सोमबार, २१ जेठ २०८१
ताजा लोकप्रिय
खेलकुद

आईपीएलको पहिलो क्वालिफायर आज : फाइनलमा पुग्ने पहिलो टोली बन्ने धुनमा कोलकाता र हैदराबाद

मङ्गलबार, ०८ जेठ २०८१, १२ : ०५
मङ्गलबार, ०८ जेठ २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणको पहिलो ‘क्वालिफायर’ खेल मंगलबार खेलिँदैछ । पहिलो ‘क्वालिफायर’ खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादको सामना गर्नेछ ।

उक्त खेल अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा राति ७ः४५ बजे सुरु हुनेछ । पहिलो ‘क्वालिफायर’ खेलमा विजयी हुने टोली सिधै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । पराजित टोलीले भने ‘एलिमिनेटर’ खेलको विजेतासँग दोस्रो ‘क्वालिफायर’ खेल खेल्नेछ ।

कोलकाता नाइट राइडर्स लिग चरणको खेलमा पहिलो हुँदै प्ले–अफ चरणमा प्रवेश गरेको हो । कोलकाताले लिग चरणमा आफूले खेलेको १४ मध्ये नौ खेलमा जित र तीन खेलमा हारको नतिजा निकालेको थियो । कोलकाताको दुई खेल भने अनिर्णीत रूपमा सकिएको थियो ।

यसैगरी हैदराबाद लिग चरणमा १७ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेर प्ले–अफ चरणमा प्रवेश गरेको हो । हैदराबादले लिग चरणमा खेलेको १४ मध्ये आठ खेलमा जित र पाँच खेलमा हारको नतिजा निकाल्यो । हैदराबादको एक खेल भने अनिर्णीत रूपमा सकिएको थियो ।

अहमदाबादमा हालसम्म खेलिएको कुल खेलमध्ये ६७ प्रतिशत नजिता कोलकाताको पक्षमा गएको छ । हैदराबाद भने यो स्टेडियममा पहिलो जितको खोजिमा देखिन्छ । आईपीएलको इतिहासमा कोलकाताले आठौँ र हैदराबादले सातौँ पटक प्ले–अफ चरणमा स्थान बनाएका हुन् ।

यसैगरी आईपीएलको प्ले–अफ चरणमा कोलकाताले ६२ प्रतिशत खेल जितेको छ । हैदराबादले भने प्ले–अफ चरणमा ४६ प्रतिशत खेलमा सफलता हात पारेको छ । आईपीएलको पहिलो क्वालिफायरमा यी दुई टोली पहिलो पटक भिडन्त गर्न लागेका हुन् ।

कोलकाताको प्ले–अफ चरणको यात्रा

यो सिजनको आईपीएलमा कोलकाताले आफ्नो पहिलो खेलमा हैदराबादलाई चार रनले हराएको थियो । दोस्रो खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बैंगलुरुलाई सात विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई एक सय ६ रनले पराजित गरेको थियो ।

आफ्नो चौथो खेलमा भने कोलकाताको टोली चेन्नई सुपर किङ्ससँग सात विकेटले पराजित भएको थियो । कोलकाताले पाँचौँ खेलमा लखनउ सुपर जाइन्ट्सलाई आठ विकेटले पराजित गरेको थियो । छैटौँ खेलमा कोलकाताको टोली राजस्थान रोयल्ससँग दुई विकेटले हारेको थियो ।

kkr

यसैगरी सातौँ खेलमा कोलकाताले बैंगलुरुमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको थियो । आठौँ खेलमा कोलकाताको टोली पञ्जाब किङ्ससँग आठ विकेटले पराजित भएको थियो । नवौँ खेलमा कोलकाताले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको थियो ।

यसैगरी कोलकाताले १०औँ खेलमा मुम्बई इन्डियन्सलाई २४ रनले, ११औँ खेलमा लखनउ सुपर जाइन्ट्सलाई ९८ रनले र १२औँ खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले हराएको थियो । कोलकाता र गुजरातबिचको खेल भने वर्षाका कारण अनिर्णीत रूपमा सकिएको थियो । कोलकाता र राजस्थानबिचको खेल पनि अनिर्णीत रूपमा सकिएको थियो ।

हैदराबादको प्ले–अफ चरणको यात्रा

लिग चरणको आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादको टोली कोलकातासँग चार रनले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा हैदराबादले मुम्बई इन्डियन्सलाई ३१ रनले पराजित गरेको थियो । तेस्रो खेलमा हैदराबादको टोली गुजरात टाइटन्ससँग सात विकेटले पराजित भएको थियो ।

यसैगरी चौथो खेलमा हैदराबादले चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गरेको थियो । हैदराबादले आफ्नो पाँचौँ खेलमा भने पञ्जाब किङ्समाथि दुई रनको रोमाञ्चक जित हासिल गरेको थियो । छैटौँ खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुलाई २५ रनको जित हासिल गरेको थियो ।

srh-1

सातौँ खेलमा हैदराबादले दिल्ली क्यापिटल्सलाई ६७ रनले पराजित गरेको थियो । आठौँ खेलमा हैदराबादको टोली रोयल च्यालेन्जर्स बैंगलुरुसँग ३५ रनले पराजित भएको थियो । नवौँ खेलमा चेन्नई सुपर किङ्सले हैदराबादलाई ७८ रनले पराजित गरेको थियो ।

यसैगरी १०औँ खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई २४ रनले पराजित गरेको थियो । आफ्नो ११औँ खेलमा हैदराबादको टोली मुम्बई इन्डियन्ससँग सात विकेटले हारेको थियो । १२औँ खेलमा हैदराबादले लखनउलाई १० विकेटले हराएको थियो । हैदराबाद र गुजरातबिचको खेल अनिर्णीत रूपमा सकिएको थियो । आफ्नो अन्तिम खेलमा हैदराबादले पञ्जाबलाई चार विकेटले हराएको थियो ।

लयमा फर्किएको कोलकाताको बलिङ

जारी इन्डियन प्रिमियर लिगको लिग चरणमा सात खेल खेल्दासम्म कोलकाताले पाँच जित हासिल गरेको थियो । तर, त्यो पाँचवटै खेल कोलकाताले आफ्ना ब्याट्सम्यानको भरमा जितेको थियो । अघिल्ला सात खेलमा कोलकाताको बलिङ पक्ष निकै कमजोर देखिएको थियो ।

राजस्थान रोयल्सले घरेलु मैदानमा कोलकाताले दिएको दुई सय २४ रनको लक्ष्य पुरा गरेको थियो । यसका अतिरिक्त कोलकाताले दिएको दुई सय २३ रनको लक्ष्य पछ्याएको बैंगलुरुले पनि दुई सय २१ रन बनाएको थियो ।

यसैगरी कोलकाताले दिएको दुई सय ६२ रनको लक्ष्यसमेत पञ्जाबले १९ ओभरमै पुरा गरेको थियो । यी सबै खेलमा ठुलो स्कोर बनाएर पनि कोलकाताको टोली कमजोर बलिङकै कारण पराजित हुन पुगेको थियो ।

तर, पञ्जाबविरुद्धको खेलपछि भने कोलकाताको बलिङमा पनि निकै सुधार आएको थियो । त्यसपछि कोलकाताले हर्षित राणा, वरुण चक्रवर्ती, सुनिल नारिन, वैभव अरोडाजस्ता बलरलाई प्लेइङ–११ मा समावेश गरेको थियो । त्यसैले कोलकाताको बलिङमा सुधार आएको थियो ।

बलिङमा सुधार देखिएपछि चार खेलमा कोलकाताविरुद्ध कुनै पनि टोलीले एक सय ५५ भन्दा बढी रन बनाउन सकेको देखिँदैन । यस क्रममा कोलकाताले दुईपटक मुम्बई इन्डियन्सको आक्रामक ब्याटिङलाई एक सय ५० भन्दा पनि कम स्कोरमा रोकेको थियो । मंगलबार हुने ‘क्वालिफायर’ खेलमा कोलकाताका लागि यो सुखद पक्ष हो ।

कोलकाताको सबल र कमजोर पक्ष

सुनिल नारिनको आक्रामक ब्याटिङ कोलकाताको बलियो पक्षका रूपमा देखिएको छ । कोलकाताको मध्यक्रम पनि लयमा देखिन्छ । कोलकाताले लिग चरणमा ६ पटक दुई सयभन्दा बढी रन बनाइसकेको छ । कोलकाताका पाँच बलरले १२ भन्दा बढी विकेट पनि लिइसकेका छन् ।

sunil-narine

अर्कोतिर, पछिल्ला खेलमा कोलकाता नाइट राइडर्सको बलिङमा सुधार आए पनि ब्याटिङ भने कमजोर बनेको देखिन्छ । इङ्ल्यान्डका प्रभावशाली ब्याट्सम्यान फिल साल्टको अनुपस्थिति पनि कोलकाताका लागि दुःखद पक्ष हो ।

फिल साल्ट आईसीसी टी–२० विश्वकपअघि राष्ट्रिय टोलीमा सहभागी हुन इङ्ल्यान्ड फर्किएका छन् । उनले जारी सिजनको आईपीएलमा कोलकाताका लागि उत्कृष्ट प्रदर्शन गर्दै लिग चरणमा कुल चार सय ३५ रन बनाएका थिए । फिल साल्टको अनुपस्थितिमा कोलकाताले ओपनिङ जोडीमा फेरबदल गर्नु पर्ने देखिन्छ ।

लिग चरणमा कोलकाताले नौ खेल जितेको थियो । कोलकातालाई त्यो सफलता दिलाउन सुनिल नारिन, आन्द्रे रसेल र वरुण चक्रवर्तीको महत्वपूर्ण भूमिका देखिन्छ । त्यसैले सुनिल नारिन तीन पटक प्लेयर अफ दी म्याच घोषित भएका थिए । आन्द्रे रसेल र वरुण चक्रवर्ती पनि दुई–दुई पटक प्लेयर अफ दी म्याच घोषित भएका छन् ।

लयमा फर्किएको हैदराबादको आक्रामक ब्याटिङ

जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबादले अघिल्ला सातमध्ये पाँच खेलमा जित हात पारेको थियो । हैदराबादले पाँचमध्ये चार खेल पहिले ब्याटिङ गर्दै जितेको थियो । यस क्रममा हैदराबादले चार पटक दुई सयभन्दा बढीको स्कोर बनाएको थियो ।

अर्कोतिर, अप्रिल २५ तारिखमा घरेलु मैदानमा खेलिएको खेलमा हैदराबादले रोयल च्यालेन्जर्स बैंगलुरुद्वारा अघि सारिएको दुई सय सात रनको लक्ष्य पनि पुरा गर्न सकेन । लिग चरणमा त्यसपछि हैदराबादले तीनमध्ये दुई खेलमा हार भोग्न पुग्यो ।

यसको अर्थ, लिग चरणको मध्यतिर हैदराबादको ब्याटिङ कमजोर बन्न पुगेको देखिन्छ । तर, फेरि लिगको अन्त्यतिर हैदराबादको ब्याटिङ लयमा फर्किएको देखिन्छ । त्यसैको प्रतिफल हो, लखनउले दिएको एक सय ६६ रनको लक्ष्य हैदराबादले १० ओभरमै पुरा गरेको थियो ।

पञ्जाबविरुद्ध खेलमा पनि हैदराबादले दुई सय १५ रनको विशाल लक्ष्य पुरा गरेको थियो । यही खेल जितेपछि हैदराबाद अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको थियो । त्यसैले लिग चरणको अन्त्यतिर लयमा फर्किएको ब्याटिङ हैदराबादका लागि सुखद पक्ष हो ।

हैदराबादको सबल र कमजोर पक्ष

srh1

जारी सिजनको आईपीएलमा सनराइजर्स हैदराबादको सबैभन्दा बलियो पक्ष आक्रामक ब्याटिङ नै देखिन्छ । खासगरी ओपनिङ जोडी ट्राभिस हेड र अभिषेक शर्माको आक्रामक ब्याटिङले हैदराबादलाई ठुलै राहत दिँदै आएको छ ।

यसका अतिरिक्त मध्यक्रममा नितिश रेड्डी, हेनरिच क्लासन र अब्दुल समादले पनि उत्कृष्ट ब्याटिङ गर्दै आएका छन् । यो सिजन सनराइजर्स हैदराबादले ‘पावर प्ले’ मा कुल आठ सय ८० रन बनाएको देखिन्छ ।

अर्कोतिर, आक्रामक ब्याटिङमा बढी जोड दिएका कारण हैदराबादको बलिङ पक्ष भने केही कमजोर देखिन्छ । खासगरी जवाफी ब्याटिङ गरेर हैदराबादले बढी खेल जित्न सकेको छैन । जवाफी ब्याटिङ गर्दा हैदराबादको टोली ६ मध्ये तीन खेलमा पराजित भएको छ ।

लिग चरणमा हैदराबादले आठ खेल जितेको थियो । त्यसमध्ये तीनपटक ओपनर अभिषेक शर्मा र तीनपटक ट्राभिस हेड प्लेयर अफ दी म्याच घोषित भएका थिए । बलिङतर्फ नटराजन, भुवनेश्वर कुमार र कप्तान प्याट कमिन्सको प्रदर्शन सन्तोषजनक देखिएको छ ।

अहमदाबादमा पहिलो जितको खोजीमा हैदराबाद

कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच पहिलो ‘क्वालिफायर’ खेल अहमदाबास्थित नेरेन्द्र मोदी स्टेडियममा खेलिने छ । यो स्टेडियममा यी दुई टोलीबिच पहिलो पटक भिडन्त हुन लागेको हो । तर, यी दुवै टोलीले यसअघि यो स्टेडियममा अन्य प्रतिद्वन्द्वीसँग भने खेलिसकेका छन् ।  

कोलकाताले नरेन्द्र मोदी स्टेडियममा हालसम्म तीन खेल खेलेको छ । त्यसमध्ये दुई खेलमा कोलकाता विजयी भएको छ । एक खेलमा भने कोलकाता पराजित भएको छ । हैदराबादले भने यो स्टेडियममा हालसम्म दुई खेल खेलेको छ र दुवै खेलमा हार ब्यहोरेको छ ।

लिग चरणमा कोलकाता र प्ले–अफमा हैदराबाद अगाडि

इन्डियन प्रिमियर लिगमा हालसम्म कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबादबिच कुल २६ खेल खेलिएको छ । त्यसमध्ये १७ खेलमा कोलकाताले हैदराबादलाई हराएको छ । नौ खेलमा भने हैदराबादले कोलकातालाई पराजित गरेको छ ।

आईपीएलको लिग चरणमा यी दुई टोलीबिच कुल २३ खेल खेलिएको छ । त्यसमध्ये ७० प्रतिशत खेलमा कोलकाताले हैदराबादलाई हराएको छ । आईपीएलको प्ले–अफ चरणमा भने यी दुई टोलीबिच तीन खेल खेलिएको छ ।

प्ले–अफको ‘एलिमिनेटर’ चरणमा यी दुई टोलीबिच दुई खेल खेलिएको छ । त्यसमध्ये दुवै टोलीले एक–एक खेल जितेका छन् । सन् २०१८ मा खेलिएको ‘क्वालिफायर’ खेलमा भने हैदराबादले कोलकातालाई १४ रनले हराएको थियो ।

सम्भावित टोली

कोलकाता नाइट राइडर्स : श्रेयष ऐयर (कप्तान), सुनिल नारिन, रहमानुल्लाह गुरबाज (विकेटकिपर), अंगकृष रघुवंशी, वेंकटेश ऐयर, आन्द्रे रसेल, रिंकु सिंह, मिचेल स्टार्क, हर्षित राणा, वैभव अरोड र वरुण चक्रवर्ती । इम्प्याक्ट प्लेयर : रमनदीप सिंह ।

सनराइजर्स हैदराबाद : प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, अभिषेक शर्मा, राहुल त्रिपाठी, नितिश कुमार रेड्डी, हेनरिच क्लासन (विकेटकिपर), अब्दुल समाद, शाहबाज अहमद, भुवनेश्वर कुमार, टी. नटराजन र मयंक मारकंडे÷विजयकान्त वियषकान्त । इम्प्याक्ट प्लेयर : जयदेब उनादकट ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप