शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कोरोना सङ्क्रमणको अर्को लहर आउने सङ्केत

सोमबार, २० असार २०७९, १३ : ११
सोमबार, २० असार २०७९

नेपालमा पहिलो पटक कोरोना सङ्क्रमितमा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ देखिएको छ । जिन सिक्वेन्सिङ गर्दा धुलिखेल अस्पतालमा ओमक्रोनको उपप्रजाति पुष्टि भएको हो । यद्यपि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भने औपचारिक रूपमा पुष्टि गरेको छैन । 

विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको क्षेत्रीय कार्यालयका अनुसार दक्षिण अफ्रिकामा बीए फोरद्वारा सङ्क्रमितको सङ्ख्या जनवरी २०२२ देखि अप्रिल २९, २०२२ सम्म १ बाट ३५ प्रतिशत प्रतिशत वृद्धि भएको थियो । बीए फाइभ सङ्क्रमितको सङ्ख्या अप्रिल अन्तिमसम्म २० प्रतिशतले वृद्धि भएको छ । यस्तै, पछिल्लोको तथ्याङ्क अनुसार दक्षिण अफ्रिकामा बीए फोर र बीए फाइभ भेरियन्ट सबैभन्दा बढी फैलिएको पाइएको छ । बीए फोर ६९ प्रतिशत र बीए टु ४५ प्रतिशसम्म फैलिएको थियो । सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारीले बीए फाइभ भेरियन्ट सङ्क्रामक रहेको बताउँछन् । 

यस्तै, सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि छिटो फैलन सक्ने क्षमता भएको पाइएको बताउँछन् । अघिल्ला महामारीमा देखिएमा डेल्टा भेरियन्टभन्दा घातक भन्ने कुरा सिद्ध भइनसकेको उनी बताउँछन् ।  

उनी भन्छन्, ‘यो भाइरस विश्वमा जुन देशमा देखिए पनि नेपालसम्म आइपुग्न बेर लाग्दैन । ढिलो चाँडो आइपुग्छ । यो कुरालाई आश्चर्य मान्नुपर्ने कुरा छैन । कतै नयाँ प्रजातिका भाइरस सङ्क्रमणले गर्दा हाल सङ्क्रमितको सङ्ख्या बढेको त होइन भन्ने प्रश्न पनि खडा हुन सक्छ ।’  

हालसम्म बीए फोर र बीए फाइभ नयाँ लक्षण वा गम्भीर रोगसँग सम्बन्धित छ भन्ने कुराको खासै प्रमाण नभेटिएका अध्ययनहरूले देखाएको छ । सङ्क्रामक रोग विशेषज्ञ प्रभात अधिकारी हरेक पटक कोभिड–१९ को लहर आउँदा नयाँ भरियन्टको सब भेरियन्ट देखा पर्ने गरेको सङ्क्रामक रोग विशेषज्ञ डा. प्रभात अधिकारी बताउँछन् । ‘उत्परिवर्तन भएका भेरियन्टहरु हालसम्म सङ्क्रामक देखिँदै आएको छ,’ उनी भन्छन्, ‘उपप्रजाति ‘बी फाइभ’ यसअघि देखिएका भेरियन्टभन्दा सङ्क्रामक देखिएको छ ।’ 

उपप्रजाति ‘बी फाइभ’ भेरियन्ट अघिल्ला सब भेरियन्टभन्दा घातक भने नहुने डा. पुनको तर्क छ । भारतमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । त्यहाँ यसभन्दा अघि नै ‘बी फाइभ’ भेरियन्ट पुष्टि भइसकेको थियो । खोप लगाएर जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गरेको खण्डमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् । 

सङ्क्रामक रोग विशेषज्ञहरूका अनुसार खोप र सङ्क्रमणबाट प्राप्त प्रतिरोधी क्षमतामा कम आइ सङ्क्रमण फैलिएको हुनसक्ने अनुमान गर्छन् । यद्यपि यसबारे तत्काल  भनिहाल्ने अवस्था नरहेको उनीहरू बताउँछन् ।  

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भने ओमिक्रोन भेरियन्टको पुरानै उपप्रजाति देखिएको निर्देशक डा. रुना झाले बताइन् ।

अर्को लहर आउने निश्चित 

नेपालमा कोरोना सङ्क्रमण मत्थर भएपछि पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानुमा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ सङ्क्रमण भएको बढेको हुन सक्ने सङ्क्रामक रोग विशेषज्ञहरू आशङ्का व्यक्त गर्छन् ।

एक महिना अघि जेठ १९ गते आजकै दिन १४ कोभिड–१९ सङ्क्रमित भएका थिए । २ हजार ५ सय ९५ नमुना परीक्षण गर्दा १४ जना सङ्क्रमण पुष्टि भएको थियो । जसमा १ हजार ४१३ पीसीआर नमुना, र एन्टीजेन १ हजार १८२ परीक्षण गरिएको थियो । सो दिन सक्रिय सङ्क्रमित १०१ जना थिए । एक महिनापछि अर्थात् असार १९ गते आइतबार २ हजार १२० नमुना परीक्षण गर्दा नयाँ ५३ जनामा सङ्क्रमित पुष्टि भएको छ । परीक्षण गरिएका मध्ये पीसीआर ११ सय ६२ र एन्टीजेन ९५८ नमुना परीक्षण गरिएको थियो ।

हाल सक्रिय सङ्क्रमित ३३३ जना पुगेको छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्रै ५३ जना सङ्क्रमित भएका छन् । असार १३ गते सोमबार ४१ सङ्क्रमित हुँदा मंगलबार ४४ जना सङ्क्रमित भएका थिए । यस्तै, क्रमशः बुधबार ६२, बिहीबार ५५, शुक्रबार ५० र शनिबार ४४ सङ्क्रमित भएका थिए ।

नेपालमा अब कोरोना सङ्क्रमण दर बढ्ने डा. अधिकारीको अनुमान छ । उनी भन्छन्, ‘पहिलो कारण भारतमा सङ्क्रमण तीव्र गति बढेको छ । त्यसमाथि खुल्ला सिमाना छ । दोस्रो धेरै जनाले पूर्ण मात्रा खोप लगाएको ६ महिना नाघिसकेको छ । धेरै जनाले बुस्टर मात्रा खोप लगाउनु भएको छैन । तेस्रो जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्य शून्य जस्तै छ ।’  

​ ‘सङ्क्रमण दर बढे पनि पहिलो दोस्रो लहरको जस्तो अवस्था सिर्जना हुन सक्दैन कि,’ डा. पुन भन्छन्, ‘धेरै जनाले खोप लगाएका छन्, सब भेरियन्ट सङ्क्रमणले विगतमा जस्तो गाह्रो नबनाउला कि ।’

अब सरकारले सङ्क्रमण दर बढ्दा कुन उमेर समूह बढी प्रभावित हुन्छन् भन्ने कुराको अध्ययन गर्नुपर्ने उनी बताउँछन् । खोप नलगाएकाहरू सङ्क्रमणको उच्च जोखिम रहेको डा.पुन बताउँछन् ।  

यता छिमेकी राष्ट्र भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयको तथ्याङ्क अनुसार एक लाख १२ हजार सक्रिय सङ्क्रमित रहेका छन् । गएको २४ घण्टामा मात्रै १६ हजार १०३ नयाँ सङ्क्रमित भेटिएका छन् ।  सक्रिय सङ्क्रमित एक लाख ११ हजार ७११ पुगेको छ । भारतमा सङ्क्रमण दर तीव्र गतिमा सङ्क्रमण दर बढेको छ । २ जुलाईमा म १७ हजार ९२, १ जुलाईमा १७ हजार ७० जना सङ्क्रमित भएका थिए ।  

यसरी भारतमा तीव्र गतिमा सङ्क्रमण दर बढ्नु र ठूलो दरमा ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए फाइभ देखिनु भनेको नेपालले कडा रूपमा जनस्वास्थ्यका मापदण्डमा पालना गर्नु सङ्केत भएको डा. अधिकारी बताउँछन् । 

उता डा. पुन भारतमा कोरोना सङ्क्रमण बढ्दै गएको र यसभन्दा अघि नै ‘बी फाइभ’ भेरियन्ट पुष्टि भइसकेको अवस्थामा पूर्ण रूपमा जनस्वास्थ्यका मापदण्ड पालना र खोप लगाएको खण्डमा आत्तिइहाल्नुपर्ने अवस्था नरहेको बताउँछन् ।

यस भेरियन्टको बारेमा अध्ययन जारी रहेकाले नयाँ भेरियन्ट संमक्रण भइसकेपछि इम्युनिटिले कतिको धान्छ भन्ने कुरा मुख्य भन्दै लगाइरहेको खोपले नयाँ भेरियन्टलाई धान्छ कि धान्दैन, उपप्रजाति ‘बी फाइभ’ अध्ययनहरूले सङ्क्रामक देखिए पनि कति घातकता छ भनेर अध्ययनको विषय बनेकाले सावधानी अपनाउनुपर्ने डा. अधिकारी बताउँछन् ।

सरकारले सङ्क्रमित भई जटिल स्वास्थ्य अवस्था भएकाहरूले कोरोनाविरुद्धको खोप लगाएका थिए कि थिएनन्, दुवै मात्रा खोप लगाएपछि बुस्टर डोज लगाएका थिए कि थिएनन् र बुस्टर डोज लगाइ सङ्क्रमण भएकाको स्वास्थ्य स्थिति कस्तो छ भन्ने बारे अध्ययन गरेर जानकारी दिँदा राम्रो हुने डा. पुन बताउँछन् ।

प्रविधि कम्पनी जोईले विकास गरेको एक एपको सहायतामार्फत गरिएको एक अध्ययनमा दुई वा दुईभन्दा बढी मात्रामा कोभिड–१९ विरुद्धको खोप लगाएर कोरोना सङ्क्रमण हुनेमा धेरैजसोमा नाकबाट पानी बग्नु, टाउको दुख्नु, हाच्छिउँ आउनु, घाँटी दुख्नु र लहरे खोकी आदि लक्षण देखिएको छ । यस्तै, खोप नलगाएकाहरू सबैभन्दा टाउको दुख्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने, ज्वरो आउने र अन्त्यमा खोकी लाग्ने अध्ययनले देखाएको छ । दुई वर्षभन्दा धेरै समयदेखि सङ्क्रमितको केसलाई निगरानी गरिएको थियो । यो अध्ययन गर्न ब्रिटिस जनस्वास्थ्य सेवा एनएचएसले सहयोग गरेको थियो । जसमा ४७ लाख भन्दा धेरैले डिजिटल प्लेटफर्ममा सूचीकृत भएका थिए ।

तेस्रो रहरपछि मत्थर भएको कोरोना सङ्क्रमितका सङ्ख्या दुई साता यता बढ्दै गएकाले कोरोनाविरुद्धको खोप नलगाएकाहरूलाई तत्काल खोप लगाउन डा. अधिकारी आग्रह गर्छन् । पूर्ण मात्रा खोप लगाएको ६ महिना कटिसकेकालाई समेत बुस्टर डोज लगाउन उनको आग्रह छ । कोरोनासँगै अन्य सङ्क्रामक रोगहरू फैलिरहेकाले हातको सरसफाइ, मास्कको प्रयोगसँगै जनस्वास्थ्यका मापदण्ड पालना गरेमा सबै सङ्क्रामक रोगबाट जागिन सकिने डा. पुन बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप