बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

अमिताभ बच्चन : मुम्बईमा छन् अर्बौँका पाँचवटा बंगला, कमाउँछन् ६० करोड ; यत्ति छ कूल सम्पत्ति

आइतबार, २३ असोज २०७९, ११ : ५८
आइतबार, २३ असोज २०७९

अमिताभ बच्चन... जसलाई मानिसहरुले कुनै बेला ‘एंग्री योङ म्यान’, कहिलेकाँही ‘शहंशाह’ त कहिलेकाँही ‘शताब्दीका महानायक’ भने । फिल्ममा आउनुअघि अमिताभ कोलकातमा एउटा म्यागजिन एजेन्सीमा एग्जेक्युटिभको पदमा जागिर खाने गर्दथे जहाँ उनले ५ सय भारु तलब पाउँथे । भारतीय मिडियामा प्रकाशित रिपोर्टलाई विश्वास गर्ने हो भने अमिताभ ३५ सय करोड भारुको कूल सम्पत्तिका साथै वार्षिक ६० करोड भारु कमाउँछन् । अमिताभ मंगलबार (११ अक्टोबर) आफ्नो ८० औँ जन्मदिन मनाउनेछन् ।

हिन्दी फिल्म जगतमा ५ दशकदेखि राज गर्दै आएका अमिताभ बच्चनको आलीशान जीवनबारे थाहा पाऔँ...

अमिताभ मुम्बईमा पाँच आलिशान बंगलाका मालिक

अमिताभको मुम्बईमा पाँचवटा बंगला छन् । उनका चार बंगलाको नाम जालसा, जनक, प्रतीक्षा, वत्स हो । अमिताभ आफ्नो परिवारसँग मुम्बईको जुहु इलाकास्थित जलसा बंगलामा बस्छन् । यो बंगलाको मूल्य लगभग १२० करोड भारु हो भनेर भनिन्छ । यो बंगला निर्देशक रमेश सिप्पीले अमिताभलाई फिल्म ‘सत्ते पे सत्ता’ सफल भएपछि भुक्तानी स्वरुप दिएका थिए ।

उनको अर्को बंगला ‘प्रतीक्षा’ को मूल्य १६० करोड बताइएको छ, जहाँ उनी आफ्नो पितासँगै बस्ने गर्दथे । जनक बंगलामा अहिले उनको कार्यालय छ । यसबाहेक उनको उत्तर प्रदेशको इलाहाबादमा उनको पैतृक सम्पत्ति पनि छ । अमिताभले यस ठाउँलाई शैक्षिक ट्रस्टमा परिणत गरेका छन् । उनको भारतभित्र थुप्रै सम्पत्ति छन् । मिडिया रिपोर्ट अनुसार अमिताभ बच्चनाको फ्रान्समा पनि सम्पत्ति छ ।

अमिताभको घरमा राखिएको छ ४ करोडको पेन्टिङ

अमिताभ बच्चनको घरमा एउटा बुल पेन्टिङ छ । यो पेन्टिङ उनका थुप्रै फोटोहरुको ब्याकग्राउन्ड पनि बन्ने गर्छ । यो पेन्टिङ मञ्जित बावा (१९४१–२००८) ले बनाएका हुन् । उनको कलाको विश्वभर तारिफ हुने गर्छ । जलसाको बैठक कोठामा झुण्डिएको अमिताभको यो पेन्टिङको मूल्य ४ करोड भारु हो ।

अमिताभसँग लक्जरी कारहरूको ठूलो संग्रह

बिग बीसँग लक्जरी ब्रान्डका कुल ११ कार छन् । उनीसँग लेक्सस, रोल्स रोयल फ्यान्टम, दुई बीएमडब्ल्यू, तीन मर्सिडिज छन् । अमिताभ अंक दुईलाई भाग्यशाली ठान्छन् । उनको जन्मेको गते जोड्दा पनि दुई नै आउँछ । उनका सबै कारमा अंक दुई कुनै पनि हालतमा हुन्छन् । सेतो रङको रोल्स रोयल फ्यान्टम गाडी पनि उनलाई निर्माता विधु विनोद चोपडाले फिल्म ‘एकलव्य’ मा शानदार अभिनयकमा लागि उपहारस्वरुप दिएका थिए । यो उनको कार कलेक्सनको सबैभन्दा महँगो कार हो । यसको मूल्य ९ देखि ११ करोड भारु पर्छ ।

अमिताभसँग २६० करोडको निजी जेट छ

अमिताभ बच्चन भारतका केही सेलिब्रेटीहरूमध्ये एक हुन् जससँग निजी जेट पनि छ । बिग बी आफ्नै जेटमा यात्रा गर्न रुचाउँछन् । रिपोर्टका अनुसार यसको मूल्य २६० करोड भारु रहेको छ ।

सन् १९९९ मा अमिताभ कंगाल हुन लागेका थिए

अभिषेक बच्चनले एक अन्तरवार्तामा अमिताभको आर्थिक अवस्था निकै नाजुक भएकाले कलेजको पढाइ बीचमै छोड्नुपर्ने अवस्थासमेत आएको बताएका थिए । सन् १९९९ मा उनी कंगाल हुने अवस्थामा पुगेका थिए ।  उनको एबीसीएल (अमिताभ बच्चन कर्पोरेट लिमिटेड) कम्पनीले सन् १९९६ मा बैंगलोरमा भएको ‘मिस वर्ल्ड’ कार्यक्रमको व्यवस्थापनको जिम्मा लिएको थियो । यस घटनामा उनको सात करोड भारु डुब्यो  । यही कम्पनीले फिल्म  ‘मृत्युदाता’ बनाएको थियो, त्यो पनि नराम्रोसँग फ्लप भयो । एबीसीएलको असफलताका कारण अमिताभको सम्पत्ति समेत जफत हुने अवस्थामा थियो । पछि यश चोपडाले उनलाई फिल्म ‘मोहब्बतें’ मा भूमिका दिए । फिल्म सफल भयो त्यसपछि अमिताभले फिल्ममा सफलताको नयाँ इनिङ रचे ।

अमिताभलाई लग्जरी पेन जम्मा गर्ने पनि शौख छ

घर वा गाडी मात्रै होइन, अमिताभ बच्चनसँग कलमको ठूलो संग्रह पनि छ । लेख्ने शौखसँगै अमिताभलाई महँगो कलम जम्मा गर्ने पनि रुची छ । रिपोर्टका अनुसार बिग बीसँग मोन्टब्लाङ्क अनर डे बालज्याक छ । यसको मूल्य ६७,७९० भारु पर्छ ।

अमिताभ बच्चन चिया–कफी र कोल्ड ड्रिंकबाट टाढा रहन्छन्

बुढ्यौलीसँगै अमिताभ बच्चन आफ्नो खानपानमा पनि धेरै सचेत छन् । एक अन्तरवार्तामा बिग बीले आफू पहिले मांसाहारी भएको तर अहिले पूर्णतया शाकाहारी भइसकेको बताएका थिए । साथै, उनी चिया र कफी पनि पिउँदैनन् । उनका अनुसार चिया र कफीमा पर्याप्त मात्रामा क्याफिन हुन्छ, जसको अत्यधिक सेवनले मस्तिष्क र स्मरणशक्तिमा नराम्रो असर पार्न सक्छ । यस बाहेक अमिताभ बच्चन कोल्ड ड्रिंक्स पनि पिउँदैनन् र धेरै मिठाई पनि खाँदैनन् ।

दिवार र शोलेको सुटिङ सँगैसँगै गरिरहेका थिए अमिताभ

‘दिवार’ र ‘शोले’ को सुटिङ दुई फरक स्थानमा मात्र नभएर दुई फरक शहरमा भइरहेको थियो । अमिताभ बच्चनले एक अन्तरवार्तामा भनेका थिए, ‘दिवारको क्लाइमेक्स बम्बईमा राती सुटिङ भइरहेको थियो । म रातभरी सुटिङ गर्थेँ र बिहान बैंगलोरको फ्लाइट समात्थेँ जहाँबाट एक घण्टा टाढा रामगढमा ‘शोले’ को सुटिङ चलिरहेको थियो । सुुटिङ सिद्धिएपछिम बेलुका पुनः बम्बईको फ्लाइट समात्थेँ र दिवारको सुटिङ गर्थेँ । म जति सुत्थेँ, विमानमा सुत्थेँ । यो सिलसिला थुप्रै दिनसम्म चल्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप