अन्तरवार्ता

‘सरकारले आवश्यकताअनुसार सुन ल्याउन दिँदैन, आपूर्ति धान्न तस्कर सक्रिय बन्छन्’

सुनचाँदीको गहना निर्यातको सम्भावना ठूलो छ, व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ : मणिकरत्न शाक्य

person explore access_timeसाउन १, २०७९ chat_bubble_outline0

विश्व बजारमा सुनचाँदीको मूल्य घट्न थालेसँगै नेपालमा पनि मूल्य प्रतितोला ९४ हजार आसपास आइपुगेको छ । यस्तै, केही महिना अघि सरकारले विदेशी मुद्राको सञ्चिति​ जोगाउन सुनचाँदीको आयातमा नियन्त्रण गरेको छ । अहिले दैनिक १० किलो सुन आयात हुँदै आएको छ । यसले नेपालको आन्तरिक माग नधान्ने हुँदा तस्करी हुने गरेको छ । 


यसैगरी, नेपालले पछिल्लो समय विदेशतर्फ सुनचाँदीका गरगहना निर्यात सुरु गरेको छ । यिनै विषयसँग सम्बन्धित रहेर रातोपाटीका लागि निकेश खत्रीले सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यसँग गरेको कुराकानी :





अहिले सुनचाँदीको बजार कस्तो छ ?

नेपालमा असार–साउन महिना सुनचाँदीको अफसिजनका रूपमा लिइन्छ । यी दुई महिना सुनको कारोबार नहुने महिनामा पर्छन् । यो दुई महिना सुनको कारोबार कम हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । नेपालमा पनि घट्दै छ । कारण के होला ?

सुनको मूल्य बढ्नुको मुख्य कारण रुस–युक्रेन युद्ध हो । दुई देशबीचको युद्धका कारणले विश्व बजारमा सुनलगायत सबै प्रकारका कमोडिटीको मूल्य बढेको थियो । सुनसँगै पेट्रोलियम पदार्थको मूल्य पनि बढेको थियो । अहिले धेरै देशहरू यो युद्ध रोक्नका लागि विभिन्न वार्ता तथा सन्धि गर्नतर्फ अग्रसर बनेका छन् । जसबाट भावी दिनमा युद्ध मत्थर हुने वा रोकिने आशासहित कमोडिटीको मूल्य घट्न थालेको छ । यहीक्रममा सुनको मूल्य पनि घट्न थालेको हो । यससँगै, अहिले खाद्यान्नको मूल्य पनि घट्न लागेको छ ।

कोरोना महामारीका कारणले समस्यामा परेको अर्थतन्त्रलाई रुस–युक्रेन युद्धले झनै समस्यामा धकेल्यो । विश्व अर्थतन्त्र मन्दीमा जाने आङ्कलन गर्न थालिएको छ । यसले पनि मूल्य घटाउन सहयोग पुग्यो कि ?

मन्दीमा सबै वस्तुको घट्छ भन्ने छैन । केही वस्तुको भाउ बढ्छ पनि । सन् २००८ को मन्दीबाट पनि हामी उदाहरण लिन सक्छौँ । त्यसबेला विभिन्न देशको मुद्राको भाउ घटेको थियो । केही मुद्राको बढेको थियो । अहिले पनि मन्दीकै त्रासका कारणले सुनको मूल्य घटेको भन्न मिल्दैन । मन्दीमा महँगी पनि बढेर जान्छ । आफूले कमाएको पैसाबाट बढेको वस्तु किन्न सकेन भने भोकभोकै वस्तुनपर्ने बाध्यता पनि आउँछ ।

आजदेखि नयाँ वर्षको बजेट लागू भएको छ । यसबाट देखिने प्रभाव के–कस्ता होलान् ?

बजेटले सुनचाँदी व्यवसायलाई प्रत्यक्ष प्रभावित पार्दैन । तर, अप्रत्यक्ष असर भने पर्छ । परम्परागत व्यवसाय संरक्षण गर्ने भनेर नेपाल सरकारले बजेट विनियोजन गरेको छ । यसबाट सुनचाँदी व्यवसाय पनि समेटिन्छ । यो व्यवस्थाले भोलिका दिनमा राम्रो भूमिका खेल्न सक्छ । बजेटले सुनचाँदी व्यवसायमा सकारात्मक भूमिका खेल्न सक्छ ।

सरकारले विदेशी मुद्राको विनिमय जोगाउन भन्दै सुनको आयात कडाइ गरेको थियो । यसबाट व्यवसायमा कस्तो प्रभाव पर्‍यो ?

यतिबेला विदेशी मुद्राको सञ्चिति बढाउने लक्ष्यसहित सुनचाँदीको आयात कडाइ गरिएको अवस्था छ । एक महिना त आयात नै बन्द भयो । र, अहिले दैनिक १० किलो सुन आयात हुँदै आएको छ । तर, अन्य अत्यावश्यक वस्तुको आयात नगरेर सुन मात्रै आयात गर्नुपर्छ भनेर हामीले भन्नुहुँदैन । त्यसैले नेपाल सरकार र राष्ट्र बैंकको नीतिको समर्थन गर्नुपर्छ । हामीले सरकारी नीति मानेनौँ भने भोलिका दिनमा आउने नकारात्मक स्थितिबाट हामी पनि प्रभावित बन्छौँ ।

तर, सरकारले सुनचाँदी व्यवसायलाई विलासिताको वस्तुको रूपमा मात्रै लियो । नेपालबाट पछिल्लो समय सुनचाँदीका गरगहना पनि निर्यात हुन थालेका छन् । सुनचाँदीको गरगहना निर्यात गर्दा विदेशबाट एक कन्टेनर सामान आयात गरेको भुक्तानी सहजै गर्न सकिन्थ्यो । यसले नेपालको ब्यालेन्स अफ पेमेन्टमा समस्या आउँदैन । निर्यात प्रवर्द्धनका लागि नेपालको नीति नै बाधक छ । त्यसैले सोचेअनुरूप निर्यात हुन सकेको छैन ।

नेपालमा दैनिक कति किलो सुन खपत हुन्छ ?

असार र साउन महिनामा दैनिक १० किलोका दरले सुन खपत हुन्छ । सिजनको समयमा दैनिक ४० किलोसम्म सुनचाँदी खपत हुन्छ । त्यो समयमा १०÷१५ किलो आयात गरेर पुग्दैन । समग्रमा हेर्दा वर्षमा दैनिक ३० किलोका दरले सुन खपत हुन्छ । सरकारले दैनिक ३० किलो सुन आयात गर्न दिने गरी नीति बनाएमा सुनको सहज आपूर्ति गर्न सकिन्छ ।

माग र आपूर्तिबीच ठूलो खाडल देखियो । आपूर्ति कसरी भइरहेको छ ?

हो । नेपालको बजार माग र आपूर्तिबीच ठूलो खाडल छ । सरकारले आवश्यक्ताअनुसार सुन ल्याउन दिँदैन । त्यसैले, नपुग सुन आपूर्ति गर्ने जिम्मा तस्करहरूले लिन्छन् । उनीहरूले नेपालको ठूलो हिस्सा तस्करीमार्फत ल्याउने गर्छन् । यसैगरी, सुन पटक–पटक प्रयोग गर्न मिल्ने वस्तु हो । एक पटक एउटा आकृतिमा बनाइएको सुन पुनः अर्कै आकृतिमा बनाउन मिल्छ । 

यसैगरी, विदेशबाट नेपालमा आउने नेपालीले ल्याउने ५० ग्राम सुनले पनि नेपालमा सुनचाँदीको आपूर्ति गर्न सहज बनाउँछ । यसबाहेक, नेपाल–भारतबीच खुला बोर्डर हुँदा पनि समस्या परेको छ । भारतबाट नेपालमा र नेपालबाट भारतमा सुन तस्करी हुने गर्छ । यता सस्तो हुँदा भारत जान्छ र महँगो हुँदा नेपालतिरै आउँछ ।

नेपालमा अन्य वस्तुभन्दा सुनको बजार ठूलो देखिन्छ । दैनिक करोडौँको कारोबार हुन्छ । यसबाट कति रोजगारी सृजना भएको छ ?

नेपालमा २५ हजार व्यवसायी सुनचाँदीको व्यवसायमा लागेका छन् । यसमध्ये केही महासंघमा दर्ता भएका छन भने केही व्यवसायी दर्ता भएका छैनन् । ती व्यवसायीले थप २ लाख जनालाई रोजागरी दिएका छन् । यसको आधारमा नेपालको १५ लाख जनसंख्या सुनचाँदी व्यवसायमा आश्रित देखिन्छ ।

नेपालमा रोजगारी पाइरहेका कालिगडमध्ये भारतीय र बङ्गलादेशी कालिगड धेरै देखिन्छन् । यसलाई प्रतिस्थापन गर्ने योजना बनेको छैन ?

नेपालमा रहेका कालिगडमध्ये ३० प्रतिशत भारत र बङ्गलादेशका कालिगड छन् । नेपाली कालिगडको क्षमता विकसित भइसकेको छैन । जसले गर्दा सुनचाँदी व्यवसायीले विदेशी कालिगड झिकाउनुपर्छ । नेपाली कालिगडले ‘फिनिस्ड प्रडक्ट’ बनाउन सक्दैनन् । तर, पछिल्लो समय नेपाली कालिगडको क्षमता विस्तार गर्नतर्फ हामी लागेका छौँ । त्यसका लागि विभिन्न निकायसँगको समन्वयमा आवश्यक काम अघि बढिरहेको छ ।

गहनाको डिजाइन समयअनुसार परिवर्तन हुँदै जान्छ । यसमा प्रत्येक वर्ष नयाँ प्रविधि, नयाँ डिजाइन, नयाँ ज्ञान सिक्दै जानुपर्छ । अहिले धेरै प्रकारका नयाँ गरगहना र तीनका डिजाइन आइरहेका छन् । तर, नेपालमा त्यो स्तरका कालिगड छैनन् । र, एकजनालाई दक्ष कालिगड बनाउन ६ महिना लाग्छ । अब छिटोभन्दा छिटो विदेशी कालिगडलाई विस्थापित गर्न हामी लागिरहेका छौँ ।

यस क्षेत्रमा कुल लगानी कति भएको छ ?

सुनचाँदी व्यवसायमा १०० अर्ब रुपैयाँ बराबरको लगानी भएको छ ।

यति ठूलो लगानी छ । यो व्यवसायको सुरक्षाका लागि सरकारले कत्तिको ध्यान दिएको देख्नुहुन्छ ?

यस क्षेत्रमा ठूलो लगानी र लाखौँले रोजगारी पाएका छन् । यो व्यवसायले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि ठूलो योगदान दिएको छ । सरकारले आवश्यक नीति नियम बनाएर यो व्यवसाय, रोजगारी, लगानी र आम्दानीको सुरक्षा गर्नुपर्ने हो । यसका लागि सरकारलाई दबाब पनि दिइरहेका छौँ । सरकारले कानुन बनाएमा यस क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान दिन सक्छ ।

सुनचाँदीबाट बनेका गहना निर्यात सुरु भएको छ । यसको सम्भावना कस्तो छ ?

नेपालबाट विदेशमा गरहगना निर्यातको ठूलो सम्भावना छ । किनकि, भर्खरै सार्वजनिक भएको एउटा समाचारअनुसार अस्ट्रेलियामा १ लाख ३० हजार नेपाली बसोबास गर्छन् । त्यसै गरी, अमेरिका, यूरोप लगायतका देशमा पनि नेपालीको बसोबास बाक्लिँदै गएको छ । उनीहरूले आफ्नो देशको धर्म र संस्कृतिलाई माया गरेर नेपाली गरगहना नै मन पराउँछन् । विदेशमा बसोबास गर्ने नेपालीको आम्दानी पनि राम्रो छ । त्यसैले उनीहरूको खरिद क्षमता पनि राम्रो छ ।

त्यसैले विदेशमा निर्यातको सम्भावना ठूलो छ । यसका लागि सरकारले आवश्यक कदम चालेर सहयोग गर्नुपर्छ । अहिले दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइन्छ । विदेशको मागअनुसार नेपालमा कच्चा पदार्थका रूपमा सुनको आयात गर्न दिइनुपर्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।