बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

इरानका महिलालाई समर्थन गरेर आफैँ निशानामा परिन् प्रियंका चोपडा

आइतबार, २३ असोज २०७९, १४ : ३०
आइतबार, २३ असोज २०७९

इरानमा हिजाबको विरोधमा भएको महिलाको विरोधलाई समर्थन गरेपछि अभिनेत्री प्रियंका चोपडा आफैँ निशानामा परेकी छिन् ।  यद्यपि धेरैले प्रियंकाको तारिफ पनि गरिरहेका छन् ।

शुक्रबार प्रियंका चोपडाले इन्स्टाग्राममा एक पोस्ट पोष्ट गरिन्, जसमा उनले महसा अमिनीको मृत्युपछि इरानमा भएको विरोध प्रदर्शनमा संलग्न महिलाहरूलाई सन्देश लेखेकी थिइन् ।

अहिले सामाजिक सञ्जालमा एक पक्षले प्रियंका चोपडालाई ‘पाखण्डी’ भनिरहेका  छन् भने अर्को पक्षले उनलाई गलत कामको विरुद्धमा उभिने महिला भनेका छन् ।

लेखक एन्ड्री बोर्गेसले ट्वीट गरेका छन्,  ‘इरानी महिलाका लागि प्रियंका चोपडाले बोलेको कुरालाई पूर्ण रूपमा प्रशंसा गर्नुपर्छ तर यसका साथै भारतमा यस्तै दुर्दशाको सामना गरिरहेका महिलाहरू र विशेषगरी मुस्लिम महिलाहरूको लागि नबोल्नुले पनि पाखण्डीपन देखाउँछ ।’

पत्रकार राणा अयुबले ट्वीट गर्दै भने, ‘प्रियंका चोपडाले इरानी महिला बारे गरेको चिन्तालाई प्रशंसा गर्नुपर्छ तर बिलकिस बानो र मुस्लिमहरू, विशेष गरी सीमान्तकृत महिलाहरू आफ्नै देशमा उत्पीडनमा पर्दा उनी चुप लागेको विषयलाई आत्मविश्लेषण गर्नु पर्दैन ?’

यस्तै, सामाजिक कार्यकर्ता नबिया खानले ट्वीट गरेकी छिन्, ‘प्रियंका चोपडा तपाईंको एक्टिभिजम सुविधाजनक  छ । यसको कुनै अर्थ छैन जब तपाईं भारतका हिजाबी महिलाको दुर्दशालाई वास्ता गर्नुहुन्नँ । उनीहरुलाई आफ्नो टाउकोमा सल नराखेका कारण पढाईबाट बञ्चित गरिन्छ र हिन्दुत्वका गुण्डा र सरकार उनीहरुको उत्पीडन गर्छन् । तपाईं एक पाखण्डी हुनुहुन्छ ।’

मुकर्रम नामका एक प्रयोगकर्ताले ट्वीट गरेका छन्, ‘प्रियंका चोपडाले भारतमा बलात्कारीको रिहाइमा मौनता कायम राखेकी छिन् । उनी निकै पाखण्डी र अवसरवादी महिला हुन् ।’

पत्रकार सैयद जफर मेहदीले ट्वीट गरेका छन्, ‘भारतमा बीजेपी सरकारले हिजाबमाथिको क्रूर क्र्याकडाउनको बाबजुद पनि प्रियंका चोपडालाई नरेन्द्र मोदीसँग फोटो खिचाउन र उनको विवाह समारोहमा निम्तो दिन हिच्किचाइनन् तर उनीसँग सुदुर इरानमा एन्टी हिजाब प्रदर्शनको समर्थन गर्ने उत्ताउलोपन भने पक्कै छ । ’

प्रियंकाको तारिफसमेत भइरहेको छ

यसैबीच, इरानमा प्रदर्शनकारी महिलालाई समर्थन गरेकोमा प्रियंका चोपडाको खुलेर प्रशंसा गर्ने एउटा वर्ग पनि छ ।

फिल्म निर्माता अशोक पण्डितले ट्वीट गर्दै भने, ‘महसा अमिनीको मृत्युपछि प्रदर्शन गरिरहेका इरानी महिलाहरूको समर्थनमा बाहिर आउनु भएकोमा प्रियंका चोपडा जीलाई बधाई छ । गलत कामविरुद्ध उभिने हिम्मत तपाईंमा बाँकी छ है भन्ने कुरालाई प्रमाणित गरिदिनुभएको छ । फिल्म र टिभी इन्डष्ट्रिमा तपाईंलाई मानिसहरुले फलो गर्ने छन् भन्ने आशा छ ।’

प्रख्यात लेखक तारिक फतेहले ट्वीट गरेका छन्, ‘प्रियंका चोपडा सत्य र महिला अधिकारको पक्षमा छिन् । उनीमाथि त्यस्ता व्यक्तिले हमला गर्नेछन् जब उनीहरुले महिलालाई पूरा मानव मान्दैनन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप