मेरो जीवन

‘मैले देखेका सपना सबै पूरा भइसके’

व्यवसायमा नआएको भए म पाइलट हुन्थेँ : शेखर गोल्छा

person explore access_timeअसोज ८, २०७९ chat_bubble_outline0

काठमाडौँ । गोल्छा समूहका कार्यकारी निर्देशक हुन् शेखर गोल्छा । नेपालको पुरानो व्यावसायिक घराना गोल्छा अर्गनाइजेसन उनका हजुरबुबा रामलाल गोल्छाले सुरु गरेका थिए । विराटनगरबाट सुरु भएको गोल्छा अर्गनाइजेसनको व्यवसाय देश–विदेशमा फैलिएको छ । गोल्छा अर्गनाइजेसनअन्तर्गत १७ हजारले रोजगारी पाइरहेका छन् ।


सेन्ट जेभियर्सबाट विद्यालयस्तरको अध्ययन पूरा गरेका शेखरले दिल्ली विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तथा बेलायतको वेस्टर विश्वविद्यालयबाट बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरेका छन् ।



गोल्छाले गोल्छा अर्गनाइजेसनअन्तर्गत अटो, इनर्जी, इन्स्योरेन्स, इलेक्ट्रोनिक्स, बायोसाइन्स, वित्तीयलगायत धेरै क्षेत्रमा लगानी गरेको छन् । हाल उद्योग वाणिज्य महासङ्घको नेतृत्व गरिरहेका शेखर गोल्छाका जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।



म शाकाहारी

शाकाहारी हुँ म । सामान्य दालभात, तरकारी मेरो मनपर्ने खाना हो । तरकारीमा धेरै चिल्लो मनपर्दैन, चुजी छैन । उमेर बढ्दै गएपछि पहिले मन नपरेको भेन्टा अहिले मनपर्छ । अहिलेको मेरो फेबरेट पनि हो ।

रेस्टुरेन्ट धेरै जान्छु । अहिले म उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा छु । धेरै कार्यक्रममा सहभागी हुनुपर्ने, साथीभाइसँग भेटघाट गरिरहनुपर्ने र परिवारसँग बाहिर हिँड्ने भएकाले सातामा ३, ४ पटक मात्र घरमा डिनर र लन्च गर्छु । अन्य समय बाहिर नै खान्छु ।

बाहिरको जापानिज, कोरियन, इटालियनलगायत शाकाहारी खाना मीठो लाग्छ । पकाउन भने रुचि छैन । 

सजग छु

फिट्नेसमा सजग छु । बिहान करिब २ घण्टा फिट्नेसका लागि दिन्छु । नियमित मर्निङवाक, त्यसपछि क्रस ट्रेनर र स्विमिङ गर्छु । एक्सरसाइजका लागि म क्लब कहिल्यै जान्नँ । घरमै एक्सरसाइजका सबै सामान छन् ।

ब्रान्डेड लिन्छु

उद्योग वाणिज्य महासङ्घको नेतृत्व गरिरहेकाले आधिकारिक र औपचारिक पोसाकमा हुन्छु । मैले दैनिक एक दुई कार्यक्रम भ्याउनुपर्छ । मनपर्ने ड्रेस क्याजुअल नै हो । क्याजुअलमा पनि टिसर्ट र जिन्सपाइन्ट बढी मनपर्छ ।

मनपर्ने पहिरन रङ कालो र सेतो हो । त्यसैले मेरो अफिस सबै कलो छ, भने घर सेतो । कपाल झरेकाले चिसो र गर्मीमा क्यापसमेत लगाउनुपर्ने बाध्यता हुन्छ । पहिरन ९० प्रतिशत रेडिमेट नै किन्छु । मेरा केही फेबरेट ब्रान्ड छन् । ती मात्र प्रयोग गर्छु ।

फुर्सद छैन 

उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा आएपछि फुर्सदै छैन । शनिबार पनि कार्यक्रम पर्छ । चैतपछि भने फुर्सद हुने अनुमान गरेको छु । मेरा साथीहरू धेरै छन् । फुर्सदमा उनीहरूलाई र परिवारलाई समय दिन्छु ।

पत्रपत्रिका स्क्यान

पहिले धेरै पुस्तक अध्ययन गर्थें । अहिले अध्ययनका लागि भ्याएको छैन । तर पनि नियमित दैनिक बिहान ८ वटा पत्रपत्रिका स्क्यान (सरसर्ती हेर्ने) गर्छु । रातोपाटी मेरो फेबरेट अनलाइन मिडिया हो । योबाहेक अन्य पनि हेर्छु । दैनिक आधा घण्टा ट्विटर फलो गर्छु । यसले बाहिरको गतिविधि थाहा पाउन सजिलो हुन्छ ।

पहिले रियल लाइफका एड्भेन्चर खालका किताब धेरै पढ्थेँ । अहिले वास्तविक जीवन कथाहरू, आध्यात्मिक पुस्तकहरूमा रुचि छ । आफ्ना कमजोरीलाई शक्तिमा बदल्ने र बिजनेसका पनि सफलताका कथाहरू पढ्छु । 

फुटबल र क्रिकेट 

सानैदेखि म खेलप्रेमी थिइनँ । स्कुले जीवनमा स्पोर्ट डेमा सधैँ डाक्टरको प्रमाणपत्र लगेर साइडमा बस्थेँ । अहिले खेलकुदमा फुटबल र क्रिकेट हेर्छु । फुटबलमा चर्चित खेलहरू हेर्छु । क्रिकेटका लागि मैले धेरै पटक महत्त्वपूर्ण कार्यक्रमसमेत छाडेको छु ।

सन् १९८९ तिर होला । त्यतिबेला भारतले नेपालमा नाकाबन्दी गरेको थियो । त्यही कारण नेपालमा औषधि अभाव देखियो । त्यतिबेला म २१ वर्षको मात्र थिएँ । नेपालको अभाव पूरा गर्न पाकिस्तान आफैँ गएर विभिन्न औषधि भित्र्याएर सेवा गरेँ । त्यो समय मैले औषधि व्यवसाय सिक्ने मौका पाएँ ।

धेरै घुम्थेँ

घुमघाम एकदमै रुचि छ । पहिले धेरै घुम्थेँ, अहिले व्यस्तताले घुमघामका लागि समय मिलाउन सकेको छैन । नपुगेका  देश तथा ठाउँहरू घुम्न मनपर्छ । अहिलेसम्म करिब ६५ देश पुगेँ होला । पुगेको ठाउँ, कल्चर, रहनसहन र त्यहाँको खानपान र विभिन्न विषय बुझ्न मनपर्छ ।

अहिले रुवान्डा र अफ्रिकाका दुई तीनवटा देश जाने प्लानिङ गर्दैछु । साउथ अमेरिकाका केही देश पुग्न मन छ । देशका करिब ५५, ६० जिल्ला घुमेँ होला । उद्योग वाणिज्य महासङ्घको नेतृत्वमै रहँदा सबै जिल्ला पुग्छु । 

सामसुङ नै हो

मोबाइल सामसुङ नै बोक्छु र बेच्छु पनि । मसँग जहिले पनि सामसुङको लेटेस्ट फोन हुन्छ । मोबाइलमा फोन गर्ने, उठाउनेको अलवा ट्विटर, ह्वाट्सएप लगायत सामाजिक सञ्जाल प्रयोग गर्छु । मोबाइल अहिलेसम्म हराएको छैन । मोबाइलको इन्स्योरेन्स गर्ने गरेको छु ।

टीभी, फिल्म

टीभी हेर्न भ्याउदिनँ । टीभीका लागि म धेरै अन्तरवार्ता दिन्छु । तर आफ्नै अन्तरवार्ता हेर्न भ्याउँदिनँ । फिल्म त कहिलेकाहीँ हेर्छु । रुचि छ । यो वर्ष एउटा मात्र फिल्म हेरेँ होला ।

बुद्धि खेलाउनुपर्ने खालका फिल्म मनपर्दैन । फिल्म रमाइलोका लागि हेर्छु ।  हलिउड, बलिउड, नेपाली सबै प्रकारका फिल्म हेर्छु ।

मेरो इन्ट्रेस्ट भिन्न

व्यावसायिक घरानाको भए पनि मेरो इन्ट्रेस्ट भिन्न थियो । तर व्यवसायमा होमिएँ । 

सन् १९८९ तिर होला । त्यतिबेला भारतले नेपालमा नाकाबन्दी गरेको थियो । त्यही कारण नेपालमा औषधि अभाव देखियो । त्यतिबेला म २१ वर्षको मात्र थिएँ । नेपालको अभाव पूरा गर्न पाकिस्तान आफैँ गएर विभिन्न औषधि भित्र्याएर सेवा गरेँ । त्यो समय मैले औषधि व्यवसाय सिक्ने मौका पाएँ ।

त्यसरी व्यवसायमा होमिएको म अहिले औषधि निर्माण गरेर विश्वका १४ देशमा बेच्छु । मोटरसाइकल पनि बनाउँछु । इलेक्ट्रोनिक उत्पादन भित्र्याउँछु, वितरण गर्छु ।

इन्स्योरेन्स कम्पनीहरूमा समेत मेरो लगानी छ । नन् बैङ्किङ फाइनान्ससमेत चलाउँछु । 

अहिले शिक्षा र अस्पतालमा पनि लगानी गर्ने सोच छ । माइक्रो फाइनान्सको व्यवसायसमेत धेरै बढाउन चाहन्छु । मोटसाइलका धेरैवटा पार्टस् नेपालमा बनाउने प्रतिबद्धता गरेको छु । अहिले मेरो नेतृत्वमा उद्योग वाणिज्य महासङ्घ छ । सङ्घमा आबद्ध भएको बीस वर्षअगाडि हो ।

बाउबाजेको यो सङ्घमा रगत पसिना भएकाले यसमा मिहिनेत गरेको छु । हाम्रो परिवारबाट कसैले पनि सङ्घको नेतृत्व गरेको थिएन । त्यही भएर मेरो इन्ट्रेस्ट जाग्यो । व्यवसायमा मैले जे पनि गरेको छु, आफ्नै सिर्जनाले गरेको छु । मैले आफ्नो इच्छा नभएको कुनै पनि बिजनेस गरेको छैन ।

जागिर पनि खाएँ

२१ वर्षको हुँदा म्यानेजमेन्टमा मास्टर गर्न यूके पुगेको थिएँ । त्यो समय म परिवारसँग खर्च लिन्नथेँ । आफैँ कमाएर पढ्छु भन्ने जोस थियो । जागिर गरेँ ।

काम त गाह्रो थियो । तर पनि मैले गरेँ । डेढ वर्ष जागिर खाएँ । त्यसपछि जागिर गरिनँ । जागिर सिर्जना गर्ने र हजारौँलाई  जागिर दिन काम गरेँ ।

प्रेम विवाह गरेँ

मारवाडी परिवारको सदस्य म । पन्तकी छोरीसँग विवाह गरेँ । हाम्रो इन्टरकास्ट प्रेम विवाह पनि हो । हाम्रो पहिलो भेट दिल्ली विश्वविद्यालयमा भएको थियो ।

त्यसपछि भेट बाक्लिँदै भयो । करिब ६, ७ वर्षपछि हामीले विवाह गर्यौँ । विवाहमा मेरो परिवारबाट अवरोध भएन, अन्य क्षेत्रबाट अवरोध थियो । तर पनि प्रेम सफल भयो ।

सपना त्यही हो

जीवनमा मैले देखेको सपना जे थियो त्योभन्दा धेरै पाएको छु । एउटा असल मानिस भनेर सबैले मलाई चिनून् । अहिलेको  सपना त्यही हो ।

अहिले गर्नुपर्ने केही देखेको छैन । ठूलो बिजनेस म्यान बन्ने थियो, धेरै पैसा कमाउने अहिले यो चाहना छैन । कसैको केही नबिगार्ने, करुणा र क्षमाको जिन्दगी बिताएको मानिसका रूपमा मलाई चिनून् भन्ने छ ।

धेरै कुरा बिर्सन्छु । यो खराब बानी हो । तर यसले भने मलाई सुखी बनाएको छ । किनभने म दुःख पनि बिर्सन्छु । कसैले आफूलाई नराम्रो गरेको भए पनि बिर्सन्छु ।

सुख र दुःख

जैन धर्ममा म विश्वास गर्छु । बुद्धिज्मबाट पनि धेरै कुरो सिक्ने प्रयास गरेको छु । जीवन ‘करुणा’ हो । दलाइ लामाले भनेको यो एउटा कुरा मैले पनि जीवनमा महत्त्वपूर्ण रूपमा लिएको छु ।

मनमा करुणा राख्न सकियो भने जीवन सुखमय र सफल हुन्छ । 

महासङ्घको नेतृत्वमा आएपछि धेरै समस्या समाधान गर्न नसक्ने अवस्था पनि देखिए । प्रयास गर्दा पनि नहुँदा चित्त दुखाइरहन्छ । कसैको काम गरिदिँदा जब धन्यवाद म्यासेज आउँछ त्यसले मलाई धेरै खुसी बनाउँछ ।

भूल त धेरै

जीवनमा भूल त धेरै भए । भूल नभएको जीवन कहाँ हुन्छ र ? हरेक भूलबाट सिकेको छु मैले । ती भुल नदोहोर्‍याउने प्रयास गरेको छु । मानिस भएपछि गल्ती भइहाल्दोरहेछ । जति हुनसक्छ गल्ती न्यून गर्दै लानुपर्छ ।

बिजनेसमा आउनु भूल भयो भन्दिनँ । बिजनेस म्यान नभएको भए, विश्वका उत्कृष्टमध्ये एक पाइलट हुन्थे । किनभने उडानमा मेरो एकदमै रुचि छ । पाइलट त चाहेँभने अहिले पनि सजिलै हुनसक्छु ।

सबै बिर्सन्छु

धेरै कुरा बिर्सन्छु । यो खराब बानी हो । तर यसले भने मलाई सुखी बनाएको छ । किनभने म दुःख पनि बिर्सन्छु । कसैले आफूलाई नराम्रो गरेको भए पनि बिर्सन्छु ।

बरु साथीहरूले नै अस्ति भन्न नहुने कुरो भनेँ भन्दै आएर सरी भन्छन् । उसले के भनेको थियो, त्यो सबै बिर्सिसकेको हुन्छु । कहिलेकाहीँ साथीहरूकै नाम बिर्सियो भनेर समेत गुनासो हुन्थ्यो ।

पपगीत मनपर्छ

गीत सङ्गीत सुन्छु । पपगीत बढी मनपर्छ । पाकिस्तानी सुफी टाइपका सङ्गीत धेरै नै मनपर्छ । गीतहरू हिन्दी, नेपाली अङ्ग्रेजी सबै प्रकारका सुन्छु । एक दिन गीतको एल्बमसमेत ल्याउँछु ।

प्रेसर रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । स्वास्थ्यमा विशेष ध्यान दिने भएकाले कामको कारणले निम्तिएको प्रेसरबाहेक अन्य रोग छैन । प्रेसर नियमित औषधि खान्छु ।

मापसे इन्जोय गर्छु

मापसेमा इन्जोय गर्छु । तर लिमिटमा खान्छु । मापसे राम्रो ब्रान्ड मात्र लिन्छु । घरमा धेरै प्रकारका छन् । सजाएर हैन, कोही आउँदा काम लाग्छ भनेर राखेको । साथीभाइ आउँदा जुन खाने इच्छा गर्छन् । त्यही खुवाउँछु ।

राशिमा विश्वास छैन

म राशिमा कहिले विश्वास गर्दिनँ । मैले अहिलेसम्म कुनै पनि काम साइत हेरेर गरेको छैन । बुबाले भन्नुहुन्थ्यो, ‘तिमीले राम्रो काम गर्दा साइत हेर्नु पर्दैन ।’ वास्तु, भविष्यवाणी, राशि लगायत केहीमा पनि मलाई विश्वास छैन । 

मृत्यु निश्चित छ

मृत्यु निश्चित छ, सबैलाई आउँछ । यो सत्य हो । मोह छोडेर मृत्युवरण गर्न सकियो भने त्यो मृत्यु सुखद हुन्छ । मानिसले मृत्युपछि पनि बचाउने कर्म गर्नुपर्छ ।

कसैले मेरो सम्झनामा फोटो राखोस् भन्ने मेरो इच्छा पक्कै पनि छैन । राम्रो जीवन बाँच्यो, राम्रो मानिस थियो । यति भनिदिए पुग्छ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।