मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सत्ता गठबन्धनमा लोसपा जोडिँदा यसरी फेरियो सिट बाँडफाँटको हिसाब

शुक्रबार, २१ असोज २०७९, २२ : १०
शुक्रबार, २१ असोज २०७९

सत्ता गठबन्धनमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भित्रिएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीबीच सिट बाँडफाँटको हिसाब फेरिएको छ । जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न पुगेपछि बाँडफाँटमा गठबन्धनभित्र सिट थपघट हुने देखिएको हो । 

सत्ता गठबन्धनबाट जसपा बाहिरिएर लोसपा भित्रिएपछि पहिले भएको सिट बाँडफाँटमा हेरफेर हुने भएको छ । यसअघि कांग्रेसले ८६, माओवादीले ४४, एकीकृत समाजवादीले १७, राष्ट्रिय जनमोर्चाले २ सिट पाउने करिब सहमति भएको थियो । 

गठबन्धनभित्र १६ सिट मात्र भाग परेपछि असन्तुष्ट भएर जसपा नेकपा एमालेसँग तालमेल गर्न पुगेको छ । जसपाको ठाउँमा लोसपा गठबन्धनमा जोडिँदा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको केही सिट बढ्ने भएको हो । 

शुक्रबार बसेको गठबन्धनको बैठकमा माओवादीलाई ४५, एकीकृत समाजवादीलाई २० र जनमोर्चालाई २ सिट दिने गरी बाँडफाँट भएको छ । १६५ निर्वाचन क्षेत्र मध्ये बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ । कांग्रेसका एक पदाधिकारीले भने, 'अब कांग्रेसले ९० भन्दा बढी सिटमा उम्मेदवारी दिने अवस्था आएको छ । माओवादीले पनि ४६ र एकीकृत समाजवादीले करिब २० सिटसम्म पाउने जस्तो छ ।'

जसपालाई दिएको सिट लोसपालाई दिन नपर्ने भएपछि कांग्रेस, माओवादी र एकीकृत समाजवादीको भागमा केही सिट थपिने कांग्रेसका एक पदाधिकारीले रातोपाटीलाई बताए । कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच प्रतिनिधिसभाको सिट बाँडफाँट करिब टुङ्गिएको छ ।

शुक्रबार बिहान ९ बजेबाट बसेको गठबन्धनको बैठकले करिब १० घण्टा लगाएर सिट बाँडफाँट टुङ्ग्याएको हो । शुक्रबार लोसपाका नेताहरूले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग मात्र छलफल गरेका थिए । कांग्रेसका एक जना पदाधिकारीका अनुसार लोसपालाई प्रतिनिधिसभामा बढीमा ८ सिट दिइने छ । 

सत्ता गठबन्धनभित्र लोसालाई चुनावी तालमेलमा समेट्ने सैद्धान्तिक सहमति भएको छ । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा आवद्ध दल र लोसपाबीचको छलफलमा उक्त सहमति भएको लोसपा कार्यकारिणी सदस्य जितेन्द्र सोनलले जानकारी दिए ।

उनले भने, 'आजको बैठकमा गठबन्धनभित्र लोसपाको भूमिका, आवश्यकता, सहभागीतालगायतका विषयमा सैद्धान्तिक सहमति भएको छ, भोलि बस्ने बैठकबाट सिट बाँडफाँटको टुंगो लगाउँछौँ ।'

 

 


लोसपा भित्रिँदा सिट बाँडफाँटमा चुनौती

लोसपाका लागि गठबन्धनमा केही निर्वाचन क्षेत्र मिलाउन सकस देखिएको छ । लोसपालाई दिने ८ सिटमा निर्वाचन क्षेत्रको समस्या देखिएको कांग्रेसका नेताले रातोपाटीलाई बताए ।

रौतहट १ मा गठबन्धनबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार हुने पहिले नै सहमति भइसकेको छ । तर ०७४ मा (तत्कालीन राजपा) लोसपाका नेता अनिल झा सो क्षेत्रबाट निर्वाचित भएका थिए । गठबन्धनमा लोसपाले झाका लागि रौतहट १ मागेको छ । 

यस्तै एकीकृत समाजवादी पार्टीले पाउने निश्चित भएका बारा ४ र धनुषा ३ लगायतका क्षेत्रमा पनि लोसपाको दाबी छ । ०७४ मा बारा ४ मा लोसपाका राम एकवाल मिया र धनुषा ३ मा राजेन्द्र महतो निर्वाचित भएका थिए । उक्त क्षेत्र आफूले पाउने पर्ने लोसपाको प्रस्ताव छ ।

बारा ४ मा एकीकृत समाजवादीले नेता किसान श्रेष्ठ र धनुषा ३ मा रामचन्द्र झालाई गठबन्धनबाट उम्मेदवार बनाउने तयारी गरिसकेको छ । यसले लोसपाका लागि गठबन्धनभित्र सिट बाँडफाँटमा सकस बनेको ती नेताले बताए । केही क्षेत्रमा कांग्रेसका लागि पनि लोसपाका नेताको व्यवस्थापन समस्या देखिएको छ ।

पर्सा ४, महोत्तरी २ लगायतमा लोसपा र कांग्रेसको दाबी छ । ०७४ मा पर्सा ४ बाट लोसपाका लक्ष्मणलाल कर्ण विजयी भएका थिए भने महोत्तरी २ मा शरदसिंह भण्डारी निर्वाचित भएका थिए ।

पर्सा ४ र महोत्तरी २ लोसपालाई छाड्दा नेता रमेश रिजाल र नेतृ किरण यादवको व्यवस्थापन कांग्रेसका लागि चुनौती पूर्ण छ । तर भोलिसम्म जसरी पनि उम्मेदवार टुङ्ग्याउनुपर्ने दलहरू दबाबमा छन् । निर्वाचन आयोगका अनुसार आइतबार मनोनयन दर्ताको कार्यतालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप