शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चितवन–३ र डडेलधुराबाट किन पछि हट्यो एमाले ?

शुक्रबार, २८ असोज २०७९, १६ : २८
शुक्रबार, २८ असोज २०७९

नेकपा एमालेले मङ्सिरमा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि चितवन–३ र डडेलधुरामा दिएको उम्मेदवारी फिर्ता लिएको छ । चितवन–३ २०७४ को निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएको क्षेत्र हो । यस पटक भने प्रचण्ड अन्तिम समयमा चितवन–३ छोडेर गोरखा उक्लेका छन् । त्यस्तै डडेलधुरा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृह र निर्वाचन क्षेत्र हो । एमालेले डडेलधुराबाट नेता चक्र स्नेही र चितवन ३ बाट रामप्रसाद न्यौपानेलाई उम्मेदवारी दिन लगाएर पनि पछि फिर्ता लिएको हो ।

मङ्सिरको निर्वाचनमा एमाले भर्सेस सत्ता गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुने निश्चित भएका बेला एमालेले सत्ता गठबन्धनकै नेताका जिल्लामा भने उम्मेदवारी फिर्ता गरेर उनीहरूलाई नै सजिलो बनाउन लागेको त होइन ? उम्मेदवारी फिर्ता गरेपछि कतिपयले यस्तो प्रश्न समेत गरेका छन् । तर, एमालेको रणनीति यो बुझाई भन्दा ठिक विपरीत छ । अर्थात् एमालेले सत्ता गठबन्धनका नेता वा उम्मेदवारलाई सजिलो बनाउन र जिताउन नभई हराउन उम्मेदवारी फिर्ता लिएको हो ।

कसलाई जिताउन चाहन्छ एमाले ?

एमालेको घोषित नीति हो–सत्ता गठबन्धनलाई जसरी पनि हराउने । सोही नीति अनुसार डडेलधुरा र चितवन ३ बाट उम्मेदवारी फिर्ता लिएको एमाले नेता तथा उपमहासचिव समेत रहेका प्रदीप ज्ञवालीको भनाइ छ ।

नेता ज्ञवालीका अनुसार चितवन–३ र डडेलधुराबाट एमालेले उम्मेदवारी फिर्ता गरेपछि ति निर्वाचन क्षेत्रमा अन्य पार्टी र बागी उम्मेदवारलाई सघाउने नीति छ ।

‘चितवन ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई सघाउने सम्भावना छ । हामी छलफलकै क्रममा भएकाले निर्णय भने भैसकेको छैन’, ज्ञवालीले भने, ‘डडेलधुरामा मल्ललाई सघाउने निश्चित जस्तै छ ।’

चितवन ३ मा कोइराला र जगन्नाथ पौडेलले कांग्रेससँग असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएका छन् । राप्रपाका विक्रम पाण्डेले पनि चितवन ३ बाटै उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा सत्ता गठबन्धनले भने माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।

डडेलधुरामा नेपाली कांग्रेसबाटै केही समय अघिमात्र विद्रोह गरी वीपी कांग्रेसमा लागेका कर्णबहादुर मल्ल प्रधानमन्त्री देउवाका निकटतम प्रतिस्पर्धी मानिन्छन् । मल्ल वीपी कांग्रेसका वरिष्ठ उपसभापति समेत हुन् । डडेलधुरामा देउवा र मल्ल बाहेक जनता समाजवादीबाट श्याम सिनाल तथा राप्रपाबाट गोविन्द खडायत पनि प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धा गर्दैछन् । यी बाहेक चार स्वतन्त्र उम्मेदवारहरू विक्रमबहादुर शाही, सागर ढकाल, कर्णसिंह रावल र लालबहादुर कठायत चुनावी मैदानमा उत्रेका छन् । तर यी मध्ये देउवालाई टक्कर दिन सक्ने मल्ल नै भएकाले एमालेले मल्लालाई सहयोग गरेर देउवालाई हराउने नीति बनाएको हो ।

त्रिपाठी, लिङ्देन, बोहोरा र राणालाई पनि साथ

एमालेले राप्रपाका तीन उम्मेदवारहरू राजेन्द्र लिङ्देन झापा–३, दीपक बोहोरा रुपन्देही–३ र धवलशमशेर राणा बाँके–२ लाई सघाउने सहमति नै गरेको छ । सो सहमति अनुसार ती निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार नै उठाएको छैन । सत्ता गठबन्धनबाट झापा ३ मा कांग्रेसका कृष्ण सिटौला, रुपन्देही ३ मा कांग्रेसका वालकृष्ण खाँड तथा बाँके २ सुदिप नरसिंह राणा उम्मेदवार छन् । त्यस्तै नवलपरासी १ (वर्दघाट सुस्तापश्चिम) मा पनि एमालेले जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीलाई सघाउने निर्णय नै गरेको छ । त्रिपाठी २०७४ को निर्वाचनमा सूर्य चिह्नबाटै चुनाव जितेका हुन् । उनले केही महिना अघि मात्रै नयाँ पार्टी गठन गरेका हुन् । सत्ता गठबन्धनले यो निर्वाचन क्षेत्रमा अर्बपति व्यवसायी विनोद चौधरीलाई साझा उम्मेदवार बनाएको छ ।

जसपाका १७ लाई एमालेको साथ

यी बाहेक एमालेले हालैमात्र सत्ता गठबन्धन छोडेर एमालेको सारथि बन्न गएको जसपाबाट प्रतिनिधि सभामा उम्मेदवार बनेका १७ जना उम्मेदवारलाई जिताउन लाग्ने सहमति गरेको छ । सहमति अनुसार एमालेले जसपालाई सप्तरीका निर्वाचन क्षेत्र नम्बर १,२ र ४ सिराहाका २ र ४, धनुषाको १, महोत्तरीको ३ र ४ सर्लाहीको १ र ४ रौतहटको २, बारा २ तथा पर्सा १र २ मा सघाउनेछ । जबकि यी निर्वाचन क्षेत्रमा एमालेले उम्मेदवार नै उठाएको छैन । त्यस्तै रुपन्देही ४, मोरङ ५ र सुनसरी १ मा पनि एमालेले जसपालाई भोट हाल्ने भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप