शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग

बिहीबार, ०९ भदौ २०७९, १३ : ४९
बिहीबार, ०९ भदौ २०७९

नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल सरकारसँग वर्तमान समय सान्दर्भिक बौद्धिक सम्पत्ति सम्बन्धी कानुन ल्याउन माग गरेको छ । संघले ‘नेपालमा वैदेशिक लगानी आउनमा बाधक बौद्धिक सम्पत्ति सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर सो कुराको माग गरेको हो । 

कार्यक्रममा स्वागत मन्तव्य दिँदै संघका कार्यवाहक अध्यक्ष सुनिल केसीले वर्तमान परिप्रेक्ष्य बौद्धिकमा सम्पत्तिको अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गर्दै विश्वव्यापी डिजिटल परिवर्तन हुँदै गरेको समयमा यो अत्यन्त महत्त्वपूर्ण तथा समसामयिक विषय रहेको र यस सम्बन्धी हाम्रो कानुनमा पनि समय सापेक्ष सुधार हुनु आवश्यक रहेको बताए । यसैको अभावमा नेपालमा सञ्चालित स्थापित विदेशी लगानीका कम्पनीहरूले पनि समस्या भोग्नुपरेको तथा यस बौद्धिक सम्पत्तिको कानुनको प्रभावकारी कार्यान्वयनको अभावमा हामीले विदेशी लगानी आकर्षित गर्न नसकिरहेको पनि बताए । 

बौद्धिक सम्पत्ति भन्दा यसभित्र ट्रेडमार्क, कपीराईट, पेटेन्ट डिजाइन लगायतका विषयहरू समेत समातिएर आउने तथा यो एक बृहत् विषय भएको परिप्रेक्ष्य पनि यो सम्बन्धी कानुन विश्व बौद्धिक सम्पत्ति सङ्गठन तथा अन्य संस्थाहरूले तय गरेका मापदण्ड अनुरूप गर्न आवश्यक रहेकोमा समेत जोड दिनुभयो । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको सम्भावना र अवसर हुँदा हुँदै पनि बौद्धिक सम्पत्तिको संरक्षणका लागी समय सापेक्ष कानुनको अभावमा लगानी भित्रिन नसकेको बताउँदै पछिल्लो समय तयार भएको बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी विधेयकको मस्यौदामा सरकारले सरोकारवाला निकायसँग छलफल गर्नुपर्ने बताए । 

उक्त कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले बौद्धिक सम्पत्ति संरक्षण सम्बन्धी कानुन भए पनि समय अनुसार त्यसमा परिमार्जन हुन नसक्दा हाल देखा परेका बौद्धिक सम्पत्ति सम्बन्धी समस्या समाधान हुन नसकेको बिचार व्यक्त गरे । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले पनि व्यापार घाटा कम गर्नको लागी सरका तथा निजी क्षेत्रका समन्वयमा काम गर्न सकिने भएकोले सरकारले निर्यातमुखी नीतिमा जोड दिनुपर्ने भन्दै बौद्धिक सम्पत्ति सम्बन्धी कानुन समय सापेक्ष हुनुपर्नेमा जोड दिए । 

छलफलमा लामो समय देखी बौद्धिक सम्पत्ति सम्बन्धी कानुनी पैरवी गरिरहेका वरिष्ठ अधिवक्ता सज्जनवरसिंह थापाले नेपालमा ५७ वर्ष पुरानो कानुनको अभ्यास भइरहेकोले गर्दा पछिल्लो समय उत्पन्न भएका बौद्धिक सम्पत्तिका मुद्दाहरूको निराकरण तथा समाधान हुन नसकेको बताउनुभयो ।

नेपालमा रहेको बहुराष्ट्रिय कम्पनीहरूको प्रतिनिधित्व गर्दै सूर्य नेपालका प्रबन्ध निर्देशक रविकुमार रायभरमले आफ्नो प्रस्तुति दिँदै विश्वमा कूल अर्थतन्त्रको एक तिहाइ भाग बौद्धिक सम्पत्तिमा आधारित भए पनि नेपालमा भने समय सापेक्ष कानुन तर्जुमा हुन नसक्दा यो क्षेत्रले गति लिन नसकेको जिकिर गरे । 

कार्यक्रममा किरण सुजका अध्यक्ष तथा प्रबन्ध निर्देशक अमिर प्रताप राणाले बौद्धिक सम्पत्ति संरक्षणमा सरकारले प्रभावकारी र समय सापेक्ष कानुन तर्जुमा नगर्दा नेपालमा भएका उद्योगहरूले पनि समस्या भोगिरहेको बताए । 

उद्योगीहरूको धारणा र समस्या सुने पश्चात् उद्योग मन्त्री दिलेन्द्र प्रसाद बडूले बौद्धिक सम्पत्ति संरक्षणका लागी सरकार समय सापेक्ष कानुन निर्माण गर्न सकारात्मक रहेको बताउँदै पुरानो कानुनलाई परिमार्जन गर्दै नयाँ कानुनले उद्योगीका समस्या समाधान हुने गरी कानुन निर्माण गर्न सरकार गम्भीर रहेको बताउँदै यसमा सरोकारवालाहरुसँग पनि छलफल गरिने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा धन्यवाद मन्तव्य दिँदै संघका उपाध्यक्ष तथा डाबर नेपालका व्यापार प्रमुख हरकिरत सिंह बेदीले अहिलेको डिजिटलाईजेशनतर्फ अग्रसर विश्वमा यो बौद्धिक सम्पत्ति सबैको चासो र प्रमुख सरोकारको विषय भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप