न असाध्यै आउँथ्यो । तर अब यो कुराको आवश्यकता थियो कि अब म आफैँतिर फर्कूँ र आफ्नो हेरविचार गरुँ । यसका लागि सुरुमा मैले आफ्नो आवाज सुन्न सिक्नुपर्ने थियो ।

हामीले आफ्नो बच्चाको त्यतिबेला मात्रै राम्रो हेरचाह गर्न सक्छौँ, जब हामीले आफ्नो हेरविचार राम्रोसँग गर्न सक्छौँ । यी आधारभूत नियमहरू वयस्क र बालबालिका दुवैमा लागू हुन्छन् । समयमै सुत्ने, ठीकसँग खाने, दिनहुँ हल्का व्यायाम गर्ने । पीक आवर ट्राफिकमा अड्किने बानी नबसाल्नुहोस् ।

आफूभित्रको बच्चालाई सधैं जीवित राख्नुहोस् । उसलाई माया गर्नुहोस्, उसको प्रशंसा गर्नुहोस्, उसलाई खुशी राख्नुहोस् । जब आमाबुवा बच्चाहरू जस्तै खुसी हुन्छन्, तब तिनीहरूका बच्चाहरू पनि खुसी हुन्छन् । र, यदि बच्चाहरू खुसी छन् भने, स्पष्ट रूपमा आमाबाबु पनि खुसी हुनेछन् । यदि मेरा बच्चा तनावमा भएको जस्तो मलाई लाग्छ भने म आफू पनि कुनै समस्यासँग जुधिरहेको पाउँछु । मैले मेरा भावनाहरू चिन्न सिक्नुपर्छ ।

बच्चाहरुलाई कुनै कुरा थाहा हुन्छ, उनीहरुले सबैभन्दा पहिला यसबारे आफ्ना आमा–बुवालाई भन्ने गर्छन् । 

हाम्री जेठी छोरी सहरले एक दिन आफ्नो बुवालाई भनिरहेकी थिइन्, ‘आमा दुःखी हुँदा तनावमा भएको जस्तो देखिन्छिन् तर बाबा उदास हुँदा रिसाउनुहुन्छ ।’

यस कुराबाट उनका बुबा यति खुसी भए कि उनले आफ्नी छोरीको यो कुरा आफ्ना सबै साथीहरूसँग सेयर गरे । निर्दोष बालिकाको यो बुझाइले कोही त रिसाएको जस्तो पनि देखिए ।

यस्तै, माइली छोरी अलिजाले खुसीको साँचो नै  आविष्कार गरेको जस्तो गर्छिन् । उनी दौडिदै मेरो पछाडि आउँछिन् र मेरो पिठ्यूँमा एउटा काल्पनिक साँचो हालेपछि भन्छिन्, ‘मैले तपाईंको ताल्चा खोलिदिएँ, ल अब खुसी हुनुहोस् ।’

त्यतिबेला मैले चाहे जुनसुकै मास्क लगाइरहेको भए पनि ती सबै हट्ने गर्दथे । उनको यो निर्दोषपनको अगाडि हतियार नत्याग्नु असम्भव थियो ।

म सधैं भन्छु, आमाबुवा हुनु एउटा ‘म्याजिकल’ कुरा हो तर हामी सबैलाई थाहा छ, जीवनमा शान्ति पाउन कत्ति गाह्रो छ । जीवनमा उथलपुथल त निकै सजिलै पैदा हुन्छन् । तर शान्ति खोज्नका लागि, तपाईंले प्रायः कठिन र बाङ्गो बाटोहरू पार गर्नुपर्नेछ । हरेक परिवारको बाटो फरक हुन्छ । कुनै यस्तो उद्देश्यसम्म पुग्नका लागि, जहाँ हामी आराम गर्न सकौँ र आनन्दको सास फेर्न सकौँ, त्यसका लागि हामीसँग धेरै नै सहनशीलता हुनुपर्छ ।

अभिभावकत्वले हरेक समय आफ्नो बच्चाको अगाडि हाजिर हुने कुराको माग गर्छ । कामका लागि घरबाट टाढा हुन सजिलो छ, दैनिक ट्राफिकमा फस्न, त्योभन्दा पनि सहज छ । आमा–बुवालाई सोमबारको दिन सबैभन्दा राम्रो लाग्छ । यदि तपाईं घरबाट  काम गर्नुहुन्छ भने तपाईंको बच्चालाई स्कूल पठाउनुपर्ने हुन्छ । तर यदि तपाईं घरभन्दा बाहिर काम गर्नुहुन्छ भने तपाईंले आफैंलाई पनि बाहिर पठाउनुपर्ने हुन्छ । साना बच्चाको आमा–बुवाका लागि सोमबारमा शनिबार लुकेको हुन्छ ।

वास्तविकता यो हो कि हाम्रा सन्तानले एक–अर्कालाई त्यही नै दिन्छन्, जुन उनीहरुले हामीबाट पाउँछन् । मैले आफ्नो कमजोरी स्वीकार्न सिकिसकेको छु र जुन काममा म पोख्त छु, त्यसको उत्सव मनाउन पनि सिकेकी छु । दिनदिनै सन्तुलित आहार पकाउन मलाई दिक्क लाग्छ, तर मलाई निकै राम्रो तस्बिर खिच्न आउँछ । त्यसैले म धेरै नै फोटो खिच्छु ।

जब हामीलाई बाहिर गएर केही मीठा पकवान खान मनलाग्छ भने हामी आफ्नो छिमेकको बजारमा गएर डोसा खान्छौँ । कहिलेकाँही हामी मोमो र चाट पापडीको पसलमा पनि जाने गछौँ । तर फोटो म आफैँले खिच्छु, आफ्नै प्रेमिल हातले । यसमार्फत् त्यति नै सुन्दर पल र यादको म्याजिकल बक्स तयार हुन्छ ,जति स्वादिष्ट खानाको यादबाट तयार हुनसक्छ ।

मेरी जेठी छोरी सहर सानो हुँदा भन्ने गर्थिन्, ‘मलाई हजुरआमाको राजमा मीठो लाग्छ, कान्ता फूपूको रोटी र ममीको म्यागी ।’

मैले तारिफ र प्रेमलाई स्वीकार गर्न सिकिरहेकी छु । उनीहरुको खुसी र कृतज्ञता पनि । म आफ्ना बच्चाको कुरामाथि विश्वास गर्न थालेकी छु । म आफूलाई पनि महत्व दिन थालेकी छु । म आफूले आफैँलाई भन्न थालेकी छु, ‘तिमी विशेष छौ, तिमी हुनुको महत्व छ ।’

यही एउटा तरिका हो, जसमार्फत् म आफ्ना छोरीहरुलाई विश्वास दिलाउन सकूँ कि उनीहरु कति विशेष छन् । म आफ्नो कुरा सुन्छु, बच्चाको पनि सुन्छु । फोनको घण्टी बज्छ, बजिरहोस्, म जवाफ दिन्नँ । हाम्रो आवश्यकताबारे जब कुरा मिल्दैन, हामी सँगै बसेर त्यसको हल निकाल्ने गर्छौँ ।

बच्चा पनि यसमा जिद्दी गर्दैनन् । हाम्रा बच्चाले हामीलाई हाम्रो बालापन याद दिलाउँछन् । हामीले यो यात्रा सुरु गर्दा हामी कस्तो थियौँ भनेर बच्चाले स्मरण गराइदिन्छन् । हामी कस्तो हुनसक्छौँ, के हामी केही कुरा पुनः हासिल गर्न सक्छौँ । शिशु, ठुमुक–ठुमुक हिँड्नेहरु, स्कूलका बच्चा । जस्तै कि हाम्री माहिली छोरी अलिजाले एकपटक बिस्तारै भनेकी थिइन्, ‘मलाई त सबै कुरा थाहा छ तर तपाईंले केही कुरा बिर्सनुभयो, मम्मा ।’

(नताशा बधवार ‘माय डटर्स मम’ र ‘इमोर्टल फर अ मोमेन्ट’ की लेखिका हुन् । उनी फिल्म निर्माता, शिक्षिका र तीन छोरीकी आमा हुन् ।)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप