शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

साना दलका ठूला सपना, ‘कतै जिति पो हालिन्छ कि ?’ (भिडियो)

आइतबार, १२ भदौ २०७९, ०८ : ५१
आइतबार, १२ भदौ २०७९

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिदै गर्दा ठुला मुख्य राजनीतिक पार्टीहरू गठबन्धन बनाउन, सिट बाँडफाँड गर्न र आफूले जित्ने क्षेत्रको आँकलनमा व्यस्त भइरहेका छन् । यता साना राजनीतिक दलहरू पनि कतै कुनै क्षेत्रमा जित हात पार्न सकिन्छ कि भन्ने आशमा दल दर्ता तथा समानुपातिक तर्फको मनोनयन प्रक्रियामा भाग लिन कागजपत्र बोकेर निर्वाचन आयोग पुगिरहेका छन् । 

शुक्रबारदेखि आइतबारसम्म भइरहेको समानुपातिक तर्फको निर्वाचन प्रणालीका लागि राजनीतिक दलको मनोनयन दर्ता प्रक्रियामा धेरै साना दल पनि सहभागी भएका छन् । अधिकांशले ७  वटै प्रदेशका लागि समानुपातिक तर्फ आफ्नो दलको मनोनयन दर्ता गराएका छन् । 

संगठन, कार्यकर्ता र जनमत खासै धेरै नभएका यस्ता साना दलहरूले कतै कुनै क्षेत्रमा जित्न सकिन्छ कि भन्ने आश गरेका छन् भने कतिपयले समानुपातिक तर्फ एक दुई सिट हात पार्न सकिन्छ कि भन्ने आशा समेत गरेका छन् । जित नभए पनि आफ्नो दलको कति जनमत रहेछ भनेर थाहा पाउन पनि निर्वाचनमा जान लागेको केही दलका नेताले बताए । 

आइतबार अर्थात् आज समानुपातिक निर्वाचन तर्फ राजनीतिक दलको मनोनयन दर्ता गर्ने अन्तिम दिन । आयोगको केन्द्रीय कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा साना ठुला दलका प्रतिनिधिहरू पालो पर्खेर आफ्नो पार्टीको मनोनयन दर्ता गराइरहेका छन् । 

अघिल्ला निर्वाचनहरूमा समानुपातिक तर्फ केही सिट हात पारेको नेपाली जनता दल पार्टीका अध्यक्ष हरिचरण साह आफै निर्वाचन आयोग पुगेर समानुपातिक तर्फ दलको मनोनयन दर्ता गरे । उनको दल जस्तै अन्य विभिन्न साना दल चुनावी प्रक्रियामा भाग लिन तम्तयार भएर लागि परेका छन् । हामीले केही साना दलका नेताहरूसँग उनीहरू निर्वाचनमा कसरी सहभागी हुँदैछन् भन्नेबारे बुझ्ने प्रयास गरेका छौँ ः 

हरिचरण साह, केन्द्रीय अध्यक्ष, नेपाली जनता दल 

नेपाली जनता दलका अध्यक्ष हरिचरण साह चुनावमा सांसद पद जित्नुमात्रै जित नभएर चुनावमा भाग लिनु पनि लोकतन्त्रको जित हुने बताउँछन् । उनको दलले समानुपातिक तर्फ ७ वटै प्रदेशमा पार्टीको मनोनयन दर्ता गरेको छ । उनले आफू पार्टी अध्यक्ष भए पनि यो पटकको निर्वाचनमा प्रत्यक्ष तर्फपनि उम्मेदवारी नदिने र समानुपातिक तर्फको बन्द सूचीमा पनि आफ्नो नाम नराख्ने उल्लेख गरे । 

उनले भने–‘यो पटकको चुनावमा म नउठ्ने बिचार गरेको छु । सबै उम्मेदवार युवा पुस्ताका साथीहरूलाई बनाउने योजना छ । म उम्मेदवार नभएपछि अरू साथीहरूले पनि मौका पाउँछन् । मैले पनि ७७ वटै जिल्लामा भाषण गर्न जान पाउँछु ।’ 

उनले समानुपातिक तर्फ ७ वटै प्रदेशमा पार्टीको मनोनयन दर्ता गरेको र संघीय चुनावमा पनि १६५ प्रत्यक्ष र ११० समानुपातिक सिटका लागि उम्मेदवार खडा गरेर जाने तयारी भइरहेको बताए । यस्तै प्रदेशसभा तर्फ पनि सबै सिटमा उम्मेदवारी खडा गरेर जाने तयारी गरेको बताए । 

हुकुम बहादुर लामा, अध्यक्ष, नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक) 

नेपाल सुकुम्वासी पार्टी (लोकतान्त्रिक)का अध्यक्ष हुकुम बहादुर लामा आगामी चुनावमा ७ वटै प्रदेशमा प्रतिस्पर्धामा सहभागी हुने बताउँछन् । उनले भने–‘प्रतिनिधि सभाका लागि प्रत्यक्ष तथा समानुपातिक तर्फ ७ प्रदेशका सबै निर्वाचन क्षेत्रमा भाग लिने योजना छ ।’

आफ्नो दल २०६४ सालमा दर्ता भएको र नेपालभर संगठन भएको पार्टीका अध्यक्ष लामाले दाबी  गरे । देशभर हाल ७० लाख सुकुम्वासी रहेको र उनीहरूको मुद्दा लिएर पार्टी अघि बढेको उनले बताए । ४० लाख सुकुम्वासीहरू मतदाता रहेको बताउँदै उनले सुकुम्वासीहरूको समस्या समाधानमा मात्र नलागी देशकै हितका लागि लागिपरेको बताए । 

प्रत्यक्ष तर्फ १ सय ६५ वटै क्षेत्रमा उम्मेदवार खडा गरेर जाने र त्यसका लागि तयारी भइरहेको उनले बताए । 

राजु नेपाल, सहमहासचिव,  जनजागरण नेपाल पार्टी 

जनजागरण नेपाल पार्टीका सहमहासचिव राजु नेपालले आफ्नो दलले आगामी चुनावमा जानका लागि घोषणापत्र तयार पारेको बताउँदै देशका ७ वटा प्रदेशमा ११० वटै समानुपातिक सिटका लागि प्रतिस्पर्धा गर्ने र प्रत्यक्ष तर्फ तीन चार जना मात्रै भए पनि उम्मेदवार उठाउने गरी तयारी गरिरहेको बताए । 

संगठन कमजोर रहेका कारण प्रत्यक्षमा धेरै उम्मेदवार उठाउन नसकिने उनको भनाई छ । उम्मेदवार पाए प्रदेशसभामा पनि चुनाव लड्ने उनले बताए । 

२०७० सालको चुनावमा तीन चार महिना मिहिनेत गरेर समानुपातिक तर्फ एकजना सांसद निर्वाचित गर्न सफल भएको बताउँदै उनले अहिले पनि चुनाव आउँन ३ महिना बाँकी रहेको विभिन्न जिल्लामा संगठन बनाउन र मतदाता बढाउन लागिपर्ने उनले बताए । उनले आफ्नो दलले झुटको खेती नगर्ने र गर्न सक्ने काम मात्र गर्ने नीति लिएको उल्लेख गरे । 

सिकेन्द्र महरा,  केन्द्रीय सदस्य,  बहुजन एकता पार्टी

बहुजन एकता पार्टीका केन्द्रीय सदस्य सिकेन्द्र महराले आफ्नो दलले चुनावको तयारी राम्रै ढङ्गले अघि बढाइरहेको बताए ।

उनले भने–‘विशेष गरी तराईका जिल्लाहरूमा राम्रै तयारी भइरहेको छ ।  पहिलोपटक संसदीय चुनावमा पार्टीले भाग लिन लागेको हो । जनताले कसरी लिन्छन् हेर्न बाँकी छ ।’ 

२०७८ सालमा स्थापना भएको यो पार्टीले गत स्थानीय तहको निर्वाचनमा पनि पहिलो पटक भाग लिएको थियो । कति निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने बारे अझै निर्क्योल भई नसकेको उनले बताए । जनताका बिचमा जाँदा जनताले राम्रो मानिरहेकोले नतिजा राम्रो आउने अपेक्षा रहेको बताए । उनले तराईका जिल्लामा धेरै जनता गरिब भएकोले उनीहरूको सेवा गर्ने पार्टीको लक्ष्य रहेको बताए । 

डिके लिम्बु, केन्द्रीय सचिव, आमूल मसिहा पार्टी, 

क्रिश्चियन धर्मावलम्बीको बाहुल्यता रहेको र विभिन्न चर्चका पाष्टरहरु नेता रहेको आमूल मसिहा पार्टी गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि सहभागी भएको थियो । सो चुनावमा सोचेजस्तो मत पाउन नसकेको यो दलले पनि सात वटै प्रदेशमा विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिने तयारी गरेको पार्टीका सचिव डिके लिम्बुले रातोपाटीलाई बताए । 

संघ र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवार उठाउने पार्टीले निर्णय गरेको उनले बताए । 

उनले भने–‘चुनावी तयारीका लागि विभिन्न ठाउँमा कार्यकर्ताहरू पनि खटाइरहेका छौँ । हाम्रो पार्टी आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विजयी होला भन्ने मैले आशा लिएको छु । प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ धेरै धेरै उम्मेदवार उठाउने जमर्को गरिरहेका छौँ । पूर्वको १ नम्बर प्रदेशदेखि सुदूरपश्चिम प्रदेशसम्म १ सय ६५ उम्मेदवार उठाउने तयारी गरेका छौँ ।’

उनले देशको आमूल परिवर्तन र उन्नति गर्न, भ्रष्टाचारलाई निर्मूल गर्नका लागि पाटी स्थापना गरेको लिम्बुले बताए । 

हेर्नुहोस् भिडियो :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप