शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुनौली नाकामा तेस्रो मुलुकका नागरिक पनि कोरोना सङ्क्रमित

आइसोलेसनको अभावमा विदेशीहरू होटेलमा बस्दै
शनिबार, १४ साउन २०७९, १९ : ४७
शनिबार, १४ साउन २०७९

भारतबाट सुनौली नाका हुँदै नेपाल भित्रिनेमध्ये तेस्रो मुलुकका नागरिकहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यहाँ  नियमित परीक्षणका क्रममा फेला परेका सङ्क्रमितमध्ये अधिकांश भारतीय रहेकोमा पछिल्ला दिनहरूमा तेस्रो मुलुकका नागरिकहरूलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोभिड फोकल पर्सन तथा भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले बताएका हुन् । 

यहाँ  दैनिक २ सय देखि ३ सयको परीक्षण गर्दा अहिले दैनिक ८/१० जनामा कोरोना सङ्क्रमण देखिने गरेको छ । नाका बिहान ६ बजेदेखि राति १० बजे सम्म खुल्ला रहने भए पनि विदेशीहरूको लागि २४ घण्टा खुल्ला रहन्छ । त्यस क्रमका कोरोना चेकजाँच गर्दा दैनिक रूपमा   १/२ जना विदेशीलाई  कोरोना पोजेटिभ देखिएको शाहले रातोपाटीलाई बताए । 

साउन लागेपछि  दैनिक नाकामा ८/ १० जनाको दरमा कोरोना भेटिएका मध्ये तेस्रो मुलुकका अमेरिका, जर्मनी तथा विभिन्न बुद्धिस्ट राष्ट्रका नागरिकहरू रहेका छन् । उनीहरू सबै आइसोलेसनमा बसेका छन् ।

आइसोलेसनको अभावमा विदेशीहरू होटेलमा बस्दै 

बेलहियास्थित हेल्थ डेस्कमा  परीक्षण गर्दा  सङ्क्रमित पाइएकाहरूलाई राख्न विगतमा सिद्धार्थ नगरपालिकाले  आइसोलेसन तयार रहेको थियो । तर अहिले सो आइसोलेसन सञ्चालनमा  छैन । केही घण्टा नाकामा राखे पनि त्यसपछि बिरामीले आफै व्यवस्था गर्नुपर्छ । भारतीय नागरिकहरूलाई कोरोना देखिएमा भारत नै फिर्ता पठाउने गरिएको छ भने नेपालीहरूलाई रुपन्देहीको हकमा रेडक्रस मार्फत घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको छ । अन्य जिल्लाको हकमा सम्बन्धित स्थानीय तह या आफै गाडीको व्यवस्था गरेर घर पठाउने गरिएको छ । तेस्रो देशका नागरिकहरूलाई भने वेलहियामा रहेको पर्यटक प्रहरीको समन्वयमा  होटेलमा आफै रकम तिर्ने गरी बस्ने  व्यवस्था मिलाएको छ ।

सुनौली नाकामा अहिले दैनिक ३ सयसम्म एन्टीजेन परीक्षण गर्ने गरिएको छ । असार १ गते देखि आजसम्म  जम्मा ७९८० परीक्षण  गरिएको नाका ल्याब टेक्निसियन लोकेन्द्र कँडेलले बताए । जसमा  १५५ जनालाई कोरोना पोजेटिभ देखिएको छ । 

कोभिड बाहेक अन्य परीक्षण गर्न प्राय: मान्दैन 

सुनौली नाकामा कोरोना बाहेक  अन्य परीक्षणको सुविधा  छ  । तर धरैले  अन्य रोगको परीक्षण गर्न अप्ठ्यारो मान्छन् । सीमा नाकामा रहेको हेल्थ डेस्कमा कोभिड परीक्षणका अतिरिक्त शङ्का लागेका व्यक्तिमा क्षयरोग, मलेरिया  र एचआइभीसम्मको परीक्षण हुने व्यवस्था गरिएको थियो । 

तर नाकामा ओहोरदोहोर गर्ने व्यक्तिहरूले अन्य परीक्षण निकै झन्झट मान्ने गरेका छन् । त्यसो त यहाँ  कोरोना परीक्षण गर्नको पनि स्वास्थ्यकर्मीहरुले  निकै कर गर्नुपर्ने हुन्छ ।

 ल्याब टेक्निसियन कँडेलका अनुसार पछिल्ला दिनहरूका  एचआइभी परीक्षण गर्ने काम रोकिएको छ । एचआइभी परीक्षण गर्दा धेरै सावधानी अपनाउनु पर्ने र गोप्य पनि राख्नु पर्ने  हुन्छ । त्यसमा धेरै इच्छुक नै नदेखिएपछि रोकिएको बताए ।

असारदेखि हाल सम्म मलेरिया रोगको  ४५ पुरुष र २६ महिलाको परीक्षण  गर्दा १ जना बिरामी भेटिएका छन् । यस्तै  टीभीको पनि १०३ जना परीक्षण गर्दा १ जना रोगी भेटिएका छन् । मलेरियाको रोगको रिपोर्ट  तत्काल उपलब्ध हुने भएकोले उनलाई औषधीहरू दिएर पठाउने गरिएको छ । यदि बिरामी अस्पतालमा राख्ने पर्ने अवस्थाको भएमा जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयनमा प्राय भैरहवाको भीम अस्पतालमा उपचार गर्ने गरिन्छ ।

यस्तै टीभी रोगको परीक्षण गरे पनि रिपोर्ट आउन कम्तीमा ५ दिन लाग्ने हुँदा रिपोर्ट आएपछि बिरामी र नजिकको  स्वास्थ्य चौकी सम्पर्क गरेर  नि .शुल्क रूपमा उपचारको व्यवस्था मिलाइएको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप