लघुकथा : व्यापारिक रणनीति
“ भोलिबाट दूध नल्याउनु है गोपाल ।” दूध लिएर आएको गोपालसँग शर्मिला दिदीले भनिन् । आफ्ना लत्ताकपडा र भाइको पढाई खर्च टार्न दूध बेच्न कसिएको गोपाल शर्मिला दिदीको कुराले अचम्म मान्यो । उसको सबैभन्दा बढी दूध खपत हुने पसल नै यही थियो ।
बाबुले छोडेका भैँसीका बगाल बढ्दै गएपछि पाल्न कठिन भए पनि टुहुरो भाइलाई हुर्काउन दूध बेचेर सहज भएको थियो । उसले भन्यो, “हैन दिदी मैले ल्याएको दूधमा के कमजोरी पाउनु भयो र ? म त सधैँ राम्रै दूध ल्याउँछु । मेरो दूध सबैभन्दा धेरै कटाउने पनि हजुर नै हुनुहुन्छ । ”
“हैन गोपाल त्यस्तो केही पनि होइन । अब म चिया बेच्न नै छोडिदिन्छु ।” शर्मिला दिदीले भनिन् । दूध कता लगेर बेच्ने पिरले गोपालको मनमा चिन्ता पर्न थाल्यो । घरमा नै हुर्केको पाडी पनि भरे हो वा भोलि भएको छ । त्यसपछि त्यसको दूध कता पुर्याउने हो भन्ने बेग्लै चिन्ता पर्न थाल्यो ।
दूध सङ्कलन केन्द्रमा लैजाने हो भने पैसा पनि थोरै आउने, फर्केर आएर दैनिक गोठालो धन्दा सक्दा त आधा दिन भइसकेको हुन्छ । “मलाई त फसाद पर्ने भयो नि दिदी । अझ दूध बढाएर लिनु हुन्छ भनेको त चिया नै पकाउँदिन भन्नुहुन्छ । किन त नि चिया नबेच्ने हुनु भएको ?” गोपालले सोध्यो ।
“हेर न गोपाल, चिया बनाएर बेचेपछि बूढाहरूले छोड्दै नछोड्ने । बूढाहरू भएको ठाउँमा ठिटाहरू छिर्न नखोज्ने । रक्सी त बिक्नै छोड्यो भन्या । रक्सी पिउन सबै उता पातलीको भट्टीमा मात्र जान थाले ।” शर्मिला दिदीले गाउँको बदलिँदो परिस्थितिअनुसार आफूले परिवर्तन गर्न लागेको व्यापारिक रणनीतिको बारेमा बताइन् ।
पोखरा–७,मासबार, कास्की
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण