कोरोना महामारी

कोरोना महामारीले बढे मानसिक रोगी

नेपालमा ५८.८ प्रतिशतमा पोष्ट कोभिडको समस्या

person explore access_timeभदौ १, २०७९ chat_bubble_outline0

ललितपुरको सानेपा बस्दै आएका प्रमोद पाण्डे (नाम परिर्वतन) गते चैतको अन्तिम साता दुई हप्तासम्मको उपचार पछि कोरोना सङ्क्रमणमुक्त भए । ३१ वर्षीय पाण्डे सङ्क्रमण मुक्त भएपछि पनि धेरै रातहरू ननिदाइ काटे । उनले निद्राको मात्र समस्या नभएर शरीर गल्ने, डर लाग्ने, थाहा भएका कुरा झट्ट भन्न खोज्दा याद नआउने समस्या महसुस गर्न थाले । यो समस्या करिब डेढ महिनासम्म देखिएपछि उनी अस्पताल पुगे । अस्पतालले पोष्ट कोभिडको आशङ्कामा त्रिवि शिक्षण अस्पतालको मानसिक विभागमा देखाउन सुझाव दिए । 


विभागका चिकित्सकले उनलाई एङ्जाइटी भएको बताए । चिकित्सकको परामर्शसँगै औषधि सेवन गर्न थालेपछि अहिले बल्ल उनी निदाउन थालेका छन् । शरीर गल्ने पहिलाभन्दा कम भए पनि पूर्णरुपमा निको नभएको उनी अझै महसुस गर्छन् । 



यस्तै, शान्तिनगरकी नमिता दाहाल (नाम परिर्वतन) र उनकी डेढ वर्ष छोरी जेठको पहिलो साता सङ्क्रमणमुक्त भए । होमआइसोलेनमा करिब १६ दिनको बसाइपछि कोरोना सङ्क्रमणमुक्त भएका थिए आमाछोरी । उनलाई सङ्क्रमणमुक्त भएपछि धेरै थकान लाग्ने र निद्रा नलाग्ने हुन थाल्यो भने उनकी छोरीलाई खोकी लाग्न थाल्यो । छोरीलाई स्वास्थ्यकर्मीको सुझावअनुसार खोकी औषधि खुवाइन् । 



तर, उनलाई छोरीलाई पुनः कोरोना सङ्क्रमण हुन्छ भन्ने चिन्ताले एकोहोरो सताउने, निद्रा नपर्ने र धेरै शरीर गल्ने भयो । बच्चालाई कोरोना सङ्क्रमण हुने डरले उनलाई जागिर नै छाडौँ छाडौँ लाग्ने, परिवारका सदस्यले छोरीलाई हेरचाह गर्दासमेत विश्वास नलाग्ने र मनमा छोरीलाई गाह्रो हुने त होइन भनेर एकोहोरो नकारात्मक कुरा मात्रै आउन थालेपछि उनले आफ्नो सोच र व्यवहार पहिला जस्तो नभएको महसुस गरिन् । 

त्यसपछि उनले आफै यसबारे गुगलमा सर्च गरिन् । अध्ययन गर्दै जाँदा उनले आफूलाई डिप्रेसन वा एङ्जाइटी मध्ये एक भएको आशंका गरिन् । अनि उनी मनोपरामर्श केन्द्र पुगिन् । त्यहाँ पुगेर थाहा भयो, उनलाई त डिप्रेसन हुन थालिसकेको थियो । मनोचिकित्सकको परामर्श र औषधि सेवन गरेपछि उनी सामान्य अवस्थामा फर्किएकी छन् । 

वीर अस्पतालले विभिन्न अस्पतालसँग समन्वय गरी गरेको एक सर्वेक्षणले नेपालमा ५८.८ प्रतिशतमा पोष्ट कोभिडको समस्या भएको देखाएको छ । जसमध्ये २३ प्रतिशतमा एङ्जाइटी र डिप्रेसन जस्ता समस्या देखिएको थियो । उनीहरूमा कोरोना सङ्क्रमणमुक्त भए पनि मन आत्तिने, डराउने, निद्रा नलाग्ने, चाँडै थकान लाग्ने, निराश हुने, भन्न खोजेका कुरा बिर्सने जस्ता समस्याहरू देखिएको सर्वेक्षणले देखाएको छ । अस्पतालका डा.प्रज्वल श्रेष्ठका अनुसार कोरोना सङ्क्रमण मुक्त भएका ७ हजार जनामा यो सर्वेक्षण गरिएको जानकारी दिए । 

श्रेष्ठका अनुसार कोभिडबाट सङ्क्रमणमुक्त भएको ३ देखि ९ महिनाको अवधिमा विस्तारै लक्षणहरू देखिन कम हुँदै गएको पाइएको बताए । सङ्क्रमणका कारण आईसीयू र भेन्टिलेटरमा उपचार गराई बाँच्न सफल भएका केही बिरामीलाई १२–१४ महिनासम्म खोकी लाग्ने, राति निद्रा नपर्ने, कोभिड लाग्नुभन्दा पहिला जस्तो ऊर्जाशील बन्न नसक्ने पाइएको उनले बताए । 

त्यस्तै मनोविश्लेषक वासु आचार्य पनि नेपालमा कोरोना महामारी सुरु भएदेखि एङ्जाइटी र डिप्रेसनका बिरामी बढेको सुनाउँछन् । कोरोना महामारी कारण सुरुवाती दिनमा सङ्क्रमणको त्रास, सङ्क्रमणपछि परिवारका सदस्यहरू मृत्यु, लकडाउनमा लामो समयसम्म घरभित्र मिलेर बस्ने नसक्दा अर्थात् एडजस्मेन्ट प्रबलमले गर्दा एङ्जाइटी र डिप्रेसन भएको पाइएको उनले जानकारी दिए । 

उनी भन्छन्, ‘सङ्क्रमण भयो अब मरिन्छ कि जस्तै गरेर प्यानिक हुने समस्या समेत देखिएको थियो । असहजता बढ्दै गएपछि त्यस माहौल हामी टिक्न र घुलमिल हुन नसक्दा मानसिक बिरामीको थपिए ।’

जो यस समस्यासँग जुधेर अगाडि बढे उनीहरूलाई केही पनि भएन, तर अन्यलाई भने पोष्ट कोभिडले विभिन्न शारीरिक समस्यासँगै मानिसक समस्या पनि बढेको मनोविश्लेषक आचार्यले सुनाउँछन् । पहिलो र दोस्रो कोरोना महामारीमा सम्हालिन नसक्नेहरूलाई लामो समयसम्म असहज हुने,  दिक्दारी लाइरहने, डराउने, रिसाउने, रुने, धेरै चिन्ता लिने, बाच्न मन नलाग्ने, जीवन असहज हुने जस्ता समस्या लिएर आइपुग्ने गरेको मनोविश्लेषक आचार्यले बताउँछन् । 

इडीसीडीका अनुसार २०२० मे–जुन महिनामा फिभर क्लिनिकमा आएका ६४५ जनामा गरिएको एक सर्वेक्षणमा  १५ प्रतिशतमा एङ्जाइटी र ७ प्रतिशतमा डिप्रेसन देखिएको थियो । यस्तै, २०२० को मे महिनामा स्वास्थ्यकर्मीहरूमा गरिएको सर्वेक्षणमा पनि ४१.९ मा डिप्रेसनका लक्षण, ३७.५ प्रतिशतमा एङ्जाइटीका लक्षण र ३३.९ प्रतिशतमा निद्राको समस्या देखिएको थियो । यस्तै, २०२१ मा स्वास्थ्य विज्ञानका विद्यार्थीहरू गरिएको सर्वेक्षणमा ४३ प्रतिशतमा डिप्रेसन, ३३ प्रतिशतमा एङ्जाइटी र  २९ प्रतिशतमा निद्राको समस्या देखिएको थियो । 

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. रवि शाक्यले महामारीपछि  मानसिक स्वास्थ्य समस्याका बिरामीको दर बढेको स्वीकार गर्छन् । पोष्ट कोभिड भएका बिरामी अस्पतालमा निरन्तर आइरहेको उनले बताए । पोष्ट कोभिड भएर आउने बिरामी बढे पनि नेपालको सन्दर्भमा पोष्ट कोभिडका कारण मानसिक स्वास्थ्य समस्या भएका बिरामी यति नै सङ्ख्यामा थपिए भन्न पूर्णरुपमा सर्वेक्षणको नभएको बताउँछन् । 

विश्वव्यापी तथ्याङ्कलाई हेर्दा २० देखि ३० प्रतिशतसम्म सङ्क्रमितलाई पोष्ट कोभिड भएको पाइएको छ । तर नेपालमा भने पोष्ट कोभिडका बिरामी बढेको हो भनेर प्रमाणित गर्नका लागि सम्बन्धित निकायले अध्ययन नगरेकाले भन्न समस्या भएको शाक्यले सुनाए । 

महामारीको पहिलो र दोस्रो लहरपछि पोष्ट कोभिडको समस्या देखिन थालेको त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ डा.सरोज ओझा पनि स्वीकार गर्छन् । पोष्ट कोभिडमा देखिने रोगहरूमध्ये मानसिक समस्या केही मानिसमा दीर्घकालसम्म रहने उनले बताए । 

महामारीमा सामाजिक सञ्जाल र इन्टरनेटमार्फत कोभिडबारे नचाहिने जानकारी लिँदा पनि मनोवैज्ञानिक त्रास बढेर मानसिक समस्या भएको डा ओझा बताउँछन् । महामारीले रोजगारी गुमाएका, विभिन्न सामाजिक समस्या झेलेकाहरूलाई पनि मानसिक समस्याले सताएको उनले सुनाए । 

मनोविश्लेषक आचार्य भूकम्प गएको एक दुई महिनापछि पोष्ट ट्रमा समस्या देखिएको स्मरण गर्छन् । कुनै घटना हुनासाथ र कुनै घटना भएको दुई तीन महिनापछि पोष्ट ट्रमाका बिरामी देखिने गर्छ । २०७२ सालको भूकम्प पछि पुनः भूकम्प आयो भने कसरी भाग्ने होला भनेर सोचेर बस्ने । भूकम्पको डरले भुइँ तलामा आफू बस्ने र माथिल्ला तलाहरू भाडामा दिए पनि अझै पनि भूकम्पकै कारण मरिन्छ भन्ने मनमा एकोहोरो त्रास पैदा भइरहन्छ भनेर परामर्शका लागि बिरामी आउने गरेको उनले सुनाए । 

चिन्द्रनिगाहपुरका दीपेश शाह (नाम परिवर्तन) अहिले इन्जिनियरिङ अध्ययन गर्दै छन् । २०७२ सालको भूकम्पपछि उनी आफ्नो घरमा बस्न मानेनन् । उनको घर साढे तीन तलाको भएकाले भूकम्प आउँदा दुर्घटना हुन्छ भन्दै एक तला भएको मामाको घरमा बस्न थाले । परिवारका सदस्यले बारम्बार घरमा जान आग्रह गर्दा उनले ‘घर नजिकै पाल राखेर बस्ने ठाउँ बनाइदिए बस्छु’ भन्थे । मनोचिकित्सक कहाँ लगेर परामर्श गरेपछि हिजो आज उनको डर कम हुँदै गएको छ । 

मानसिक समस्या जटिल रोग होइन

मानसिक रोग विशेषज्ञ डा. ओझा शारीरिक स्वास्थ्य समस्या जस्तै मानसिक स्वास्थ्य समस्या पनि परामर्श तथा उपचारपछि निको हुने बताउँछन् । समाजमा अझै पनि मानसिक स्वास्थ्य समस्या भन्ने बित्तिकै नकारात्मक दृष्टिकोण बनाइने उनले बताए । ‘एङ्जाइटी भन्नाले मन डराउने समस्या हो । डिप्रेसनमा मन उदास हुने निराश हुने, दिक्क लाग्ने  बच्न मन नलाग्ने आदि मनमा आउनु डिप्रेसन हो,’ सबैभन्दा पहिले एङ्जाइटी र डिप्रेसन ठूलो रोग होइन भन्ने बुझ्न अति आवश्यक रहेको उनले सुनाए ।

डिप्रेसन र एङ्जाइटी निको हुँदैन भन्ने मान्यता राख्न नहुने र यसलाई परामर्श तथा औषधि उपचारमार्फत निको पार्न सकिने उनले बताए । मानसिक स्वास्थ्यप्रति सकारात्मक धारणा बनाउन जनचेतना फैलाउन राज्यले ध्यान दिनुपर्ने उनले बताए । हाल नेपालमा भएका मानसिक स्वास्थ्य उपचार तथा परामर्शसम्बन्धी सेवालाई सर्वसुलभ बनाउनुपर्ने उनको भनाई छ । मेडिकल अफिसरहरूलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउने व्यवस्था सम्बन्धित निकायले गर्नुपर्नेमा उनको जोड थियो । 

एङ्जाइटी र डिप्रेसनको शङ्का लागे तत्काल सहयोग लिनुपर्ने उनी बताउँछन् । सामान्य खालको एङ्जाइटी र डिप्रेसन भएको खण्डमा जीवनशैलीलाई सुधार गरेकै खण्डमा निको पार्न सकिने उनले जिकिर गरे । जस्तै ठिक समयमा सुत्ने, उठ्ने, शारीरिक अभ्यास गर्ने र पोषणयुक्त खाना खाने र निरन्तर सकारात्मक सोच राख्ने गर्नुपर्छ ।

कोभिड सङ्क्रमणपछि तपाईंलाई पनि मनोवैज्ञानिक सहयोगको आवश्यकताको महसुस भएमा विभिन्न संघसंस्थाले सञ्चालनमा ल्याएका हेल्प लाइनमा फोन गरी सेवा लिन सकिन्छ ।  तलका नम्बरहरूमा निःशुल्क सम्पर्क गर्न सकिन्छ :

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज मनोचिकित्सक हेल्पलाइन नम्बर ९८४९६३०४३०

आत्महत्या रोकथाम हेल्पलाइन ९८४००२१६००

कान्तिबाल अस्पताल ९८०८५२२४१०

टिपिओ नेपाल १६६००१०२००५

सिएमसि नेपाल १६६००१८५०८०

कोसिस नेपाल १६६००१२२२३

आत्महत्या रोकथाम र मानसिक स्वास्थ्य सहयोग केन्द्र १६६००१२२२२३

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।