सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

कथा : सुकन्या उर्फ नीलिमा

शनिबार, २९ असोज २०७९, ०७ : ३०
शनिबार, २९ असोज २०७९

तातो नारी शरीरको नि:श्वासले स्पर्श गर्छ । म ब्यूँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रिय निष्क्रिय छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असमर्थ पाउँछु । फेरि इन्द्रियहरू परिचालन गर्न खोज्छु । 

कसो कसो दहिने हात उठाएर जनना–शरीरको मुखमा लान्छु । ऊ मेरो देब्रेपट्टिको छातीमा आफ्ना हृष्टपुष्ट छाती जोडेर सुतेकी छे । मुस्किलले नाकमा फूली छ भन्ने थाहा पाउँछु । उसको आधा शरीर मेरो शरीरमा जोडेकी छे । जिउ शिथिल छ, आफ्नो हैन अरू कसैको जस्तो लाग्छ । 

बोल्न खोज्छु, शब्द निस्कदैनन् । मुटु र मस्तिष्कको समन्वय मिलिरहेको छैन । मस्तिष्क शून्य छ । केही सोच्ने शक्ति नै छैन । केही समयपछि मस्तिष्कलाई झट्का दिन्छु । केही कुरा चलचित्रझैँ घुम्न थाल्छन् । 

म कहाँ छु ? कोसँग सुतिरहेको छु ? कतै धेरै पिएर यस जनानाको भविष्य त खराब गरिन ? अहँ, मैले अहिलेसम्म कहिल्यै कुनै स्त्री जातिलाई यौन वास्नाको नजरले हेरिनँ । त्यसो भए मसँग सुत्ने यी महिला को हुन् त ? 

म सायद कुनै जङ्गलको झुपडीजस्तो सानो घरमा छु । बाहिर चराचुरुङ्गी उज्यालो हुन लागेको संकेत दिइरहेका छन् । म सम्झन्छु– म काठमाडौंबाट पश्चिमको विकट पहाडी जिल्लामा जिल्ला अधिकारी अर्थात् सिडिओ भएर खटिएको छु । म स्मरणशक्ति तन्काउँछु । 

म अहिले यहाँ छु । हिजो कहाँ थिए ? अनि के गर्दै थिएँ ? म मस्तिष्कलाई अझ बढी क्रियाशील बनाउँछु । अचेतन अवस्थाका सारा बिम्ब बिस्तारै चेतका किरणले बिलाउँदै लान्छ । मेरो स्मृतिपटलमा स्मरणका हजारौँ आवाज पड्कन थाल्छन् । 

‘खबरदार ऽऽ...फायर...ठोक...आत्मसमर्पण गर...हामीले सदरमुकाम कब्जा गरिसक्यौँ...पब्लिकको घर जोगा....आधार ऽऽ...प्रतीक ऽऽ...अघि बढ...मोर्चा लिई...  घड्याम्म ऽऽ...ड्याम्म ऽऽ...फायर...ड्याम्म ऽऽ...’ 

चारैतिर बन्दुक पड्किरहेछ । केही मिनेटको अन्तरालमा बम पड्किरहेछ घरै हल्लने गरी । हजारौँ बन्दुक भीमकाय आवाज लिएर पड्कँदै छन् । वातावरण कोलाहलमय छ । जताजतै क्रन्दन छ, रोदन छ, चिच्याहट छ, गोलीहरू छानामा असिना बर्सेझैँ बर्सिरहेका छन् । 

केही छिनअघि एउटा  व्यक्ति ‘बत्ती निभा...’ भन्दै थियो । त्यसको केही छिनमा बत्ती गयो । सायद विद्युत् प्राधिकरणको ट्रान्समिटर बमले उडाइदिए होलान् । बम पड्केर जमिन नै हल्लिएझँै भएको छ । कालो अजिंगरले आहारा निलेझँै अँध्यारोले सम्पूर्ण भू–वनावट निलेको छ । बिजुली चम्केर चट्याङ् परेझँै बेला बेलामा आवाज र उज्यालो एकैसाथ आइरहेको छ । 

म सिडिओ–क्वार्टरमा छु । म भरखर सुत्ने तरखर गर्दै थिएँ । तर यो भीषण युद्ध † जीवनमा मृत्युलाई यति नजिकैबाट मैले कहिल्यै देखेको थिइनँ । हुन त सिडिओ भएर यो ठाउँमा आउने बेलामा नै मैले आफ्नो मृत्युलाई शुभकामना दिएर आएको थिएँ । तर पनि काल्पनिकता र वास्तविकतामा धेरै फरक  पर्दोरहेछ । 

म अत्यन्त नर्भस भइसकेको थिएँ । फोन गर्न टेलिफोन तान्छु । नजिकै झ्यालनिर गोली ठोकिन्छ । म तर्सिन्छु । म खाटमुनि पस्छु । एकछिनमा फोन बज्छ । मुस्किलले फोन उठाउँछु । उताबाट डिएसपी बोल्दै थिए–

“सर के गरौँ ? आत्मसमर्पण गर भन्दै छ ?”  

 म थरथर कापेको शरीरले बोल्दै छु– “सुरक्षा गर्ने तपाईंहरूको काम हो, जे गर्नुहुन्छ गर्नोस् । अब बाँचिदैन ।”  म आक्रोश मिसिएको अभिव्यक्ति दिन्छु । 

  “आत्मसमर्पण नगराँै  । सेना मुभ हँुदै छ रे ।” 

“तपाईंहरूको जो विचार ।” 

यति बोलिसकेर म माथिल्लो  तलाबाट तल्लो तलामा झर्छु । मुनि तलामा पियन र अर्को स्टाफका परिवार खाटमुनि पसेका छन् । बाहिर एकनासले आवाज आइरहेको छ । म छटपटाउँछु । भुइँमा पल्टन्छु । सबजना रुवावासी गरिरहेछन् । घरको कम्पाउन्डको गेटमा कसैले गेट फुटाउन खोज्दै छ । म अझ त्रसित हुन्छु । मुख सुकेर आउँछ । 

म क्वाटर पछाडिको ढोकाबाट बाहिर निस्कन्छु । क्वाटर पछाडि ठूलो भीर छ । तल सुनसान छ । न आवाज छ न त उज्यालो छ । म झट्ट दिमागलाई कम्म्युटरझैँ परिचालित गर्छु अनि डोरीको खोजीमा भित्र पस्छु । कतै डोरी देख्दिनँ । छेउमा पियनकी श्रीमतीको फरिया देख्छु । त्यहीँ टिपेर बाहिर निस्कन्छु । बाहिर गेटमा जोडजोडले हिर्काउँदै छन् । 

म अत्यन्त चाँडो फरियालाई एउटा रुखमा बाधेर आफू तल झर्छु । केही तल पुगेपछि फरिया रूखबाट फुस्कन्छ । म फरियासँगै लटपटिएर निकै तल पछारिन्छु । एउटा सानो गोरेटोमाथि बजारिन्छु । जीउभरि चोटैचोट छ । डर र त्रासले शरीरको पीडा महसुस हँुदैन । कतै घर देख्दिनँ । अझ तलतिर झर्छु । 

निकै तल पुगेपछि भीरमुनि एउटा सानो झुपडी देख्छु । मुस्किलले फेरि फरियालाई रूखमा बाधेर भीरबाट तल झर्छु । यसपाली झन् बढी काँडाले मेरो शरीरभरि घावैघाव बनाउँछ । शरीरको पीडालाई मानसिक पीडाले सजिलै निलिदिन्छ । बडो मुस्किलले त्यो झुपडीमा पुग्छु । 

घरमा ढोकामा ताला लगाइएको छ । म तालामा झुन्डिन्छु । म उभिने अवस्थामा छैन । ताला फुस्कन्छ । ताला त्यतै फ्याकिदिन्छु र कोठाभित्र पस्छु । घरभित्र कोही छैन भन्ने कुरामा म निश्चिन्त हुन्छु । भित्र पसेर ढोका लगाउन खोज्छु, न चुकुल भेट्छु न त आग्लो । ढोका ढप्काएपछि म भुइँमा पछारिन्छु । फेरि उठ्न निकै प्रयास गरेजस्तो लाग्छ । तर सक्दिनँ । त्यसपछि के भयो मलाई थाहा छैन । 

अब मलाई निकै होस आइसकेको छ । यो जनना शरीर मृत हो कि जीवित ? म छाम्छु । त्यहाँ कोही पनि छैन । कतै यो भ्रम हो कि वा भूत, चुडैल  पो हो कि ? म सशङ्कित हुन्छु । म शङ्कास्पद दृष्टि दौँडाउँछु, परिवेशको वरिपरि । 

एक छिनपछि कतै कुनामा एउटा जनाना शरीर बत्ती बाल्दै गरेको देख्छु । ऊ कुपी लिएर मेरो नजिकै पिर्कामा बस्छे । ऊ आफ्नो अनुहार मेरो अनुहारको विपरीत दिशामा फर्काउछे । म राम्ररी चिन्दिनँ । म उसको ध्यानाकर्षण गर्न चटपटाउँछु अनि मुखबाट ‘उफ्’ भन्दै उच्छवास निकाल्छु । ऊ म पट्टि मुखमण्डल फर्काउछे र मलाई हेर्छे । उसको अनुहारमा म केही लज्जा, केही आक्रोश, केही धैर्य पढ्छु । 

बिस्तारै उक्त अनुहार मलाई परिचित लाग्छ । म अचम्मका विस्फारित आँखा ओछ्याउँछु ऊमाथि– “तिमी ऽऽ † ”

“हो सर, म सुकन्या ।” 

उसको सौम्य अनुहार, स्निग्ध र निश्चल हेराइले मलाई मोहित पार्छ । म केही सम्झेजस्तो गर्छु । मैले चिनेका धेरै थोरै राम्रीमध्ये सुकन्या पनि पर्छे । ऊ कसरी यहाँ आइ पुगी ? म मनमनै मनोवाद गर्छु । 

“सरलाई म कसरी यहाँ आइपुगे भन्ने लागेको होला, हामी राती यहाँ सदरमुकाम हान्न आएका थियाँै । फर्कदा म आफू जन्मेको घरमा पनि पसेर आमालाई भेट गरूँ भनेर साथीहरूलाई छलेर पसेकी थिए । सरलाई भुइँमा लडेको देखँे । 

सुरुमा त आमा लड्नु भएछ भन्ने सोचेँ तर पछि बत्ती बालेर हेर्दा सर हुनुहँुदो रहेछ । रगत धेरै बगेको थियो । मैले मसँग भएको औषधि लगााइदिएकी छु । सर, बेहोश हुुनुहुन्थ्यो । सरलाई मैले उचाल्न सकिनँ । यही भुइँमा ओछ्यान बनाएर सुताएँ । चिसो धेरै भएकोले सरलाई होश आउन गाह्रो होला भनेर मैले आफ्नो शरीरको तातो दिए...।”   उसले अन्तिम वाक्य मुस्किलले भनी । बत्तीको उज्यालोमा उसको लज्जावोधले ग्रस्त अनुहार राताम्मे देखिन्थ्यो । 

एक वर्षअघि ऊ माओवादी भई रे भन्ने हल्ला चलेको थियो अफिसमा । ऊ मेरो अफिसमा नागरिकताको लागि आएकी थिई । हुन त त्यसभन्दा पहिला पनि आफ्नो अफिसको काम लिएर आउने गर्थी । तर नागरिकता लिने बेलामा उसको र मेरो राम्ररी चिनजान भएको थियो ।

ऊ भन्दै थिई– “सर मेरो नागरिकता बनाउनुपऱ्यो । अहिले एउटा स्वास्थ्यसम्बन्धि एनजीओमा काम गर्दैछु । नागरिकता भएपछि स्थायी हुन्छ । नभए दुई महिनापछि मैले जागिर छोड्नुपर्ने हुन्छ । 

म भन्दै थिएँ– “नागरिकता लिनलाई बुबाले सनाखत गर्नुपर्छ । तिम्रो बुबा छ कि छैन ?” एउटी कलकलाउँदी उन्नाईस, बीस वर्षकी युवतीसँग म संवाद गर्दैछु । 

“सर बुबा हामीसँग हुनुहुन्न । त्यसैले नागरिकता लिन गाह्रो भयो । बरु सरले नै कुनै उपाय बताइदिनुहुन्थ्यो कि । त्यसको लागि म जे गर्न पनि तयार छु । सरले चाहनुभयो भने नागरिकता लिन गाह्रो हुुन्न रे ।” 

एउटी भर्खरकी गाउँकी केटीले जे गरेर भएपनि भन्दा मेरो नैतिकता जुरमुराउँछ– “होइन तिमीले के भन्न खोज्दै छौ । कस्तो जे गरेर भएपनि भनेको । बाउबिना कही नागरिकता हुन्छ ?” मेरो आवाजमा शक्ति र सम्पन्नताको गन्ध आइरहेको हुन्छ । 

ऊ नम्र हुँदै भन्छे– “हैन सर ? मेरो मतलब त्यो होइन । पहिलाका सिडिओसाबले जस्तोसुकै गाह्रो काम पनि मिलाउनुहुन्थ्यो रे भनेको सुनेर मात्र भनेकी हुँ । सर, मैले यो नागरिकता पाइनँ भने जागिरबाट निकालिन्छु । मेरो भविष्य अन्धकार हुन्छ । काठमाडौँतिर आमाको नागरिकताले पनि पाउनुपर्छ भन्ने हल्ला छ रे त्यसैले भनेकी हँु ।” 

यो केटी निकै बाठी र निडर रहिछ । पहिलाको सिडिओको बारेमा पनि थाहा रहेछ । योसँग धेरै विवाद गर्नु ठीक हँुदैन । फेरि मजस्तो कुनै हाकिमले यौनवास्नाले अन्धो भएर यसकी आमाकी हरहराउँदो वैँसमा चैतको डढेलो सल्काएर कतै हराएको हुन सक्छ । त्यसको रापले आज यो अवोध केटीको भविष्य पिल्सिरहेको छ । 

ऊ मेरो सकारात्मक प्रतिउत्तरको प्रतीक्षामा छे । 

म भन्छु– “तिमीलाई थाहा हुनुपर्ने हो, आमाको नागरिकताबाट नागरिकता दिने कानून हाम्रो देशमा बनिसकेको छैन । बनेको भए दिनलाई मलाई कुनै गाह्रो पर्ने थिएन ।”

अहिले ऊ घुकघुक गर्दै रुँदैछे । म किंकर्तव्यविमूढ हुन्छु ।  

  ऊ केही छिनपछि शान्त भएर भन्छे– “सर मेरो बुबा पनि तपाईंजस्तो अफिसको हाकिम हुनुहुन्थ्यो रे । 

ओहो † कसरी कल्पना गरेको कुरा ठ्याक्क मिलेछ । 

“सर तपाईं नै बुबा भएर मलाई नागरिकता मिलाइदिनोस् न ।” 

हैन, यो केटी कतिसम्मकी निडर रहिछे । एउटा सिडिओको अगाडि यस्तो कुरा गर्न सक्ने । फेरि म यसको बुबासमान कहाँ छु र ? हुन त देख्ने जो कोहीले मलाई उमेर भन्दा दस वर्ष जेठोको अनुमान लगाउँछन् । सायद यो खुइलेको तालुको करामत हो । यसलाई पनि यो सम्भाव्यताको सङकेतले मजाले नै खाएछ  ।  म अब स्थिर हुन्छु । 

“यो कसरी सम्भव छ । सिडिओ भएर आफँै गलत बाटो रोज्न मिल्छ ? ल भन त ।”  म मध्यस्थता कायम गर्न खोज्छु, उसको विचार र मेरो भनाइबीच । 

त्यसपछि दुई चार चोटी ऊ मेरो अफिसमा धाई । असम्भावानाका हिमचुली चुलिँदै गएपछि ऊ अफिस धाउन छोडी । ऊ माओवादी भई रे । उसँग सतर्क हुनुपर्नेे कुरा अफिसका स्टाफबाट सुनेको थिएँ । 

“सर के सोच्नु भएको अब मलाई राम्ररी चिन्नु भयो होइन ?” उसको मलिन स्वरले मेरो एकाग्रता भङ्ग गरिदिन्छ । म वर्तमानमा तानिन्छु ।  

अहिले त झन यो केटी अझ बढी निडर, स्वाभिमानी र तर्कशील देखिन्छे । ऊ मृत्युको भयलाई पचाएर आएकी छे । तसर्थ उसको अनुहारमा कुनै भय छैन, त्रास छैन । क्रान्तिको दनदनी आगोमा आफ्नो अमूल्य जीवन होमेकी छे । यस्ती कलकलाउँदी सुकोमल शरीर भएकी मान्छेले आफूलाई किन होमेकी होला यसरी आगोमा । 

“सरले सोच्तै हुनुहुन्छ,  म किन र कसरी माओवादी भए भनेर होइन सर ? सर म रहरले माओवादी भएको होइन । मेरो नागरिकता बनेको भए, म किमार्थ माओवादी हुने थिइनँ । मेरो जागिर स्थायी हुन्थ्यो अनि आमालाई  म राम्रोसँग पालेर बस्न सक्थे । तर मेरो जागिर तत्कालै छुट्यो । म घर बस्न बाध्य भएँ । त्यसपछि चिनेका साथीभाइले माओवादीमामा जाऔँ, देशलाई क्रान्तिकारी योद्धाको खाँचो छ भन्न थाले । त्यसपछि म माओवादी भएँ सर ।”

“तिमीलाई गोली, बारुदसँग डर लाग्दैन ?” म प्रश्नको झटारो हान्छु । 

ऊ निर्भिक भएर भन्छे– “के को डर सर ? हाम्रो देशलाई हामीजस्तो युवाको बलिदान चाहिएको छ । देशको भ्रष्ट र दुष्ट सामन्तहरूलाई नाश गर्नु छ । हामी रात दिन दु:ख गरेर एक छाक खान पाउँदैनौँ । उनीहरू मोज गरेर बसेका छन् । हामीले नयाँ नेपाल बनाउनु छ । त्यसैको लागि हामीले क्रान्ति गर्नु परेको छ । माओको सिद्धान्तअनुरूप शोषित वर्गलाई उठाउनु छ सर ।” यति भनेर ऊ केही सम्झेजस्तो गर्न थाली । 

मलाई उनीहरूको पार्टीका धेरै कमी कमजोरीहरू भन्न मन थियो । तर आफ्नो शरीरको असमर्थता र प्रतिकूल परिस्थितिले गर्दा मैले केही बोलिनँ । ऊ पार्टीको सिद्धान्तबाट अत्यन्त प्रभावित देखिन्थी । 

सारा शरीर दुखिरहेको छ । म पीडाले उच्छवास लिन्छु– ‘ऊफ’

ऊ भन्छे– “सरलाई साह्रै दुखिरहेको होला, म पेनकिलर दिन्छु ।” 

ऊ कतै कुनाबाट औषधि र पानी झिकेर मलाई दिन्छे । मेरो एउटा खुट्टा चलाउनु सकेको छुइन । शरीरमा धेरै ठाउँमा घाउ भएको रहेछ । अहिले निकै दुख्दै छ । उसले सफासुग्घर गरेर औषधि लगाइदिएकी रहिछ । अहिले थाहा पाउँदै छु । 

मेरो ध्यान उसको साडी चोलोमा पर्छ । मेरो उत्सुकतालाई अभिब्यक्तिमा पगार्छु– “तिमी सदरमुकाम हान्न आएकी मान्छे, अनि यो साडीचोलो...?” 

“यी त मेरी आमाका हुन् । कम्ब्याक्ट ड्रेसमा बसे खतरा हुन्छ भनेर लुकाएर राखेकी छु ।” 

यो केटी साह्रै बाठी भइछ । फेरि मनको कुरा पनि कति चाँडो बुझ्दि रहिछ । यो केटी किन यसरी मेरो लागि आफ्नो ज्यान खतरामा पार्दैछे । यो मेरो को हो ? मलाई किन यसरी उदारता देखाउँदै छे । 

“सर, मैले पार्टीमा नै मनोविज्ञानबारे केही कुरा पढेकी छु र म केही पढेकी हुनाले काउन्सिलिङ्सम्बन्धि तालीम पनि लिएकी छु । त्यसैले यो समयमा सरले के कस्ता कुरा सोच्न सक्नुहुन्छ, म सजिलै अनुमान लगाउन सक्छु । 

सरले सोच्नुभएको होला, मैले यो खतरा किन उठाइरहेकी छु भनेर । सर, हामी जतिसुकै कठोर र निर्दयी भएपनि हामीभित्र पनि मानवीयता छ, संवेदना छ । सरको हालत देखेर मलाई छोडेर जान मन लागेन । हुन त सरको अगाडि हामी भुसुनासरह हौँ । हाम्रो जीवनको कुनै मूल्य छैन तर मैले सरको जीवन बहुमूल्य ठानेको छु । सरका पछाडि धेरै आशाका गोरेटाहरू छन्, जसले सरलाई पछ्याइ रहन्छन् । मेरो जीवनको कुनै भर छैन । कुनै मूल्य छैन । मेरो न आशा छ, न भविष्य । मेरी आमाले पनि मलाई छोडेर हिँड्नु भएछ । ”

यति भनेर ऊ धेरै गम्भीर भई । 

यति राम्री केटीले यस्तो भनेको सुनेर मेरो आत्मा छटपटायो । यति सुन्दर शरीर, यति उचाइको वौद्धिकता भएकी केटीले ठाउँ पाउने हो भने संसारलाई आफ्नो वशमा पार्न सक्थी तर यो नेपालीहरूको विडम्बना भनाँै– यति सुन्दर हातहरूले बम र गोला खेलाइरहेका छन् । यहाँ सुकन्या जस्तो धेरै कन्याहरू छन्, जसले आफ्नो उज्ज्वल भविष्यको सपनालाई बलिदान दिँदै क्रान्तिको यज्ञमा होमिएका छन् । उनीहरूले आफ्ना खुसी, चाहना र भविष्यलाई हृदयमा नै दाहसंस्कार गरेका छन् । 

हामी गफ गर्दा राम्ररी उज्यालो भइसकेको थिएन । उसले गाग्रीमा कतैबाट पानी लिएर आई । उसले कोठाको कुनामा रहेको ओदानमा आगो बालेर पानी तताई । कतैबाट मकै खोजेर ल्याई र भुट्न थाली । अब बाहिर राम्रोसँग उज्यालो भइसकेको थियो । हाँडीमा मकैका फूल उठ्तै थिए । मेरो मनमा पनि अनेकौँ तर्कवितर्कका ज्वारभाटाहरू उठ्तै बस्दै गर्दै थिए । हाँडीको मकैजस्तै मेरा भावनाहरू कहिले फूल बन्दै कहिले ठेट्ना बन्दै उचालिँदै पछारिँदै गर्दै थिए । 

उसको सन्निध्यताले मैले जीवनसम्बन्धि धेरै कुरा सिकिसकेको थिएँ । हामी दुई धारमा बगेका विपरित लिङ्गी मानव थियौँ । म सरकारको पक्षमा राज्यमा शान्तिसुरक्षा गर्न खटिएको एउटा मर्दाना कर्मचारी थिएँ भने  ऊ राज्यमा क्रान्ति गरी सरकारी प्याकेजहरूलाई असफल पार्न खटिएकी जनना छापामार थिई । 

ऊ मृत्युलाई हाँक दिन सक्थी भने मृत्युदेखि भाग्ने डरछेरुवा थिएँ । मसँग धेरै आशा विश्वास, चाहनाका फूलहरू थिए, जुन सुन्दर संसारबाट टिपिरहेको थिएँ भने ऊ उद्देश्यहीन, आशाहीन जीवन लिएर फूलको सट्टामा बारुद र गोलामा, आफ्नो भविष्य साटिरहेकी थिई । 

यस क्षण र यस घट्नाले मलाई उद्धेलित र भावुक दुवै बनाउँछ । सुषुुप्त अवस्थामा रहेको मभित्रको लेखकीयता जुरमुराउँंछ । मानवीयता छटपटाउँछ ।  म अत्यन्त गम्भीर र संवेदनशील बन्छु । यस अकल्पनीय घट्नालाई कुनै समय भाषिक अभिव्यक्ति दिनेछु भनेर  संकल्प गर्दछु । 

    “सर.” उसले मेरो एकाग्रतालाई पुन भंङग गर्छे– “सरलाई म खबर पठाएर मान्छे लिन पठाईदिन्छु । हुन त रात परेपछि मैले हिंँड्दा ठीक हुन्थ्यो तर सांँझ परुन्जेलसम्म सरको स्वास्थ्य स्थिति बिग्रिन सक्छ । त्यसैले अहिले खबर दिएर म बाटो लाग्छु सर ।’’

    ऊ मकै खांँदै मालसामान मिलाउन लागी । मैले पनि अलिकति खाएँ । उसले हतार हतार एउटा सानो कागजमा केही लेखी र पुलुक्क मेरो मुख हेरी । उ गम्भीर र संवेदनशील हुंँदै भन्न थाली– “सर कतै भेट भयो भने नबिर्सनुहोला, कतै नीलिमा नाम पढ्नुभयो वा सुन्नुभयो भने सम्झनुहोला । सरको स्वास्थ्य चाँंडै राम्रो होस् । म बाटो लाग्दै छु । केही समयपछि  माथिबाट  मानिसहरू सरलाई लिन आउनेछन् । मेरो विषयमा कसैलाई केही नभन्नुहोला ।”

 उसको कुराले म अत्यन्त चिन्तित र गम्भीर भएँ । एकातिर उसको ज्यानको खतरा थियो भने अर्कोतर्फ मेरो स्वस्थ्यस्थिति बिग्रिदै गएको थियो । म मुस्किलले भन्छु– “सुकन्या तिमी नजाऊ, आत्मसमर्पण गर, तिम्रो लागि म बोल्नेछु ।”

 

ऊ अत्यन्त धीर बन्दै भन्छे– “सर, अब धेरै ढिलो भइसक्यो । अब मैले फर्कने सारा बाटाहरू बन्द भइसके । मैले आत्मसमर्पण गरे पनि मेरो आत्माले शान्ति पाउने छैन । यो हाम्रो पार्टीको सिद्धान्त विपरीत छ । त्यसैले म जान्छु । मलाई मृत्युको कुनै चिन्ता छैन ।” 

त्यसपछि उ सानो पोको सायद कम्ब्याक्ट ड्रेस थियो क्यार, बोकेर बाहिर लागी । उ बाहिरिएको मैले सुतेर नै टुलुटुलु हेरिरहेँ ।

 ऊ गएको करिब दुई घण्टापछि मानिसहरू स्ट्ेरचर लिएर म भए ठाउँमा आए । मलाई अस्पताल पुऱ्याइयो । अस्पताल बिमारीले खचाखच भरिएको थियो । पहाडको अस्पताल भने जस्तो सामान औषधि केही थिएन । त्यहाँ सैनिक, कर्मचारी तथा साधारण जनता धेरै घाइते थिए । 

    दिउँसो म निकै बेर निदाएछु । आंँखा खोल्दा बाहिर धेरै हल्लाखल्ला सुनेर मसँंग बसेको स्टाफ्लाई सोध्छु– “बाहिर के को हल्ला हो ?” 

“सर, बाहिर फेरि एउटा नयाँं छापामार घाइते भएर ल्याएको रहेछ, उसको नाम नीलिमा रहेछ ।”

नीलिमा भन्ने बित्तिकै मेरो कान चनाखा हुन्छन् । मेरो हात खुट्टा गलेर आउँछ । ओठ तालु सुकेर आउँछ । म छांगाबाट खस्छु । उफ †  नीलिमा तिमीले यो के गर्‍यौ । म आफ्नो पीडा कसैलाई सुनाउन सक्दिनँ । म वरिपरि मानिसहरू ऊ बारे गफ गरको कुरा सुन्दै मनमनै गम्छु । 

“त्यो अघि आएकी छापामार कति राम्री रहिछ ।’ 

“यस्तो लाउँ लाउँ, खाउँ खाउँ भएकाहरूले किन यसरी ज्यान फ्याकेका होलान् । सायद बाँच्दिन होला ।” 

यस्ता प्रत्येक वाक्यले मेरो मुटु घोचिरह्यो । साँच्चै तिमी  महान छौ नीलिमा । म मेरो यो जीवन तिम्रै नाममा अर्पित गर्दछु । मेरो जीवन सधै तिम्रो ऋणी भइरहनेछु । नीलिमाको सम्भाव्य मृत्युले मलाई धेरै दुखाउँछ । संसार अँध्यारो देख्छु । सुकन्या उर्फ नीलिमाको अस्तित्व त्यसै अन्धकारमा हराएको देख्छु । म ऊ बारे बढी जानकारी लिने कोसिस गरिरहेकी हुन्छु तर असमर्थ हुन्छु । 

मेरो उपचार त्यहाँ हुन नसकी काठमाडौं ल्याइन्छु । म करीब डेढ महिनाको बेड रेस्टमा छु खुट्टा भाँचिएको हुनाले । यो समयभरि सुकन्या उर्फ नीलिमा मभित्र झाँगिइ रही । मेरो ढुकढुकीमा बाँचिरही । मैले उसलाई भुल्न सकिनँ । मेरो सम्झनाको आकाशमा कहिल्यै नअस्ताउने जून बनेर उदाइरही । उसको उपस्थितिले मेरो सुषुप्त अवास्थामा रहेको लेखकीय भावना, भाषा र कथाशिल्पको पखेटा लगाई कथ्य आकाशमा उड्न थाले– ‘मेरी सुकन्या उर्फ नीलिमा’ भन्दै । 

 

‘समयको क्यानभासमा’ कथा सङ्ग्रहबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप