शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लक्ष्मण थारूसहित यी हुन् नागरिक उन्मुक्ति पार्टी प्रवेश गर्नेहरू (सूचीसहित)

आइतबार, १२ असार २०७९, १६ : ४५
आइतबार, १२ असार २०७९

थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय अध्यक्ष लक्ष्मण थारु आइतबार रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । रिपोर्टस क्लबमा आयोजित पत्रकार सम्मेलनमा थारूसहित थरूहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढी सो पार्टीमा प्रवेश गरेका छन् । दाङका सुरेन्द्र चौधरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद योगेन्द्र चौधरीका दाजु हुन् । उनी पहिले डा बाबुराम भट्टराईको अध्यक्षतामा गठित नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्य थिए ।  

त्यस्तै लेखिका तथा थारु कल्याणकारिणी सभा तथा थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य इन्दु थारु पनि  नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छिन् । उनका बुवा जोखन रत्गैंया तथा काका जगत रत्गैया माओवादी जनयुद्धमा सेनाबाट मारिएका थिए ।

पार्टी प्रवेश गर्ने अन्यमा थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य गणेश चौधरी (कपिलबस्तु), मोर्चाकै केन्द्रीय सदस्य बासुदेव चौधरी (रुपन्देही), मोर्चाका नवलपरासी जिल्ला अध्यक्ष ओमप्रकाश चौधरी, नवलपरासीको सरावल गाउँपालिकाका पूर्व अध्यक्ष राधेश्याम चौधरी पनि रहेका छन् । 

बर्दियाबाट जसपाका पूर्व जिल्ला अध्यक्ष मोहनलाल चौधरी, थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय सदस्य तथा जसपाका केन्द्रीय परिषद सदस्य रामकुमार चौधरी (बर्दिया), जसपाका केन्द्रीय महिला परिषद सदस्य प्रभा चौधरी (दाङ) पनि  नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । बर्दियामा जसपालाई धक्का लागेको छ । 

मिसन अम्बेडकार नेपालका केन्द्रीय अध्यक्ष मनोज लुहार लगायत कैलालीबाट दर्जन बढी व्यक्ति पनि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन्, जसमा थारु गाउँका अगुवा भलमन्सा, बरघरहरु पनि रहेका छन् । 
नागरिक उन्मुक्ति पार्टी प्रवेश कार्यक्रमको संयोजन गरेका सुरेन्द्र चौधरीका अनुसार पहिलेको थरुहट तराई पार्टी नेपाल, फोरम लोकतान्त्रिक तथा थरुहट थारुवान राष्ट्रिय मोर्चाका अधिकांश अगुवा नेता, कार्यकर्ताहरु पार्टी प्रवेशको पाइप लाइनमा रहेका छन् । मूलधारको पार्टीमा रहेका असन्टुष्ट कार्यकर्ताहरुलाई पनि पार्टी प्रवेश गराइने उनले बताए । 

आइतबारको औपचारिक कार्यक्रममा प्रवेश गर्नेहरुको सूचीबाहेक अन्य दर्जन बढी नवप्रवेशीहरुको नामावली प्रस्तुत गरिएको थियो । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले  सो अवसरमा नागरिक उन्मुक्ति पार्टीबाट विजयी हुने टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौरा, भजनी नगरपालिकाका मेयर र उपमेयर केवल चौधरी र राजु तिरुवा, जानकी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष गणेश चौधरी र लालमति कठरिया, जोशीपुर गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चित्रबहादुर चौधरी र रेखा कठरियाको पनि उपस्थिति रहेको थियो ।

पार्टी प्रवेशको पत्रकार सम्मेलनमा लक्ष्मण थारुले कुनै अपराध नगरी आफूमाथि पनि सरकारले जन्मकैदको फैसला सुनाएको टिप्पणी गरेका थिए । उनले रेशम चौधरी निर्दोष भएको दाबी गरे ।  उनले टीकापुर घटनामा थारुहरुले बच्चा र प्रहरी मारेको प्रमाण नभएको भन्दै वास्तविक दोषीलाई जोगाएर निर्दोष रेशम चौधरीलाई फसाएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप