नागरिकता विधेयक खारेज गर्नुपर्छ : पौडेल
राष्ट्रिय जनमोर्चाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गरेको छ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले राष्ट्रपतिले पुनर्विचारका लागि प्रतिनिधिसभामा सो विधेयक पठाएकोमा स्वागत गर्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरिन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले नेपालजस्तो खुला सीमाना भएको मुलुकमा नागरिकता दिने विषयलाई निश्चित विधि बनाएर मात्रै अघि बढाउनुपर्ने बताइन् । खुला सीमा भएको देशले जन्मको आधारमा र वैवाहिक नागरिकताको आधारमा विवाह गर्ने वित्तिकै नागरिकता दिन नहुने उनको अडान थियो ।
उपाध्यक्ष पौडेलले विवाहितको लागि अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने व्यवस्था गर्नुपर्ने पार्टीको अडान रहेको पनि स्पष्ट पारिन् । उपाध्यक्ष पौडेलले विवाह गरेलगत्तै अंगीकृत नागरिकता पाउने व्यवस्था विश्वमा कहीँ पनि नभएको दावी समेत गरिन् ।