शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका ‘टप टेन’ समाचार

शुक्रबार, ०३ भदौ २०७९, २१ : ५८
शुक्रबार, ०३ भदौ २०७९

आज मिति २०७९ साल भदौ महिनाको ३ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रिकालीन प्रस्तुति ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ ।

१. संसदको कार्यकालबारे सर्वोच्चमा रिट
सरकारले निर्वाचनको मिति घोषणा गरिसकेपछि प्रतिनिधि र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । बिहीबार अधिवक्ता मनिराम उपाध्याय लगायत पाँच जनाले संघीय सरकार, प्रतिनिधिसभा, सभामुख र सात वटै प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

यसअघि अधिवक्ता उपाध्यायसहितले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन पेश गरेका थिए । तर उक्त निवेदन कामु मुख्य रजिस्ट्रार नारायण पन्थीले दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरिदिएका थिए ।

​२. सत्ता गठबन्धनको बैठक

सत्ता गठबन्धनले सिट बाँडफाँट कार्यदललाई त्यसबारे साझा धारणा तय गर्न र कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सिट बाँडफाँट कार्यदललाई नै त्यसबारे साझा धारणा तय गरेर आउन निर्देशन दिएका हुन् ।

३. प्रदीप गिरिको अवस्था नाजुक

नेपाली काँग्रेस नेता प्रदीप गिरिको अवस्था नाजुक बन्दै गएको छ । उनको  ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार हुँदै आएको छ । काँग्रेस नेता विमलेन्द्र निधिले गिरिको अवस्था गम्भीर रहेको भन्दै ईश्वरीय चमत्कारको लागि प्रार्थना गरेका छन् ।

​४. निहारिका प्रकरणमा शिवराजमाथि छानबिन जारी

निहारिका राजपुत प्रकरणका आरोपित युवक शिवराज श्रेष्ठलाई मंगलबार साँझ धनुषा प्रहरीले पक्राउ गर्यो । प्रहरीले श्रेष्ठलाई पक्राउ गर्नुको कारण खुलाएको छैन, यद्यपि प्रहरीमाथि अभद्र व्यवहार गरेपछि सोही कसुरमा पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

श्रेष्ठले के कस्तो अभद्र व्यवहार गरेका कारण प्रहरीले पक्राउ गरेको हो, खुलाएको छैन । यद्यपि प्रहरीले श्रेष्ठमाथि अभद्र व्यवहारको मुद्दामा जिल्ला प्रशासन कार्यालय धनुषाबाट बुधबार ५ दिनको म्याद लिएर ‘अनुसन्धान’ गरिरहेको बताएको छ ।

​५. कृष्णजन्माष्टमी मनाइयो

आज भाद्र कृष्णपक्ष अष्टमी तिथि अर्थात् श्रीकृष्ण जन्माष्टमी । आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्‍टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन कीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ गरी रातभर जाग्राम बस्ने प्रचलन छ ।

​६. दुई प्रदेशका सरकारलाई आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले एक नम्बर प्रदेश र गण्डकी प्रदेश सरकारलाई निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमबारे अघि नबढाउन स्पष्टीकरणसहित निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको निर्वाचन गर्नेगरी मिति तोकी सकेको अवस्थामा दुवै प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम मार्फत बजेट खर्च गर्न लागेकोमा गम्भीर ध्यानाकर्षण भएको भन्दै ५ बुँदे स्पष्टीकरणसहित ३ बुँदे निर्देशन दिएको हो ।

​७.  माओवादी बैठक शनिबार पनि बस्ने

नेकपा माओवादी केन्द्रले पदाधिकारी टुंगो लगाउन भन्दै बोलाएको बैठक निष्कर्ष विहीन भएको छ । शुक्रबार बिहान पार्टी कार्यालय कोटेश्वरमा बसेको स्थायी कमिटी बैठकले पदाधिकारीसहित अन्य सांगठनिक संरचनालाई पूर्णता दिन असफल भएको हो ।

बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको बताए । शनिबार दिउँसो १ बजे पुनः बैठक बसेर यस विषयलाई टुङ्ग्याइने उनको भनाइ छ।

नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को नेतृत्व सुबोध श्रीपालीलाई दिने तयारी भएको छ। शुक्रबारदेखि सुरु भएको दोस्रो राष्ट्रिय भेलाबाट उनलाई नेतृत्वमा चयन गर्ने तयारी भएको हो ।

​८. मिल्क बैंक स्थापना

नेपालमा पहिलो पटक परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा ‘ह्युमन मिल्क बैंक’ स्थापना गरिएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले यसको उद्घाटन गरेकी हुन् । ह्युमन मिल्क बैंकमा दुध धेरै आएर दुहेर फाल्नुपर्ने अवस्था सिर्जना भएका महिलाले दान गरेको दुध राखिन्छ । अस्पतालका नवजात शिशु विभागकी प्रमुख तथा बालरोग विशेषज्ञ डाक्टर कल्पना सुवेदीले दुध धेरै आएर फाल्नुपर्ने अवस्था सिर्जना भएका महिलाको दुध संकलन गरी परीक्षण गरेर ‘पास्चराइजेसन’ गरिने बताइन् ।

एक सय मिलिलिटरको बोतलमा सो दुध राखेर माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा भण्डारण गरिन्छ । त्यसरी बोतलमा राखिएको दुध आमाको दुध नपाएका शिशुलाई खुवाइने उनले बताइन् ।

९. कोरोना अपडेट

पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ जनामा परीक्षण गर्दा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ४८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु संख्या भने शून्य रहेको छ । हाल देशभर सक्रिय संक्रमित ५ हजार २४ जना रहेका छन् ।

१०. यो पनि..

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पठाएको जवाफ अखिल नेपाल फुटबल संघ (एन्फा)ले तत्काल सार्वजनिक नगर्ने संकेत देखिएको छ । मुख्य प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फालाई इमेलमार्फत जवाफी पत्र पठाएका हुन् । एन्फाले भने उक्त पत्रलाई तत्काल सार्वजनिक नगर्ने देखिएको हो । एन्फाका महासचिव किरण राईले अल्मुताइरीले पठाएको जवाफ अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।

डेंगुका केस ह्वात्तै बढेको छ । गएको एक महिनामै डेंगुको ७ सय केस भेटिएको इपिडिमियोलोजी तथा रोग निमन्त्रण महाशाखाले जनाएको छ । गएको पुस महिनायता झण्डै साढे ११ सय जनामा डेंगु पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा गोकर्ण दाहालले गएको वर्षभन्दा यस वर्ष डेंगुको बिरामी बढेको बताए ।

​नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । गृहजिल्ला तनहुँको दमौली आइपुगेका पौडेलले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाटै प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

दुई महिनादेखि काठमाडौं उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको लाग्ने भएको छ ।  पटकपटक सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विभिन्न माग राखेर फोहर व्यवस्थापनमा अवरोध गरेपछि उपत्यकाको फोहर दुई महिनादेखि व्यवस्थापन हुन सकेको थिएन ।

​थप समाचार

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप