शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लघुकथा : कागजी विवाह

शनिबार, १८ असार २०७९, ०७ : ४२
शनिबार, १८ असार २०७९

“बाहिर आउनोस् ।” 

कारको झ्याल बाहिरबाट प्रहरीले भन्यो । नरेश कारबाट बाहिर निस्कियो । ऊसँग  सवारी चालक अनुमति पत्र मागियो । अघि करिव  चार  माईल परबाट गस्ती टोलीले पछ्याउँदै आएको उसैलाई रहेछ । उ डरायो पनि ।  

“रक्सी पिएर कार चलाउने ?” पुलिसको बोली अलि कडा थियो । 

“हैन मैले पिएको छैन । म कहिल्यै पनि रक्सी पिएर सवारी साधन चलाउँदिन ।” उसले जवाफ दियो । 

“ए, साँच्चै हो र ?” भन्दै अर्को प्रहरीले रक्सी पिएको जाँच्ने यन्त्र ल्यायो र हेर्‍यो । 

अघिदेखि कारमा बसिरहेको प्रहरीको हाकिमसँग भन्यो, “हो सर उसले ठिक भन्दैछ ।” 

कारमा बसिरहेको प्रहरी कारबाट निस्केर नजिकै आयो र नरेशलाई सोध्यो “कहाँबाट फर्कदै छौ ? के तिमी आज थाकेका छौ ?” 

नरेशले जवाफ दियो, “हजुर, म कामबाट फर्किँदै छु र आज अलि बढी नै थकाई लागेको छ ।” 

“तिम्रो कार हँकाई पिएको मनिसको जस्तै असामान्य देखिएको थियो । ल, अब राम्रोसँग चलाउनु आज मौखिक चेतावनी मात्र दिन्छु,” प्रहरीको हाकिमले भन्यो ।

मौखिक चेतावनी रेकर्डमा नबस्ने भएकोले नरेशले हल्का खुसी मान्यो । 

“ओभर टाइम नगरे खर्चले धान्दैन । तर ओभर टाइम गरे थकाइ लाग्छ । के गर्ने अब ? धन्य पशुपतिनाथको कृपाले तीन पटक सम्म यसै गरेर छोडे ।” उसले मनमा कुरा खेलाउँदै घरमा बुबा आमा सम्झियो । 

अनि सम्पूर्ण जायजेथा धितो राखेर ऋण लिएर नक्कली कागजी विवाह गर्दा तिर्नु परेको लाखौँको बिटो सम्झियो । ऊ विश्व पुँजीपति सिण्डिकेट विरुद्ध केक प्रहार गरी पहिलो पटक धावा बोलेर चर्चामा आएको सियाटल सहरको व्यस्त सडकमा मध्यरातमा कार चलाउँदै आफ्नो कोठातर्फ फर्किँदै थियो । 

पोखरा–७,मासबार, कास्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप