शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँटमा चुनौती, गाई चुनाव चिह्नका लागि कमल थापाको दलिल

अयोग्य ठहरिएर बर्खास्तमा परेकी न्यायाधीशको यस्तो छ तर्क
सोमबार, २३ साउन २०७९, २१ : ३१
सोमबार, २३ साउन २०७९

आज २०७९ साउन २३ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नै मुख्य चुनौती, सिमरा एयरपोर्टमा करिब डेढ घण्टा एक्लै बसे ओली, अयोग्य ठहरिएर बर्खास्तमा परेकी न्यायाधीशको यस्तो छ तर्क, लोसपालाई सत्तारुढ गठबन्धनमा सामेल गर्ने तयारी, एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन, ‘गाई’ चुनाव चिह्न आफूले पाउनुपर्ने कमल थापाको दलिल लगायत छन् ।

१. सत्तारुढ गठबन्धनमा सिट बाँडफाँट नै मुख्य चुनौती 
सत्तारुढ पाँच दलबीच आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँट नै मुख्य चुनौती हुने देखिएको छ । कतिपय क्षेत्रमा गठबन्धनभित्रकै दुई वा दुईभन्दा बढी दलका प्रभावशाली उम्मेदवार रहेकाले त्यस्तो क्षेत्रमा कसलाई उम्मेदवार बनाउने र कसलाई थन्क्याउने भन्नेबारे गठबन्धनभित्रै हानथाप हुने देखिएको हो । कयौं क्षेत्रमा भने प्रमुख प्रतिपक्षी नेकपा एमाले र गठबन्धनबीच नै ‘हेभी वेट’ भिडन्त हुने देखिएको छ । 

​२. सिमरा एयरपोर्टमा करिब डेढ घण्टा एक्लै बसे ओली
सधैँ नेता, कार्यकर्ताको भिडमा देखिने पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सोमबार सिमरा विमानस्थलमा करिब डेढ घण्टा एक्लै बसे । पार्टी प्रवेश कार्यक्रमका लागि रौतहट जाने क्रममा मौसम खराबीका कारण एक्कासी हावाहुरीसहित पानी परेपछि ओली चढेको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । जसका कारण ओली विमानस्थलको विशिष्ट कक्षमा एक्लै बस्नुपरेको थियो ।

३. अयोग्य ठहरिएर बर्खास्तमा परेकी न्यायाधीशको यस्तो छ तर्क
योग्यताको मापदण्ड नपुगेको भन्दै बर्खास्तमा परेकी न्यायाधीश रेणुका साहले वकालत नगरे पनि आफूले कानुन व्यवसायीले गर्ने अन्य विविध काम गरेको जिकिर गरेकी छन् । आफूमाथि गरिएको कारवाहीलाई चुनौती दिँदै उनले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा त्यस्तो दलिल गरिएको हो । उक्त रिट निवेदनमा प्रारम्भिक सुनुवाई गर्दै इजलासले सक्कल फाइल झिकाउन आदेश दिएको छ ।

४. लोसपालाई सत्तारुढ गठबन्धनमा सामेल गर्ने तयारी
महन्थ ठाकुर नेतृत्वको लोसपा नेपाललाई सत्तारुढ गठबन्धनमा सामेल गर्ने तयारी भइरहेको छ । सूचना तथा सञ्चारमन्त्री एवं सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलका सदस्य ज्ञानेन्द्र कार्कीले यस्तो जानकारी दिएका हुन् । 

५. एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको छ । २०७९ मंसिरमा हुने निर्वाचनका लागि कार्य विभागका प्रमुख एआईजी थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरिएको प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले रातोपाटीलाई बताए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘गाई’ चुनाव चिह्न आफ्नो पार्टीले पाउनुपर्ने दलिल गरेका छन् । सोमबार आफ्नो लिखित मत सार्वजनिक गर्दै उनले कुनै दलले लामो समयसम्म प्रयोग गरेकै आधारमा एउटा कालखण्डमा ‘फ्रिज’ भएको चिह्न फेरि अर्को दलले प्रयोग गर्न नपाउने भन्ने नहुने तर्क गरेका छन् ।

७. जापानी प्रविधि अनुशरण गर्न चाहेको प्रचण्डको भनाइ
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषिको आधुनिकीकरण, व्यावसायीकरण, कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहेको बताएका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सोमबार जापानको सरकारी कृषि बिजनेस सपोर्ट डिभिजनको कुरोउसु अर्किड लिमिटेडको अवलोकन गर्दै नेपालमा कृषिको आधुनिकीकरणका लागि जापानी प्रविधिको अनुसरण गर्न चाहेको बताएका हुन् ।

८. ९३४ जनामा कोरोना संक्रमण
देशभर पछिल्लो २४ घण्टामा ९३४ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार ३५१ जनामा गरिएको नमुना परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो भने एक जनाको मृत्यु भएको छ ।

९. नेपाली क्रिकेटको मुख्य प्रशिक्षकमा मनोज प्रभाकर
भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रशिक्षक मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तर्राष्ट्रिय खेलेका छन् । 

१०. र यो पनि,
सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको छ । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप