मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

उपराष्ट्रपतिद्वारा भैरव नाच अवलोकन

आइतबार, २९ साउन २०७९, १० : ३१
आइतबार, २९ साउन २०७९

नेपाल सरकारका सम्माननीय उपराष्ट्रपति नन्द बहादुर पुनले भक्तपुरको मध्यपुर थिमिस्थित लायकु भैलः नाच अवलोकन गरेका छन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा थिमिको बालकुमारी पुगेका उनले एक घण्टासम्म नाच अवलोकन गरेका हुन् । 

गाई जात्राको भोलिपल्टदेखि चार रातसम्म थिमिका विभिन्न टोलमा नाच प्रदर्शन गर्नुपर्ने परम्परा रहेको छ । लायकू भैलःसँगै यो वर्ष दिगुटोलमा महांकाली, बोडेमा निलबाराही, इन्द्र अप्सरा, भष्मासुर र अष्टमातृको गण नाच प्रदर्शन भइरहेको छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको नाच अवलोकन गर्ने उपराष्ट्रपति पुन नेपाल सरकारका उच्च पदस्थ व्यक्तित्व मध्ये पहिलो हुन् ।

नाचलाई प्रदर्शन गरी आन्तरिक र बाह्य पर्यटक भित्र्याउने उद्देश्यले मध्यपुर पर्यटन विकास र प्रबद्र्धन फोरम समेत गठन गरिएको छ । फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री, सामान्य प्रशासन मन्त्रीदेखि गुठी संस्थानका प्रमुखलाई नाच अवलोकन गर्न औपचारिक रुपमा निम्तो दिएको छ । 

यो वर्ष नाच अवलोकनको लागि आउने पर्यटकको लागि स्थानीय स्तरका पसल तथा बास बस्नको लागि होटलको व्यवस्थापन गरिएको छ । थिमिको तत्कालीन दरबारबाट निकालिने भएर मध्यकालदेखिको इतिहास बोकेको लायकू भैलःलाई राजकीय सम्मान दिइएको छ ।

नेपाल सम्बत ६३३ सालमा भक्तपुरमा अनिकाल पर्दा राजा सुवर्ण मल्लले नवदुर्गा गण नाच, बोडेको निलबाराही तथा थिमिको लायकु भैलः र महाकाली नाच सुरुआत गरेका हुन् । किंवदन्ती अनुसार थिमिमा भूतप्रेत, दैत्य र दानवहरूले दुःख दिन थालेपछि आराध्यदेवी बालकुमारीको पूजा आराधना गरी देवीकै आज्ञा बमोजिम नाच सुरु गरेको हो । भैरव नाचमा बेताल एक, भैरव दुई, कुमारी दुई गरी जम्मा ५ देवगणहरुको सहभागिता रहन्छ । शनिबारदेखि सुरु भएको नाच प्रत्येक राती करिव ८:३० बजेदेखि सुरु हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप