ad
x
उद्यम

नेपाली पोसाकले आत्मनिर्भर बनाउने कुन्तीको सपना

person explore access_timeअसार ११, २०७९ chat_bubble_outline0

विगत २ वर्षदेखि समाजसेवी कुन्ती पोखरेल आफ्नो थप अर्को परिचय थप्ने प्रयासमा छिन् । त्यो हो स्वदेशी तयारी पोसाक उद्यमी । यद्यपि अघिल्लो वर्ष मङ्सिरमा उनको एउटा पहिचान थपिएको थियो–राष्ट्रिय प्रजातन्त्र पार्टीमा सर्वाधिक मत पाएर निर्वाचित केन्द्रीय सदस्यको । 


सामाजिक काम र राजनीतिमा समेत सक्रिय उनलाई गएका वर्षमा कोरोना सङ्क्रमण रोक्न भएको लकडाउनले उद्यमी हुन प्रेरित गरेको थियो । त्यो आफ्नो लागि मात्रै नभएर लकडाउनमा बेरोजगार भएकालाई घरभित्रै बसेर आत्मनिर्भर बनाउने उद्देश्यबाट उनको यात्रा सुरु भएको थियो । 



उनले विगत ८ वर्षदेखि तारामण्डल महिला सशक्तीकरण अभियानबाट महिलाहरूलाई आयआर्जनको बाटो देखाउँदै आएकी थिइन् । सो अवधिमा उनी देशमा ४० जिल्लाका विभिन्न गाउँ बस्ती र टोलहरूमा पुगेर महिलाहरूलाई सिलाई बुनाई, अचार बनाउने, साबुन बनाउने लगायतका विभिन्न तालिम प्रदान गर्थिन । यद्यपि विभिन्न जिल्लाहरूमा पुगेर महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियान उनको अभियान अझै पनि जारी नै छ ।  

झन्डै २ वर्ष अगाडि नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएपछि लकडाउन भयो । लकडाउनका कारण सहरमा बस्ने धेरै मानिसहरू बेरोजगार हुन पुगे । सहरी क्षेत्रमा बस्ने बेरोजगारहरूले अलिकति चामल भन्दा पनि घरभित्रै बसेर केही काम गर्न पाए हुन्थ्यो भन्ने चाहना राखेको उनले पाइन् । त्यस्ता महिलाहरूलाई लक्षित गरेर उनले बजारमा खुद्रा सामान खरिद गर्दा प्रयोग हुने कपडाको ब्याग बनाउने अभियान सुरु गरिन् ।  

उनले भनिन्–‘त्यो बेला मैले कपडाको सपिङ ब्यागहरू बनाउन सुरु गरेँ, जुन भाटभटेनीहरुमा राखिएको हुन्छ त्यस्तो प्रकारको ब्यागहरू । बजारबाट खुद्रा सामान किन्दा प्लास्टिक ब्यागको सट्टामा प्रयोग गर्ने झोलाबाट सुरु गरेको थिएँ । सुरुमा मैले १० वटा सिलाई मेसिन किनेको थिएँ । १० जना महिलाले सपिङ ब्याग बनाउन सुरु गर्नुभयो । त्यो काममा हामी सफल भयौँ, हामीले बनाएको किनमेल गर्ने झोला धेरैले मन पराउनुभयो ।’

सो कामबाट उत्साहित भएकी उनले अझै थप केही गर्ने योजना अघि सारिन् । नेपाली बजारमा विदेशी तयारी कपडाको दबदबा रहेको बेला उनले विभिन्न उमेर समूहका मानिसहरूलाई हुने गरी स्वदेशी तयारी पोसाक उत्पादन गर्ने हिम्मत गरिन् । यतिबेला उनले १ सय वटा मेसिन जम्मा पारेर तयारी कपडा उत्पादनको काम थालेकी छिन् । पुरानो बानेश्वर चोक छेउ रहेको उनको गार्मेन्ट फ्याक्ट्रीमा यतिबेला दैनिक ४ सयदेखि ५ सयको सङ्ख्यामा विभिन्न प्रकारका कपडा उत्पादन हुने गरेको छ । 

उनले भनिन्–‘पसलबाट समान किनेर सामान बोक्ने झोला बनाउने मात्र नभई त्यो भन्दा पनि अलि फरक फरक केही काम गरौँ भन्ने सोच आयो । महिलाका लागि टप्स, कुर्था सुरुवाल पनि बनाऔँ न भन्ने सोच आयो । त्यसपछि फेरी अरू नयाँ केही गरौँ भन्दा टिसर्ट, पाइन्टहरू सिलाउने गर्न थाल्यौँ । अहिले साना बच्चादेखि युवा र ज्येष्ठ नागरिकसम्मका लागि चाहिने हरेक प्रकारमा कपडाहरू तयार गरिरहेका छौँ । लकडाउनको बेलामा बेरोजगार भएकाहरूलाई रोजगारी दिने उद्देश्यले सुरु गरेको काम हो । काम गर्दै जाँदा अहिले ठूलो परिणाममा उत्पादन गर्न थालेका छौँ ।’ 

उनको गार्मेन्टमा यतिबेला कर्मचारी तथा सिलाइका कामदार गरेर करिब ३०० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । 

‘पोज फेसन’ ब्राण्डमा लेडिज जेन्स ट्रयाक सुट, सर्ट पाइन्ट, विन्ड चिटरहरु, कुर्था सुरुवालदेखि नयाँ नयाँ डिजाइनका फेसनेबल कपडाहरू उत्पादन भइरहेको उनले बताइन् । 

उनको यो कामका लागि परिवारबाट पनि उत्तिकै सहयोग रहेको छ । करोडमाथिको खर्च गरेर थालेको उनको यो उद्यम बिस्तारै अघि बढिरहेको छ । कोभिड संकटपछि बिस्तारै नेपाली अर्थतन्त्र तङ्ग्रँदै गएकोले होला बजारबाट सोचेजति व्यापार नभएको उनको अनुभव छ । नाफा भन्दा पनि उत्पादन गरेको मूल्यमै ‘पोज फेसन’ ले बजार खोजिरहेको उनले बताइन् । 

उपभोक्तामा अझै पनि नेपाली उत्पादनप्रति आकर्षण बढ्न नसकेको प्रति भने उनको चिन्ता छ । विदेशबाट उत्पादित कपडा भन्दा नेपाली उत्पादन तुलनात्मक रूपमा बलियो हुने तर उपभोक्ताले भने विदेशी कपडातिर बढी ध्यान दिने गरेको उनले अनुभव सँगालेकी छिन् । नेपाली तयारी पोसाकप्रति नेपाली उपभोक्ताको सोच परिवर्तन गर्न आवश्यक रहेको उनले सुनाइन् । 

उनले भनिन्–‘नेपालमै बनेको लुगा लगाएकोमा गर्व गर्ने अवस्था अझै बन्न सकेको रहेनछ । उपभोक्ताहरुले नेपालमा उत्पादन भएका तयारी कपडा किन्दा एक त नेपालको पैसा विदेश जाँदैन । जति धेरै नेपाली उत्पादन बजारमा खपत भयो त्यति धेरैका लागि रोजगारी पनि सिर्जना हुन्छ । पहिलेको तुलनामा अहिले नेपालमै बनेको लुगा प्रयोग गरौँ भन्ने भावना चाहिँ अलि अलि त बढ्दै गएको छ । तर यस्तो भावना पूर्ण रूपमा विकास गर्न आवश्यक छ ।’

उनले उत्पादन गरेको कपडाहरू होलसेलरहरुको माध्यमबाट काठमाडौँ बाहिरका बजारमा पनि पुग्न थालेको छ । 

कपडाका लागि आवश्यक पर्ने कच्चा पदार्थहरू चीन तथा भारतको दिल्लीबाट आउने ल्याइने गरिएको  छ । 

धागोदेखि उपभोक्ताको हातसम्म पुग्न चुनौती नै चुनौती 

एउटा कुनै कपडा तयार गरेर उपभोक्ता सम्म पुर्‍याउने बेलासम्म नेपाली उद्यमीले निकै चुनौतीको सामना गर्नुपर्ने उनको अनुभव छ । स्वदेशी उद्यमीलाई सरकारले पनि आवश्यक सहयोगी नीति अघि नबढाएकोमा उनको चिन्ता छ ।

‘नेपालमा न धागो बन्छ, न टाँक बन्छ । सियो, धागोदेखि चेनसम्म नेपालमा बन्दैन, अरू देशबाट ल्याउनुपर्ने अवस्था छ । कपडा पनि विदेशबाट नै ल्याउनुपर्ने, फेरी विदेशी तयारी पोसाकसँग प्रतिस्पर्धा गरेर उपभोक्तासम्म पुग्न निकै नै कठिनाइ छ ।’ उनले भनिन् । 

‘नेपालमै तयारी कपडा बनाउँदा मूल्य अलि बढी हुन जान्छ । चिनियाँ कपडासँग प्रतिस्पर्धा गर्न गाह्रो छ । चीनबाट आएको तयारी कपडा अलि सस्तो पर्छ । कि सरकारले स्वदेशी उद्यमीलाई कच्चा पदार्थ ल्याउँदा भन्सार शुल्क छुट दिनुपर्‍यो कि चिनियाँ कपडामा अलि धेरै कर बढाइदिनुपर्‍यो । नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले यो कुरामा ध्यान नै दिएको छैन ।’

उनले केही उदाहरण प्रस्तुत गर्दै अगाडि भनिन्–‘अहिले सरकारले महिलाले प्रयोग गर्ने स्यानिटरी प्याड विदेशबाट आयात गर्न कर छुट गरिदियो, यसले गर्दा स्वदेशी उत्पादनहरूको अवस्था बेहाल छ । अहिले नेपाली तयारी कपडाको हालत पनि त्यस्तै छ । चीनबाट सस्तो तयारी पोसाक आउने, हामीले भन्सार तिरेर कच्चा सामग्री ल्याएर यहाँ तयार गर्दा अलि महँगो पर्न जान्छ । अहिले हामीले मुनाफा नराखीकन उपभोक्तालाई कपडा दिइरहेका छौँ ।’

अर्थतन्त्रमा कोभिड सङ्कटको असर अझै नसकिएकोले हो कि अहिलेको समय नेपाली तयारी पोसाकका लागि उपयुक्त समय नरहेको उनको अनुभव छ । बजारमा जुन रूपमा नेपाली उत्पादनले अवसर पाउनुपर्ने हो त्यो अवस्था नरहेको उनले सुनाइन् । 

उनले भनिन्–‘चाइनाले राखेको रेटभन्दा हामीले उत्पादन गरेको कपडामा खासै धेरै फरक पर्दैन । हामीले उत्पादन गरेको कपडाको मूल्य अलिकति थोरै बढी होला तर फिनिसिङमा फरक हुँदैन । उपभोक्तामा कुन ब्राण्डको भनेर हेर्ने चलन पनि छ । नेपालमै बनेको छ भने नाम खुम्च्याउने प्रवृत्तिले पनि हामी नेपाली उद्यमीहरूलाई धेरै नै गाह्रो छ ।’

सरकारी कर्मचारीले नेपालमा बनेको कपडा लगाउनुपर्ने सम्बन्धी सरकारले ल्याएको नीति तथा कार्यक्रम देख्दा खुसी लागेपनि त्यो केबल चुनावी नारामात्रै जस्तो लाग्ने उनले बताइन् । उनले नेपालमा उत्पादित तयारी पोसाकलाई पनि सरकारले विशेष सहुलियत दिने कार्यक्रम ल्याउन आवश्यक रहेको उनी बताउँछिन् । 

नेपाली उद्यमीलाई सरकारले सहयोग नगरेसम्म अघि बढ्न कठिनाइ रहेको उनको धारणा छ ।  

उनले भनिन्–‘सरकारबाट हामीलाई कुनै बजेट चाहिएको छैन, कुनै अनुदान चाहिएको छैन, यति मात्रै हो कि विदेशबाट कपडा ल्याउन कम गर्नुपर्‍यो । विदेशी तयारी कपडा नेपाल ल्याउन बन्द गर्दा पनि केही फरक पर्दैन । विदेशबाट कच्चा पदार्थ ल्याएर विदेशीले दिने जतिको फिनिसिङ दिन सक्छौँ भने ठूलो परिणाममा विदेशी कपडा आयात गर्न आवश्यक नै छैन । सरकारले विदेशी कपडा बन्द गर्ने बित्तिकै हामीले यहाँको माग पूरा गर्न सक्छौँ । दैनिक कति कपडा उत्पादन गर्नुपर्‍यो ? हामी त्यति परिणाममा कपडा उत्पादन गर्न सक्षम छौँ । सायद अरू व्यवसायीहरू पनि सक्नुहुन्छ होला म पनि सक्छु । तयारी पोसाकका लागि कच्चा पदार्थमा छुट दिने र विदेशी कपडा रोक्ने हो भने नेपालको पैसा नेपालमै बस्छ । धेरै नेपालीलाई रोजगारीको अवसरपनि सिर्जना हुन्छ ।’

उनले नेपालमा उत्पादन भएको तयारी पोसाकले नेपालीलाई पुग्ने बताइन् । आफ्नो २ वर्षको अनुभवमा नेपालीमा चाहे अनुसार दैनिक ठूलो परिणाममा कपडा उत्पादन गरेर दिन सक्ने उनको आत्मविश्वास रहेको छ । 

उनले भनिन्–‘नेपाली उत्पादनलाई अवसर  दिने सरकारले नीति ल्याउने हो भने जति सङ्ख्यामा पनि मेसिन थपेर उत्पादन गर्न सक्छु । मेलै सक्छु भने अरू गार्मेन्ट उद्योगीहरूले पनि सक्छन् ।’

उनले हाल पेप्सिकोला, पुरानो बानेश्वर र मैतीदेवीमा आफ्नै उत्पादन ‘पोज फेसन’ ब्राण्डका कपडाका पसल सञ्चालन गरिरहेकी छिन् । 

‘अब नेपालीले नेपाली उत्पादन लगाउँदा गर्व गर्ने स्थिति बन्नुपर्‍यो ।’ उनले भनिन् । सरकारले नेपाली उद्यमीलाई प्रोत्साहन नगर्ने हो भने नेपाली उत्पादन घट्ने र नेपालको मुद्रा बाहिरिने उनले बताइन् । 

समाजसेवा, राजनीति र उद्यम एकैसाथ 

कुन्तीले हालसम्म गर्दै आएको मुख्य समाजसेवा भनेको क्षमता नभएका, अवसरहरूबाट वञ्चित महिलालाई सशक्त बनाउने काम हो भन्दा फरक नपर्ला ।  

उनले महिलाहरूलाई सशक्त र आत्मनिर्भर बनाउने अभियान थालेको ८ वर्ष भयो । तारामण्डल महिला सशक्तीकरण अभियान मार्फत महिलाहरूलाई घरमै बसेर सहज ढंगले काम गर्न सक्ने किसिमका तालिम दिँदै आएकी छिन् । साबुन बनाउने तालिम, ब्याग बनाउने तालिम, खेलौना डलहरु बनाउने, अचार बनाउने लगायत घरमै बसेर गर्न सकिने कामका तालिमहरू दिँदै आएकी छिन् । ती तालिमबाट धेरै महिला आत्मनिर्भर बनेका छन् । महिलाहरू घरेलु हिंसाको सिकार हुनुको कारण नै आत्मनिर्भर हुन नसक्नु रहेको उनको ठम्याई छ । जब महिला पनि केही गर्न सक्ने हुन्छन्, परिवारका लागि केही कमाउन सक्ने हुन्छन् तब उनीहरूमाथिको हिंसा कम हुने उनको अनुभव छ । महिला हिंसालाई कम गर्नका लागि उनीहरूलाई सीप सिकाउने र आत्मनिर्भर बनाउने उनको अभियान जारी नै रहेको छ । 

हालसम्म ४० जिल्लामा महिला सशक्तीकरणका लागि विभिन्न तालिम प्रदान गरेकी उनले आगामी दिनमा पनि यो कामलाई निरन्तरता दिने बताइन् । यद्यपि यो काम गर्न पनि उनको लागि गाह्रो रहेको छ । महिलालाई तालिमका कार्यक्रम दिँदा धेरैले आईनजीओको सहयोगमा गरेको होला भन्ने सोच्ने गर्छन् । तर उनले अहिलेसम्म उनी कुनै आईएनजीओको सम्पर्कमा छैनन् । आफ्नै पहल र सक्रियतामा त्यस्ता कार्यक्रमहरू गर्दै आएको उनले बताइन् । 

राजनीतिमा पनि क्रियाशील उनी हाल राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य छिन् । हाल उनी आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार हुने गृहकार्यमा पनि छिन् ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।