शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अटो दुर्घटनामा मृत्यु भएकाहरूको क्षतिपुर्ति माग गर्दै पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध

बिहीबार, ०२ भदौ २०७९, १७ : ११
बिहीबार, ०२ भदौ २०७९

रौतहटको पौराई जंगलमा भएको अटो दुर्घटनामा ज्यान गुमाउनेको परिवारलाई राहत दिनुपर्ने माग गर्दै पूर्व पश्चिम लोकमार्ग अवरूद्ध बनाइएको छ । बिहीबार बिहान पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत रौतहटको पौराई जंगलमा काठमाडौंबाट आउँदै गरेको प्रदेश ०३–००१ ख २०१ नम्बरको बसको ठक्करबाट बागमतीबाट रौतहटतर्फ जाँदै गरेको प्रदेश २–२००१ ह २१०९ नम्बरको अटोमा सवार तीन पुरूषको मृत्यु भएको थियो भने एक महिला गम्भीर घाइते भएकी थिइन् ।

सोही घटनाका मृतकका आफन्तहरूले दिउँसो घटनाका पीडितलाई उचित राहतको माग गर्दै पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध गरिदिएका हुन् । उनीहरूले लोकमार्गस्थित पुतली चोकमा टायर बालेर विरोध प्रदर्शन गरेको इलाका प्रहरी कार्यलय कर्मैयाले जनाएको छ ।

विरोधमा उत्रिएका उनीहरूले सडकमा अटो तेर्स्याएर अवरुद्ध गरेका थिए । राजमार्ग अवरुद्ध हुँदा पूर्व पश्चिम लोकमार्गमा यात्रारत सयौं यात्रु अलपत्र परेका छन् । सडक अवरुद्ध भएको एक घण्टापछि यातायात व्यवसायी संघ र मृतकका आफन्तबीच घाइतेको सम्पूर्ण उपचार गर्ने र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउने सहमति पश्चात सडक खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सडक खुलेसँगै सडकमा अलपत्र यातायात र यात्रु गन्तव्यतर्फ लागेका छन् ।

दुर्घटनाका अटो चालक सर्लाहीको बागमती नगरपालिका–५, टेकानी बस्ने रवि मगर, अटोमा सवार ढंकबहादुर लुंगेलीमगर र प्रेम ठाडामगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

सोही दुर्घटनामा परेर ढकबहादुरकी श्रीमती सविना लुंगेली मगर समेत गम्भीर घाइते भएकी छिन् । उनको रौतहटकै अस्पतालमा उपचार भइरहेको छ । घटनामा परेका सबै मृतक एकै गाउँको रहेको स्थानीयले जनाएका छन् । एकै गाउँका तीन जनाको दुर्घटनामा ज्यान गएको खबरपछि गाउँ शोकमा डुबेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप