शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योगको क्षमता बढाउन आवश्यक छः मन्त्री बडू

आइतबार, १२ असार २०७९, १४ : ४८
आइतबार, १२ असार २०७९

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक रहेको बताएका छन् । आइतवार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री बडूले यस्तो बताएका हुन् । उनले कतिपय उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चल्न नसकेको भन्दै सबै उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्नसके देशभित्र नै रोजगारीको अवसर सिर्जना हुने बताए ।  

मन्त्री बडूले अहिले भइरहेका उद्योगहरु ६० देखि ७० प्रतिशतसम्म मात्रै चल्न सकेको भन्दै यसलाई पूर्ण रुपमा चलाउने कार्यदिशामा सरकार अग्रसर रहेको बताए । उनले रुग्ण उद्योग सञ्चालनका लागि उपयुक्त ढाँचा बनाउने काममा सरकार लागिरहेको भन्दै सरकारले स्वयं वा सरकार र निजी क्षेत्रको पीपीपी मोडेल वा त्यसभन्दा अतिरिक्त लामो लिजमा दिएर पनि रुग्ण उद्योग सञ्चालन गर्ने तयारी रहेको बताए ।  मन्त्री बडूले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजाने प्रयत्न अहिलेको बजेट वक्तव्यले गरेको दाबी गरे ।

उनले भने, ‘अहिले चलिरहेका उद्योगहरुको क्षमता बढाउन आवश्यक छ । कतिपय उद्योगहरु आफ्नो पूर्ण क्षमतामा चलेका छैनन् । उद्योगहरूले ६० देखि ७० प्रतिशतसम्म सञ्चालनमा ल्याएका छन् । रुग्ण उद्योग सञ्चालनका लागि उपयुक्त ढाँचा बनाउने । सरकारले स्वयं वा सरकार र निजी क्षेत्रको पीपीपी मोडेल वा त्यसभन्दा अतिरिक्त लामो लिजमा दिएर पनि चलाउने, निजी क्षेत्रले पनि चलाउन सक्छ, सरकारलाई दिने राजश्व सन्दर्भमा हामीले यो नीतिगत बाटामा जानुपर्छ । बन्द रहेका सबै उद्योग चलाउन सके रोजगारीको अवसर हुन्छ । समग्रमा मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भरतातिर लैजाने प्रयत्न अहिलेको बजेट वक्तव्यले गरेको छ । सरकारको त्यो नीति रहेको छ । आजकोभन्दा रोजगारी र उत्पादन वृद्धि गर्नेतर्फ हामी जान्छौँ ।’

मन्त्री बडूले  अहिलेको भन्दा रोजगारी र उत्पादन बढी वृद्धि गर्नेतर्फ सरकार अग्रसर रहेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप