शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीमा टोपबहादुरलाई कसले देला टक्कर ?

मङ्गलबार, ३१ साउन २०७९, १५ : ४४
मङ्गलबार, ३१ साउन २०७९

२०६४ सालदेखि लगातार अर्घाखाँचीबाट चुनाव जितेका टोपबहादुर रायमाझी अहिले पुनः मैदानमा जाँदैछन् । विगतमा नेकपा माओवादीबाट मैदानमा रहेका रायमाझी अहिले भने एमालेबाट भोट माग्ने अवस्थामा पुगेका छन् ।

गएको स्थानीय निर्वाचनमा गठबन्धनविरुद्ध एक्लै भिडेर अर्घाखाँचीमा पार्टीका उम्मेदवारलाई जिताएका एमाले सचिव रायमाझी अहिले प्रतिनिधिसभा निर्वाचनमा जाने निश्चित रहेको एमाले अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसालले बताए । 

रायमाझीको क्षेत्रमा गठबन्धनबाट नेपाली काँग्रेसले टिकट पाउने निश्चित छ । रायमाझीसँग भिड्न नेपाली काँग्रेसका धेरैले आकाङ्क्षा देखाएका छन् । 

काँग्रेसबाट यसअघि रायमाझीसँग पराजित डा. रामबहादुर बिसी, केन्द्रीय सदस्य  तथा उपसभामुख पुष्पा भुसाल, पूर्व राज्यमन्त्री रेवती भुसाल, नेपाली काँग्रेस प्रदेश सहमहामन्त्री विष्णु मुस्कान, महाधिवेशन प्रतिनिधि लेखनाथ पोखरेलले टिकटका लागि ‘लबिङ’ सुरु गरेको कार्यकर्ताहरू बताउँछन् । 

एमालेबाट प्रतिनिधिसभातर्फ रायमाझी मात्रै देखिए पनि काँग्रेसमा धेरै आकाङ्क्षी देखिएपछि टिकट वितरणमा किचलो हुने देखिन्छ । शेरबहादुर देउवासँग राम्रो सम्बन्ध र अन्य राजनीति हाइटको आधारमा उपसभामुख  पुष्पा भुसालले  टिकट पाउने सम्भावना अधिक रहेको  जिल्लास्तरका  नेताहरू बुझाई छ । उनले २०६४ सालमा चुनाव जितेकी थिइन् भने अहिले समानुपातिक सांसद भएको आधारमा उपसभामुख भएकी हुन् । 

अर्घाखाँचीमा प्रतिनिधिसभातर्फ एक मात्र र प्रदेशतर्फ दुई सिट रहेको छ । रायमाझीले विगतमा माओवादीको तर्फबाट जितेकाले अहिले एमाले प्रवेश गरेका छन् । यसको असर उनको जनमतमा कति पर्छ हेर्न बाँकी छ ।

अर्कोतिर एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी बनेकाले रायमाझीलाई त्यसको असर पनि पर्ने आङ्कलन गरिएको छ । तीन पटक लगातार निर्वाचन जितेर ‘ह्याट्रिक’ गर्दै जिल्लामा एकछत्र जस्तै ‘राज’ गरेका रायमाझीसँग आउँदो निर्वाचनमा गठबन्धनले कसलाई उम्मेदवार बनाउँला र उनले जित्ला कि हार्लान् भन्ने चासोका साथ हेरिएको छ । 

यस्तो छ अङ्कगणित

२०७४ सालमा भएको निर्वाचनमा पूर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीले ५० हजार ३८५ मतका ल्याएर  काँग्रेसका डा रामबहादुर बिसीलेलाई पराजित गरेका थिए । बिसीले ३१ हजार ९४१ मत ल्याउँदा मतान्तर १८ हजार ४४४ रहेको थियो । 

२०७४ सालअघि जिल्लामा २ निर्वाचन क्षेत्र थियो । २०६४ सालमा जिल्लाको १ नम्बर क्षेत्रबाट रायमाझीले काँग्रेसका मानबहादुर विश्वकर्मालाई पराजित गरेका थिए । २ नम्बर क्षेत्रमा काँग्रेसकी पुष्पा भुसाल निर्वाचित भएकी थिइन् । २०७० सालमा रायमाझीले काँग्रेसका रामबहादुर बिसीलाई पराजित गरेका थिए, २ नम्बर क्षेत्रबाट एमालेका डा. दुमन थापा निर्वाचित भएका थिए । 

आउँदो निर्वाचनमा पनि काँग्रेसबाट बिसी या भुसाल मध्ये एकले टिकट पाउने सम्भावना धेरै छ । यस्तै गत निर्वाचनमा प्रदेश सभातर्फ क्षेत्र नम्बर १(क) बाट एमालेका चेतनारायण आचार्य र (ख) बाट पनि एमालेकै रामजी प्रसाद घिमिरे निर्वाचित भएका थिए । 

 अहिले गठबन्धनबाट नेपाली काँग्रेसले संघ र माओवादीले प्रदेशमा टिकट पाउने गरी छलफल भएको  जिल्ला स्तरका नेताहरूको भनाइ छ । तर माओवादीलाई कुन क्षेत्र दिने भन्नेमा अन्योल छ । किनकि यहाँ जनमोर्चाले पनि एक क्षेत्र मागेको छ । त्यसैले केन्द्रबाट निर्णय नहुँदासम्म अलमलमा परेको जिल्ला स्तरका नेताहरू बताउँछन् । 

हालै सम्पन्न स्थानीय तह निर्वाचनबाट अर्घाखाँचीमा एमाले पहिलो शक्ति बनेको थियो । वडाध्यक्षहरूले पाएको मतको आधारमा एमाले ४८२६०, काँग्रेस ३७९२५, माओवादी ७७९०, राजमो ४२९४, एस ३७६३ मत पाएका थिए । 

एमालेका बलिया उम्मेदवार रायमाझीले जिल्लाको धेरै  विकास गरेको ,संगठनका हिसाबले राम्रो पकड रहेको मान्नेहरू पनि धेरै छन् । तर अर्घाखाँचीमा सधैँ एउटा नेतालाई मत दिँदा मतदाताहरू वाक्क भएका काँग्रेस अर्घाखाँचीका महाधिवेशन प्रतिनिधि तथा प्रतिनिधि सभातर्फ आकाङ्क्षी लेखनाथ पोखरेलको जिकिर छ । उनले जिल्लाले नयाँ अनुहारको खोजी गरेका कारण गठबन्धन भएपछि जित्न सकिने दाबी गर्छन् ।

६ पालिका रहेको जिल्लामा एमालेका प्रमुख÷उपप्रमुख सबै स्थान जितेको छ । जिल्ला समन्वय समिति एमालेको एकल छ । काँग्रेस जिल्ला सभापति  केशव श्रेष्ठले जिल्लामा एमालेविरुद्ध गठबन्धन गर्ने पक्षमा गृहकार्य भइरहेको बताए । उनले टिकट केन्द्रको विषय भएकोले जसलाई टिकट दिइए पनि जिताउने गरी काम हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप